सुन तस्करीमा आफुहरु चाहिँ भुरामात्र भएको अर्थमन्त्री महराको भनाइ (छापाबाट)


अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीमा ठुला माछाहरु रहेको र आफुहरु चाहिँ भुरामात्र भएको बताएका छन् ।

अर्थमन्त्रालयले शुक्रबार पोखरामा आयोजना गरेको एक अन्तक्रियामा उनले उक्त कुरा बताएका हुन् ।

”केही दिनअघिको सुन तस्करीबारे कुरा आछ, सुन्नुभाहोला”, महराले भने ”मेरो नामै सुन तस्करीमा जोडेर आछ । जुन सुन तस्करी अहिले मैले सबै डिटेलमा भनन चाहदिनँ, धेरै ठुला माछाहरु छन् यसमा । हामी त भुरेभारेमात्र हो ।” आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

तस्करी गरी ल्याइएको १५ करोड रुपैयाँ मूल्यको ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुस २१ गते भेटिएको थियो। सुनका भरिया गोपाल शाहीसहित उक्त सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको थियो। शाहीले यसअघिसमेत गरी १ सय किलो सुन अवैध रुपमा भिœयाएको बयान प्रहरीलाई दिइसकेका छन्।

संगठित अपराध र त्यस्तो अपराधको आर्जन तथा सम्पत्ति शुद्धीकरणबारे अर्थ मन्त्रालयले शुक्रबार पोखरामा अायोजित अन्तक्रियामा अर्थमन्त्री महराले उक्त प्रसंग उप्काएका हुन्। उनले अपराधीहरुले राजनीतिक सत्ता नै किन्दिने गरेको समेत सुनाए। ‘अपराधीहरु राज्यभन्दा बलियो बन्न खोज्छन्’, उनले भने, ‘उनीहरुलाई कमजोर बनाउन राज्य र निजी क्षेत्र मिल्नुपर्छ।’