आज कवि शिरोमणी लेखनाथ पौडेलको १३३ औं जन्म जयन्ती


राजाराम पौडेल,पोखरा- कवि शिरोमणी लेखनाथ पौडेलको १३३ औं जन्मजयन्ती आज बिभिन्न कार्यक्रम सहित मनाईदैछ । पौडेलको जन्मथलो कास्की लेखनाथको अर्घौं अर्चेलेमा आज बिशेष कार्यक्रम हुदैछ ।
विश्व साहित्यमा आफ्नो अलग्गै स्थान वनाएको कवि शिरोमणीको तरुण तपसी काव्यको नाममा अर्घो अर्चलेमा तरुण तपसी पार्क निर्माण गरिएको छ । उक्त पार्कको शुक्रवार नै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपती गंगा प्रसाद उप्रेती र साहित्यका र तथा भाषाविद्ध वालकृष्ण पोखरेलले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा विभिन्न साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिने छ ।

यसैबिच कवि शिरोमणी लेखनाथ पौडेलको १३३ औं जन्मजयन्तीको त्रिदिवशिय कार्यक्रमको दोस्रो दिन विहिवार विद्यालय स्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिताको आयोजना गरियो ।

प्रतियोगितामा २० जना विद्यार्थीहरु सहभागि थिए । लेखनाथ लायन्स क्लवको संयोजनमा भएको कविता प्रतियोगितामा कवि शिरोमणी लेखनाथ जन्मस्थल विकाश समिति, लेखनाथ नगरपालिका, लेखनाथ साहित्य प्रतिष्ठान, लेखनाथ उद्योग वाणिज्य संघले सहयोगी भूमीका निर्वाह गरेका थिए ।

प्रतियोगितामा सहभागि विद्यार्थीहरुलाई राष्ट्रपुकार शिर्षकमा वढीमा एक सय ५० शव्दमा कविता लेख्न दिइएको थियो । एक घण्टाको समयमा कविता लेखेर विद्यार्थीहरुले प्रतियोगितामा वाचन गरेका थिए । प्रतियोगितामा घोकाएर र अरुले लेखेका कविता ल्याएर वाचन गर्ने परंपरा वढ्दै गएपछि त्यस्लाई निरुत्साहित गर्न र स्रस्टाहरुमा सृजनशिलता र मौलिकताको विकास गर्न निश्चित शिर्षक, समय र स्थानमा वसेर कविता लेख्न लगाईएको लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले वताए ।

प्रतियोगितामा गोगन माविकि रक्षा पण्डित प्रथम भएकी छन् । त्यसैगरी डाईमण्ड माविका मनिसा स्ुवेदी द्धित्तिय, गोगन माविका निरज भट्टराई तृतीय र न्यू डाईमण्ड मोडलका कञ्चन खनाल सान्त्वना भए । प्रतियोगितामा विजयी हुनेहरुलाई शुक्रवार अर्घो अर्चलेमा हुने मूल समारोहमा पुरस्कार वितरण गरिने छ ।

राष्ट्रियता प्रति समर्पित शिर्षकमा कविता लेखेका विद्यार्थीहरुले आफ्ना कविता मार्फत देसको रक्षागर्न र शान्ती स्थापना गर्न, कर्मठ यूवालाई राष्ट्रनिर्माणमा लगाउन, तथा नेपाली मन कहिल्यै पनि धन दौलतसँग साटिदैन भन्ने भाव व्यक्त गरेका थिए । कार्यक्रममा अन्य विद्यार्थीहरुले समेत अप्रतियोगिको रुपमा आफ्ना कविता वाचन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै साहित्यकार तथा समालोचक डा रविलाल अधिकारीले साहित्य लेखनवाट ठूलो मात्रामा आर्थिक सुधार नभएपनि समाज रुपान्तरणका लागी साहित्यकारहरु लाग्दै आएको वताए । उनले साहित्यमा माध्यमिककालीन युगवाट आधुनीककालको सुरुवात गरेका कविशिरोमणी लेखनाथको वाल्यकाल र जीवनका घटना तथा परिघटनाका वारेमा चर्चा गरे ।

लेखनाथ तथा पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले साहित्यको माध्यमवाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा ख्याती कमाएका कवि शिरोमणीको सम्मानमा सदैव लागिरहने वताए ।

लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले कविशिरोमणीले अर्घौ अर्चलेवाटै प्राकृतकि सुन्दरताको व्याख्या गरेकाले त्यस्लाई साहित्यीक पर्यटकीय स्थलका रुपमा विकास गर्दै लैजाने वताए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथको सम्मानमा आयोजित कार्यक्रममा नीजि क्षेत्र सदैव हातेमालो गर्दै अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गरे ।

लेखनाथ नगरपालिकाका कानूनी अधिकृत राममणी अधिकारीले लेखनाथ जन्मस्थल विकास समितिले सो क्षेत्रमा गरेका कामहरुले थप उत्साही वनाएको भन्दै प्रशंसा गरे । कविता लेखन तथा वाचन प्रतियोगिताको अध्यक्षता लायन्स क्लव अफ लेखनाथका अध्यक्ष सुर्यनारायण वरालको अध्यक्षतामा भएको थियो ।