रेस्लिङको मज्जा लिए पोखरेलीले, खेलमा हिमालयन टाइगरको दवदवा


राजाराम पौडेल,पोखरा- उमेर ५८ वर्ष । उचाई ५ फिट ११ इन्च । तौल १ सय १० केजी । वास्तविक नाम भरतबहादुर विसुराल । तर उनलाई सबैले हिमालयन टाइगरको रुपमा चिन्छन् । जब पोखराको नयाँ बजारमा निर्माण गरिएको रिङमा उनको आगमन भयो । चिसो मौसम भएपनि माहोल ताँतियो । उनको प्रस्तुती हेर्नको लागि कुरेर बसेका उनका सर्मथक शुभचिन्तक खुशी भए । भिँडबाट बारम्बार आवाज आउन थाल्यो हिमालयन टाइगर, हिमालयन टाइगर…। दिउँसो पाँच बजेबाट उनको प्रस्तुती हेर्न बसेका दर्शकको प्रतिक्षा घडी तीनघण्टा पश्चात आएर समाप्त भएको थियो । दर्शकको अपेक्षा अनुसारनै उनले आफ्नो दवदवा देखाए । रिङमा प्रतिष्पर्धा गर्न उत्रिएका मिस्टर यति र वारियर टाइगरको अगाडि निरिह देखिए । उनले यतिको टाउकोमा दुईवटा गमला समेत प्रहार गरे । उनको प्रहारले यतिको टाउकोमा घाउ भयो । रेस्लिङमा नेपालमा अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल टाइगरको टिम पोखरा आएकोमा रेस्लिङ पारखी खुशी देखिन्थे । रेस्लिङ हेर्न बालबालिका र किशोरकिशोरीकोे भिँड थियो । टेलिभिजनको पर्दामा रेस्लिङ खेलको मज्जा लिदै आएका उनीहरु आफ्नै आँखा अगाडि प्रत्यक्ष खेल हेर्न पाउँदा रमाइरहेका थिए ।

यसअघि रिङमा उत्रिएका रेस्लहरुलाई समेत पोखरेली दर्शकले खुलेरै सर्पोट गरेका थिए । मिस्टर यति नामले रेस्लिङ क्षेत्रमा परिचित टंकबहादुर श्रेष्ठको प्रस्तुती समेत रोमाञ्चक थियो । ३१ वर्षिय उनले दूई खेलमा आफ्नो आधिपत्य जमाएपनि हिमालयन टाइगरसँगको अन्तिम प्रतिष्पर्धामा भने त्यसलाई कायम राख्न सकेनन् । उनले पटक–पटक दर्शकको भिँडमा पुगरे दर्शकसँग अगालो मात्र हालेनन् । सेल्फि समेत खिचाए । यसैगरी रेस्लिङ क्षेत्रमा अजिङ्गर नामले चिनिने ३७ वर्षिय राम मर्हजन, स्कोरपियन नामले परिचित ४० वर्षिय हिक्मत थपलिया, वारियर नामले परिचित २७ वर्षिय प्रकाश शाह, इस्टोन पावर नामले चिनिने राजकुमार नगरकोटीको प्रर्दशनले समेत पोखरेली दर्शकको मन जित्यो ।

रेस्लिङको अर्को आर्कषणको रुपमा रहेको युनिका र जुरेली बिचको प्रतिष्पर्धा झनै रोमाञ्चक बन्यो । २९ वर्षिय युनिकाले १९ वर्षिय जुरेलीमाथी सहजै नियन्त्रण राखेपनि जुरेलीको रमाइलो पोजले दर्शक उत्साहित बने । युनिकाको डरलाग्दो पोजले रेस्लिङमा उनको भविष्य सुन्दर छ भन्ने देखायो ।

औद्योगाीक व्यापार मेलामा दुईदिनसम्म रेस्लरहरुको प्रस्तुती राखिएको थियो । दर्शकलाई फरकपनको महशुस दिलाउन रेस्लरहरुलाई उतारिएको हो । रेस्लरहरुलाई रोयल रम्बल, ट्याग टिम पार्टनर, लुजर वे आउट, सिंगल म्याच, थ्रि वे कर्नर, ट्रिपल ट्याग टिम र ह्यान्डिक्र्याप म्याच मार्फत रेस्लिङको मज्जा दिलाउन लगाईएको थियो । उनीहरुले नृत्य गर्दै दर्शकलाई हौसाए । यसरी रेस्लिङ प्रत्यक्ष हेर्ने मौका पोखरेलीले चार वर्ष पछि पाएका हुन् ।

यसअघि पोखरामा सन् २०११ र २०१२ मा रेस्लिङको मज्जा लिएका थिए । पोखरामा आएका रेस्लरहरुलाई शहरका विभिन्न भागमा परिक्रमा गराइएको थियो । रेस्लिङ सँगे रेफ्रि गुणराज रुचालको फायर डान्स समेत दर्शकले हेर्न पाए ।

