नेपाल लिटरेचर फेस्टिभलको छैटो संस्करण पोखरामा सुरु


पोखरा – नेपाल लिटरेचर फेस्टिभलको छैटो संस्करण शुक्रवारदेखि पोखरामा सुरु भएको छ । पोखराको फेवा किनार स्थित पर्यटन बोर्डको परिसरमा आयोजित फेष्टिवलको वरिष्ठ आख्यानकार धु्रवचन्द्र गौतमले उद्घाटन गरे ।

माघ १७ गतेसम्म चल्ने महोत्सबमा ४० सत्रमा झण्डै एक सय वक्ताहरुले सहभागीता जनाउनेछन् । कार्यक्रममा सांसद रविन्द्र अधिकारीले पोखरालाई प्राकृतिक केन्द्र मात्र नभइ सांस्कृतिक थलोको रुपमा महोत्सवले चिनाउने विश्वास ब्यक्त गरे ।

त्रिभुवन विश्वविद्यालयका पूर्व कुलपति तथा शिक्षाविद् केदारभक्त माथेमाले शैक्षिक क्षेत्रका साथसाथै देशका सम्पूर्ण क्षेत्रहरुमा व्याप्त कुरिति, भ्रष्टाचार र बेथितिको कडा विरोध गरे । उनले यसविरुद्ध डटेर लड्न सबैलाई आह्वान गरे ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले महोत्सव पर्यटन विकासका लागि एउटा राम्रो श्रोत बन्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा कवि शिरोमणि लेखनाथ पौड्यालको साहित्यिक देनप्रति श्रद्धा प्रकट गर्दै कवि प्रभा भट्टराईले उनका कविता वाचन गरेकी थिइन् ।

औपचारिक उद्घाटन पछि सत्रहरुको शुरुवात भयो । पहिलो सत्र “पोखराः अबको परिकल्पना”मापत्रकार सुजित महतले माननीय रविन्द्र अधिकारी र बुद्ध एयरका निर्देशक वीरेन्द्र बहादुर बस्नेतसँग विमानस्थल लगायतका पूर्वाधार निमार्ण भइसकेपछिको पोखरा कस्तो हुनुपर्छ भन्ने परिकल्पना गनुभयो ।

पहिलो दिनको दोस्रो सत्र अन्तर्गत ‘डेमोक्रयाट्स एण्ड डिसेन्टर्स’ शीर्षकमा सम्पादक कनकमणि दिक्षितले अहिलेको समयमा प्रजातन्त्रको व्याख्या बारे वरिष्ठ भारतीय समाजशास्त्री र इतिहासकार रामचन्द्र गुहासँग विमर्श गरेका थिए । त्यसपछि ‘कहाँ छन् बौद्धिक ?’ मा पत्रकार आदित्य अधिकारीले समाजशास्त्री चैतन्य मिश्र तथा राजनैतिक टिप्पणीकार सीके लालसँग नेपालमा बौद्धिक समाजको उपिस्थिति र महत्वका बारेमा खोजी गर्ने कोशिष गरे ।

‘अ—लिखित संवाद’ अन्तर्गत पत्रकार देवेन्द्र भट्टराईले लेखकद्धय धु्रवचन्द्र गौतम र खगेन्द्र संग्रौलासँग लेख्न बाँकी र कागजमा उतार्न बाँकी भावनलाई खोतल्ने प्रयास गरेका थिए ।

नेपाल साहित्य महोत्सव २०७३ को पहिलो दिनको अन्तिम सत्रमा पोखरेली संगीतकर्मीहरु रामभक्त जोजिजु र विनोद बानियाँको सांगितिक प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
समाप्ति पछि उत्साहित महोत्सव निर्देशक अजित बरालले भने , “पोखरालाई गत वर्ष गरेको वाचा निभाउन हामीले यो वर्ष यहाँ महोत्सव आयोजना ग¥यौँ, र पोखराले पनि बदलामा हामीलाई उत्तिकै माया र साथ दिएको छ ।”