अधिकारका लागि जागरुक हुनुपर्छ : न्यायाधीश पौडेल


राजाराम पौडेल,पोखरा-कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश शेखरप्रसाद पौडेलले आफ्नो अधिकारका लागि स्वमं आफै जागरुक हुनुपर्ने बताएका छन् । कास्की जिल्लाको माछापुच्छ«े गाउँ विकास समितिमा बुधबार आयोजित न्यायमा बाह्य पहुँच तथा घुम्ति कानूनी शिविरलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अधिकार उल्लङ्गन भए सहेर बस्नु हुदैन, आफ्नो अधिकारका लागि जागरुक बन्नुपर्छ’ उनले भने । अदालतमा कुनै जटिलता नहुने भन्दै न्यायाधीश पौडेलले असाहयका लागि अदालतले निशुल्क कानूनी सहायता प्रदान गरिरहेको बताए ।

कास्की जिल्ला अदालत र कानूनी सहयोग तथा परामर्श केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश अनन्तराज डुम्रेले कानून मिच्नेहरुलाई कानून बमोजिम कारवाही गर्न समाजले सहयोग गर्नुपर्ने बताए । अहिले एक सय जना पिडित मध्येमा पन्ध्र जना मात्र अदालत समक्ष पुग्ने गरेको भन्दै उनले अन्याय सहेर बस्नु समेत अपराध भएको बताए ।

जिल्ला न्यायाधीश नरिश्वर भण्डारीले फौजदारी कसुर गर्नेलाई समाजले उन्मुक्ति दिन खोज्न नहुने बताए । बहुविवाह, बालविवाह, जर्वजस्ती करणी, कर्तव्य ज्यान लगायतका फौजदारी कसुरमा दोषी देखिएकालाई समाजमानै मिलाउने काम कानून विपरीत हुने बताए । हाल नेपालको कानूनले विस वर्ष उमेर पुगेको विवाहलाई मात्र कानूनी मान्यता दिएको हुदाँ विस वर्ष भन्दा कम उमेरमा विवाह गर्न कानून विपरीत हुने बताए । यसरी विवाह गरेको पाइएमा विवाह गर्ने र गराउनेलाई समेत सजाय हुने उनले प्रष्ट पारे ।
कास्की जिल्ला अदालतका स्रेस्तेदार कृष्ण प्रसाद नेपालले अदालतले असाहय तथा महिला तथा बालबालिकाका निमित्त निशुल्क कानूनी सहायता प्रदान गरिरहेको बताए । अदालतले चालिस प्रकारका निवेदन निशुलक उपलब्ध गराएको बताउदै उनले अन्याय परेकालाई न्याय प्रदान गर्न अदालतले सधै सहयोग गर्ने बताए ।

कानूनी सहयोग तथा परामर्श केन्द्र कास्कीका संयोजक शोभादेवी पौडेलले आफ्नो संस्थाले असाहय तथा बालबालिकाको लागि निशुल्क कानूनी सेवा दिइरहेको बताइन् । विभिन्न गाउँमा पुगरे कानूनी सचेतना प्रदान गर्दै पिडितका समस्या बुझेर उनीहरुलाई न्याय प्रदान गर्न पहल गर्ने काम आफुहरुले गरिरहेको उनले बताइन् ।

संरक्षण क्षेत्र व्यवस्थापन समिति अध्यक्ष कर्ण बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा गाविस सहायक अर्जुन भण्डारी, स्थानियहरु मनसुवा गुरुङ्ग, देव बहादुर पुन, दल बहादुर पुन, दिलशोभा गुरुङ्ग, भिम बहादुर गुरुङ्ग लगायतले आफ्ना जिज्ञाशा राखेका थिए । उनिहरुका जिज्ञासा तथा खुल्दुलीलाई जिल्ला न्यायाधीश शेखरप्रसाद पौडेल, अनन्तराज डुम्रे, नरिश्वर भण्डारी, स्रेस्तेदार कृष्ण प्रसाद नेपालले मेटाएका थिए । झण्डै तीन घण्टा सम्म चलेको कार्यक्रमको सञ्चालन अधिवत्ता कल्पना भण्डारीले गरेकी थिइन् ।