स्पेनमा दूताबास खोल्न छलफल चलिरहेको छ :-शिक्षा मन्त्री पौडेल

दूताबास ल्याउँन जनप्रगतिशील मञ्च युरोपको पहल


बार्सिलोना / नेपाल सरकारका शिक्षा मन्त्री धनिराम पौडेलले स्पेनमा नेपाली दूताबास स्थापना बारे छलफल चलिरहेको बताएका छन्। नेपालीहरुको संख्या दिनानु दिन बढ्दै गएको तथा नेपालको पर्यटन बिकास तथा प्रबद्वनका लागि स्पेन ठुलो सम्भाव्य मुलुक रहेको भन्दै माग आईरहेकाले सरकारमा छलफल भईरहेको बताएका हुन्। मन्त्री पौडेलले लण्डनमा बिहिबार आयोजित एक कार्यक्रममा भने,” स्पेनमा दूताबास स्थापनाका लागि सरकार सकारात्मक छ, दुताबास खोल्नु पर्छ भन्ने तपाईहरुको चाहाना,भावाना र मागको  बारेमा सरकारले छलफल गरिरहेको छ भन्ने जानकारी गराउँन चाहन्छु।”

नेपाली जनप्रगतिशिल मञ्च यूरोपले गत साता युरोप स्तरीय बैठक सम्पन्न गर्दै स्पेनमा दूताबास ल्याउँन संस्थागत पहल गर्ने निर्णय गरेपछि मन्त्री समक्ष जोडदार माग गरेको छ। नेपाली जनप्रगतिशिल मञ्च बेलायतले आयोजनामा गरेको कार्यक्रममा मन्त्री पौडेललाई स्पेनमा दूताबासको माग सहित ज्ञापनपत्र समेत बुझाईएको छ।

मन्त्री पौडेल मार्फत प्रधानमन्त्री,परराष्ट्रमन्त्री  र नेकपा माओबादी केन्द्रका बिदेश बिभागका प्रमुखलाई पुर्याउने गरी ज्ञापनपत्र हस्तान्तरण गरिएको मञ्चले जनाएको छ। नेपाली जनप्रगतिशिल मञ्च स्पेनका अध्यक्ष गंगाप्रसाद भुसालद्वारा हस्ताक्षरित ज्ञापनपत्रलाई मञ्चका यूरोप सदस्य सुरेन्द्र श्रेष्ठले हस्तान्तरण गरेका हुन्।

लन्डनमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले ज्ञापनपत्र बुझ्दै
लन्डनमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले ज्ञापनपत्र बुझ्दै

बर्षेनी १३ हजार भन्दा बढी स्पेनिस पर्यटकहरु नेपाल पुग्ने तथा कुटनितिक सम्बन्ध स्थापित गर्न सके धेरै क्षेत्रबाट सरकारले फाईदा लिन सक्ने भन्दै युरोप सदस्य श्रेष्ठले मन्त्री पौडेललाई जानकारी गराएका थिए। नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार भएको बेला ठोस निर्णय आउँने आशा सहित जनप्रगतिशील मञ्च युरोपले स्पेनमा दूताबासको ल्याउँन पहल गर्ने भन्दै गत साता बेल्जियममा निर्णय गरेको थियो।

गत साता बेल्जियममा सम्पन्न जनप्रगतिशील मञ्च युरोप बैठकको एक झलक
गत साता बेल्जियममा सम्पन्न जनप्रगतिशील मञ्च युरोप बैठकको एक झलक

नेपाली जनप्रगतिशिल मञ्च बेलायतका संयोजक मान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका यूरोप संयोजक सुरेन्द्र भुसाल, बेलायतका सल्लाहाकार कर्ण शाही,लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बोलेका थिए। दोस्रो चरणको कार्यक्रममा स्पेनमा दूताबास स्थापना बारे मन्त्री पौडेललाई ज्ञापनपत्र बुझाउँदै  गम्भिर छलफल भएको युरोप सदस्य दधिराज घिमिरेले जानकारी दिए।