पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवाली बर्खास्त

सरकारले घटिया काम गर्‍यो : एमाले अध्यक्ष ओली


सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ ।ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले हालै स्पष्टीकरण सोधेको थियो । उनले बुधबार १२ पन्ने स्पष्टीकरण बुझाएका थिए । तर, उनले आफू ५ वर्षका लागि नियुक्त भएको भन्दै स्पष्टीकरण सोध्न आधार नै नभएको दाबी गरेका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसले यसअघि प्राधिकरणका सिइओ भइसकेका गोविन्द पोखरेललाई पुन ल्याउने प्रस्ताव सत्तापक्ष अन्य दललाई गरेको छ । योजना आयोगको उपाध्यक्ष माओवादी (केन्द्र )ले लिएकोले कांग्रेस प्राधिकरणको सिइओमा दाबी गरेको छ । पोखरेलको नाममा छलफल भइरहेको स्रोतले जनाएको छ । सरकारले आजै बर्खास्तमा परेका सिइओ ज्ञवालीलाई चिठ्ठी दिने तयारी गरेको छ । नयाँ सिइओ नियुक्ति पनि आजै गर्ने तयारीमा सरकार जुटेको छ ।

 सरकारले घटिया काम गर्‍यो : एमाले अध्यक्ष ओली

 नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले पुनर्निर्माण प्राधिकरणको सिइओ हटाएर सरकारले ‘घटिया’ काम गरेको बताएका छन् । बिहीबार पार्टी कार्यालय धुम्बारहीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले सरकारले आफ्ना कार्यकर्ता भर्ना गर्न सिइओ हटाइएको आरोप लगाए ।

उनले भने, ‘जनता अझै त्रिपाल मुनी छन् । अझै बास पाएका छैनन् । यो अवस्थामा कार्यकर्ता भर्ना गर्न सरकराले सिइओ हटाइएको छ । हटाउनु संवैधानिक हिसावले पनि गलत छ ।’ उनले प्राधिकरणलाई सरकार आफैंले असहयोग गरेको भन्दै १६५ जना कर्मचारी हुनुपर्नेमा ६५ जनामात्रै रहेको उल्लेख गरे । उनले भने, ‘सरकार आफैं काम गर्ने कर्मचारी नदिने अनि काम गरेन भनेर स्पष्टीकरण सोध्ने?।’