लाप्राक बस्ती उठाउन एनआरएनलाई नेपाली सेनाले सघाउने


काठमाण्डौ । गैरआवासीय नेपाली संघले गोर्खाको दुर्गम हिमाली क्षेत्र लाप्राकमा निर्माण थालेको ‘लाप्राक नमुना वस्ती’ बनाउन नेपाली सेनाले पनि सहकार्य गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघको आह्वानमा नेपाली सेनाले शनिवार नै क्याप्टेनको कमाण्डमा ३९ जना दक्ष जनशक्ति लाप्राक पठाएको छ । जसमा इन्जिनियर, ओभरसियर र दक्ष निर्माण जनशक्तिसमेत रहेका छन् ।

शनिवार लाप्राकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति राजेन्द्र क्षेत्रीले गैरआवासीय नेपाली संघको सहयोगार्थ लाप्राक वस्ती निर्माण अबधिभर सेनाले निर्माण स्वयंसेवक खटाउने जानकारी दिनुभयो ।

घरको डिजाइन र निर्माण लागतका बिषयमा लाप्राकबासीसँग छलफल र परामर्श गर्न आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेल, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायत लाप्राक पुग्नुभएको थियो ।IMG_2027‘भूकम्पलगत्तै राहत बितरणमा नेपाली सेनाले गैरआवासीय नेपाली संघलाई उदाहरणीय सहयोग गरेको थियो’ एनआरएनए अध्यक्ष शेष घलेले भन्नुभयो- पुनःनिर्माणमा पनि नेपाली सेनाबाट हामीले त्योभन्दा ठूलो सहयोग पाउने भएका छौं । उहाँले लाप्राक नमुना वस्ती पुनःनिर्माणमा नेपाली सेना नै सवैभन्दा ठूलो संस्थागत साझेदार भएको बताउनुभयो ।

घरको निर्माण लागत झण्डै १२ लाख रुपैयाँ पर्ने र ठूलो रकम निर्माण सामाग्री ढुवानीमा जाने जानकारी दिँदै अध्यक्ष घलेले निर्माण लागत घटाउन संघलाई अझै हजारौंको संख्यामा स्वयंसेवक आबश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सीइओ गोविन्द पोखरेलले भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपाली संघको मेहनतको प्रसंसा गर्दै लाप्राबासीलाई पूर्ण सहयोग गर्न आग्रह गर्नुभयो ।IMG_2025‘नेपाल सरकारले अरु भूकम्पपिडीतलाई ३ लाख रुपैयाँभन्दा दिन सकेको छैन, एनआरएनएले तपाइहरुलाई १२ लाख रुपैयाँ पर्ने घर बनाइदिँदै छ’ पोखरेलले भन्नुभयो-‘तपाइहरुले पनि एनआरएनलाई उदाहरणीय सहयोग गर्नुपर्छ ।’

सो अबसरमा गैरआवासीय नेपाली संघले लाप्राक नमुना वस्ती गुरुयोजनाबारे विस्तृत जानकारी गराउँदै स्थानीयवासीलाई घरको डिजाइन र लागतबारे जानकारी दिएको थियो । जसमा स्थानीयबासीले झण्डै १२ लाख रुपैयाँ लागत पर्ने दुई तले घर प्राप्त गर्ने जानकारी दिइयो । नेपाल सरकारले बनाएको मापदण्डअनुसार तयार पारिएका यी दुई तले घर भूकम्प प्रतिरोधी र स्थानीय परम्परा झल्किने खालका हुनेछन् । कार्यक्रममा गोर्खा जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले वस्ती निर्माणका लागि सवैखाले प्रशासनिक सहयोग हुने आश्वासन दिँदै बिदेशमा वस्ने नेपालीहरुको सहयोगलाई लाप्राकबासीले अबसरका रुपमा लिनुपर्ने बताउनुभयो ।

शहरी विकाश तथा भवन निर्माण विभागका डिभिजनल इन्जिनियर रोशन श्रेष्ठले लाप्राक नमुना वस्तीको गुरुयोजना राम्रो रहेको बताउँदै प्राबिधिक पक्षहरु हेरेर छिटो अनुमोदन गर्ने बताउनुभयो ।

लाभग्राहीसँग सम्झौता

शनिवार नै लाभग्राहीले गैरआवासीय नेपाली संघसँग घर निर्माणसम्बन्धी सम्झौता गरेका छन् । सम्झौतामा लाभग्राहीले घरमा जगमा लाग्ने ढुंगा, गिटी र काठ आफै उपलब्ध गराउनुपर्ने उल्लेख छ । लाभग्राहीले जनश्रमदानमार्फत् स्थानीयस्तरबाटै यी सामाग्रीको ब्यबस्थापन गर्ने तत्परता देखाएका छन् । लाप्राकलाई नमुना वस्ती बनाउन गैरआवासीय नेपाली संघले अन्य संस्थाहरुसँग सहकार्य गरी यहाँ पूर्वाधार तयार गर्ने छ । वस्तीमा खानेपानीको दीगो ब्यबस्थापनका लागि केयर नेपाल नामक गैरसरकारी संस्थासँग सहकार्य गर्न लागिएको संघले जनाएको छ ।
झण्डै एक महिनादेखि निर्माण कार्य सुरु गरेको संघले घरको जग हाल्ने काम थालेको छ भने स्थानीयस्तरमै इटा उत्पादन पनि सुरु भइसकेको छ । अर्को हिउँद अगाडी नै लाभग्राहीलाई घर हस्तान्तरण गर्ने लक्ष्यसहित अध्यक्ष शेष घलेसहितको टीम लाप्राकमा बसेर काम गरिरहेको छ ।