नेपाली रेस्लिङ क्षेत्रको भविष्य अन्यौलमा

सरकारको ध्यान रेस्लिङ खेल तर्फ नपुग्दा नेपाली रेस्लिङ क्षेत्रको भविष्य अन्यौलमा रहेको हिमालयन टाइगर प्रोफेसनल रेस्लिङ एशोसिएसनका अध्यक्ष भरतबहादुर विसुरालको गुनासो छ । ‘रेस्लिङ खेललाई सरकारले संरक्षण गर्न सकेन, त्यसैले रेस्लिङ खेलको भविष्य अन्यौलमा छ’ उनले गुनासो गरे । नेपालको झण्डा बोकेर झण्डै ४५ देशमा खेल खेलेको अनुभव संगालेका उनले सरकारले ध्यान दिन सके रेस्लिङमा नेपालको सम्भावना राम्रो भएको बताउँछन् । नेपालले रेस्लिङमा केहि गर्नसक्छ भन्ने प्रमाणित गर्न आफु सफल भएको दावी उनको छ । ‘विदेशमा रेस्लिङ विज्ञापनले चलेको छ, क्राउड धेरै हुदैन ।’ उनले बताए ।
‘रेस्लिङमा आर्थिक रुपमा गाह्रो छ, स्पोन्सर आउँदै, सरकारी ठाउँमा तालिमकेन्द्र थियो, त्यसलाई समेत सरकारले हटाइदियो, आफ्नै जग्गामा ट्रस बनाएर नयाँ रेस्लर उत्पादन गरि रिङ सहित शिक्षा दिएर छोड्ने योजना बनाएको छुँ ।’ उनले थपे ।
रेस्लिङ खेल्न चाहने युवाहरुको खोजी गरिरहेको बताउने टाइगरले १२ जना रेस्लरको टिम बनाउने योजना बनाएका छन् । मल्टिपल भिसामा सन् १९८५ अमेरिका हानिएका हिमालयन टाइगरले सन् १९९२ जनवरीबाट रेस्लिङ खेल्न सुरु गरेका हुन् । उनले अमेरिकामा १८ वर्ष ९ महिना रेस्लिङ खेले ।
हालसम्म नेपालमा ४२ जनालाई रेस्लिङ सिकाइसकेको अनुभव उनीसँग छ । ‘कतिलाई अहमता बढ्यो, कोहि अलग्गै गर्छु भन्दै छोडे, कोहि विदेशीय अहिले ७, ८ जना मात्र निरन्तर यो क्षेत्रमा लागेका छन्’ टाइगरले भने । साठी वर्षको उमेरसम्म रेस्लिङ खेल्ने उनले जनाए ।

1

पहिलो नेपाली महिला रेस्लर युनिका

गायिका बन्ने सपना थियो भगवती खड्काको । रामेछापकी २७ वर्षिय उनी पहिलो नेपाली महिला रेस्लर बन्न पुगिन् । वि.स. २०६५ मा एल्बम युनिक मार्फत नेपाली साँगीतिक फाँटमा आएकी उनी पछिल्लो क्रममा रेस्लिङमा जम्दै छन् । उनले वि.स. २०६९ को मंसिर महिनाबाट औपचारिक रुपमा रेस्लिङ खेल्न थालेकी हुन् । उनलाई यो क्षेत्रमा अगाडि बढ्न द्धन्द निर्देशक योगेन्द्र क्षेष्ठले हौसाएका थिए । उनको लक्ष्य डब्लु डब्लु ई मा नेपालको प्रतिनिधित्व गर्ने रहेको छ । उनले थुर्पै नेपाली चलचिमा समेत आफ्नो कला देखाइसकेकी छन् । जोखिमपुर्ण काम गर्न रुचाउने भएकोले रेस्लिङतर्फ आर्कषित भएको उनले बताउँछिन् । नेपाल ओमन रेस्लिङ फाउन्डेसनको अध्यक्ष समेत रहेकी उनले रेस्लिङ क्षेत्रमा नयाँ–नयाँ प्रतिभालाई ल्याउन कार्य गर्ने बताउँछिन् । उनी भारत्तोलनको खेलाडि समेत हुन् । उनले विभिन्न टेलिफिल्ममा समेत अभिनय गरेकी छन् । रेस्लिङ हेर्दा फेक लाग्ने गरेपनि वास्तविकतामा त्यस्तो नहुने उनले बताइन् ‘रेस्लिङ फेक हुदैन, टेक्निक हुन्छ, ट्रेनिङ गरेपछि गर्न सकिन्छ ।’

3

जुरेलीको हट डान्स

मोडलिङ क्षेत्र हुँदै रेस्लिङतर्फ आएकी हुन् खोटाङकी अस्मिता सुनार । उनलाई जुरेलीको नामले रेस्लिङ क्षेत्रमा चिनिन्छ । उनी जिम्न्यास्टिको खेलाडि समेत हुन् । हवल्दार सुन्तलीमा अभिनय गर्ने क्रममा रेस्लर युनिकासँग उनको भेट भयो । भेट पश्चात उनी १६ वर्षको उमेरमाने रेस्लिङ क्षेत्रमा आइन् । उनीसँग राम्रो नृत्य गर्ने क्षमता पनि छ । जुन क्षमता पोखरामा उनले देखाइन् । रेस्लिङ हेर्न पुगेका दर्शलाइ जुरेलीको हट डान्सले आर्कािषत ग¥यो । आफ्नो मस्त जवानी नृत्य मार्फत पोखरेली माझ पोखिन् । चुलबुले स्वभावकी उनी रेस्लिङमा स्थापित हुन चाहन्छिन् । उनको लक्ष्य पनि डब्लु डब्लु ई मा नेपालको प्रतिनिधित्व गर्ने रहेको छ । उनले नेपालि चलचित्र भुलभुलैयामा भिलेनको भुमिका निभाएकी थिइन् । रेस्लिङ र अभिनय दुवैलाई सँगसगै अगाडि बढाउने योजना उनको छ ।

2