राष्ट्रपति विद्यादेवी भण्डारीबाट सातौं राष्ट्रिय खेलकुदको औपचारिक उदघाटन


विराटनगर – सातौं राष्ट्रिय खेलकुदको औपचारिक उदघाटन शुक्रबार गरिएको छ । २ हजार दर्शक क्षकताको विराटनगरको शहीद रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको औपचारिक उदघाटन गरिन् । प्रतियोगिताले सन् २०१९ मा नेपालमा हुने तेह्रौं दक्षिण एशियाली खेलकुद सागलाई सफलतापूर्वक सम्पन्न गर्न उत्प्रेरण दिने विश्वास उनले व्यक्त गरिन् ।

यस्तै सन् २०१८ मा इन्डोनेशियाको जकार्तामा हुने एशियाली खेलकुद र सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकको तयारीका लागि पनि यो प्रतियोगिताले उत्प्रेरकको भूमिका खेलोस भन्ने कामना राष्टपति भण्डारीले गरिन् ।

प्रतियोगितामा ३० वटा खेलमा ३ हजार ९ सय ७२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा २९४ स्वर्ण, २९४ रजत र ४ सय ४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुने छ ।

२०३८ सालमा सुरु भएको प्रतियोगिता २–२ वर्षमा गर्ने भनिए पनि २०४४ सालको चौथो संस्करणसम्म समयमै भएपनि त्यसयता समयमा नै हुन सकेको थिएन् । धनगढीमा छैठौँ संस्करण भएको ५ वर्ष पछि सातौं संस्करण सुरु भएको हो ।

उदघाटन समारोह विराटनगरमा भए पनि प्रतियोगिताका खेलहरु पूर्वाञ्चलका सप्तरी, उदयपुर, सिराहा, मोरङ्, सुनसरी, झापा, र धनकुटामा हुनेछन् । यस्तै सातौं राष्ट्रिय खेलकुदको लन टेनिस भने कास्कीको पोखरामा हुने भएको छ । यस्तै स्क्वास ललितपुरमा र फेन्सिङ काठमाडौंमा हुने छ ।