टर्कीमा रूसी राजदूतको गोली हानि हत्या


अलेप्पोमा रुसी संल्गनता प्रति विरोध जनाएका एक टर्कीश प्रहरीले टर्कीका लागि रुसी राजदूत एन्ड्रेइ कार्लोफको गोली हानी हत्या गरेका छन्।

अंकरास्थित दंगा नियन्त्रणमा खटिने प्रहरी इकाइका २२ वर्षिय ती प्रहरी अधिकारीको पहिचान खुलेको छ तर उनी कुनै समूहमा आवद्ध रहे वा नरहेकोको प्रष्ट भइसकेको छैन। टर्कीमा रुसले सिरियाली राष्ट्रपति बसर अल असदलाई समर्थन गरेको विरोधमा प्रदर्शनहरु भएको भोलिपल्ट यो घटना भएको हो। टर्कीका राष्ट्रपतिले रुससँगको सम्बन्ध बिगार्ने उद्देश्यले उक्त हत्या गराइएको बताएका छन्।

राष्ट्रपति रेजेप तैयप्प एर्दोआनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गरेका छन् र एउटा भिडियो सन्देश दिदैँ उत्तजेना फैलाउन सो हत्या गरिएको निष्कर्षमा दुवै नेता सहमत भएको जनाएका छन्। उनले दुई देशबीचको सम्बन्धमा कटुता ल्याउन चाहनेहरु सफल नहुने पनि बताए।

टेलिभिजनमार्फत सम्बोधन गर्दै रुसी राष्ट्रपति पुटिनले उक्त हत्यालाई सिरियामा जारी शान्ति प्रयासलाई बिथोल्ने उद्देश्यले चालिएको कदमका रुपमा चित्रण गरे।

रुस

रुसी राष्ट्रपतिका प्रवक्ताले उक्त घटनाबारे अनुसन्धान गर्न रुसी अनुसन्धानकर्ताहरुको एउटा समूह टर्की जाने पनि बताएका छन्।राष्ट्रसंघको सुरक्षा परिषदले सो घटनाको निन्दा गरेको छ र राष्ट्रसंघका महासचिव बान की मुनले उक्त ‘संवेदनाहीन’ आक्रमणबाट आफू दु:खी भएको प्रतिक्रिया दिएका छन्।

अमेरिकामा बस्दै आएका धर्मगुरु फेतुल्लाह गुलेनको अभियानले पनि हमलाको भर्त्सना गरेको छ र हमलाकारीसँग कुनै सम्बन्ध नरहेको प्रष्टीकरण दिएको छ।टर्कीका अधिकारीले गएको जुलाईमा राष्ट्रपति एर्दोआनको शासन ढाल्न उक्त अभियानले प्रयास गरेको आरोप लगाउने गरेका छन्।

उक्त घटनाको समयमा टर्कीका लागि रुसी राजदूत ‘टर्कीशहरुको नजरमा रुस’ शीर्षकको एउटा फोटो प्रदर्शनीमा सहभागी भइरहेका थिए। टर्कीका टेलिभिजनमा प्रसारण गरिएका दृश्यमा सुट र टाइ लगाएका एक बन्धुकधारीले रुसी राजदूत कार्लोफलाई उनी भाषण गर्न उभिएका बेला पछाडिबाट गोली हानेको देखाइएको छ।

टर्कीUTERS

त्यसपछि उक्त व्यक्तिले सिरियाको अलेप्पो शहरसँग सम्बन्धित नारा अरबी र टर्कीश भाषामा लगाएको सुनिन्छ।ती व्यक्तिले ‘अलेप्पोलाई नबिर्स, सिरियालाई नबिर्स’ भन्दै नारा लगाएका थिए र ‘भगवन महान छन्’भन्दै अरबी भाषामा बोलेका थिए।त्यस लगत्तै उक्त बन्धुकधारीको गोली हानी मारिएको बताइएपनि विस्तृत विवरण दिइएको छैन।

घटनालगत्तै अस्पताल पुर्याइएका राजदूत कार्लोफलाई मृत घोषित गरिएको थियो। ६२ वर्षिय कार्लोफले सन् १९८० को दशकको अधिकांश समय रुसका लागि उत्तर कोरियाको राजदूतका रुपमा बिताएका थिए भनी बीबीसीले समाचारमा जनाएको छ।