दलित महिलालाई ६३ बर्षमा नागरिकता


कृष्ण रानाभाट/पोखरा । पोखरा उपमहानगर पालिका वडा नं.९ पार्बती टोल निवासी सुकमाया नेपालीले ६३ बर्षको उमेरमा नागरिकता पाउन सफल भएकी हुन ।

उनलाई नागरिकता दिलाउन पार्वती टोल विकास संस्थाको पहल र जिल्ला प्रशासन कार्यलय कास्कीका प्रशासकिय अधिकृत सुरेशचन्द्र कोइरालाको सहयोगमा सम्भब भएको स्थानीय युवा ज्योतिष बिकास आनन्दले बताए ।

उनले मंसिर २८ गते प्राप्त गरेको नं. ४६-०१-७३-०७३९४ को नागरिकतामा जन्म मिति २०१० महिना ०१ गते १५, स्थान पोखरा ७, बुबाको नाम रत्नबहादुर नेपाली र पतिको नाम दलबहादुर नेपाली लेखिएको छ ।

उनको दुई छोरीछोरा मध्ये छोरीको केहि बर्ष पहिले सवारी दुर्घटनामा मृत्यु भएको थियो । त्यस बापत प्राप्त क्षतिपूर्ति पनि अर्कैको बैंक खातामा राख्दै आएकी थिइन् ।

अहिले ३२ बर्षको छोरा संगै बस्तै आएकी सुकमायाको पति छोराछोरी सानै हुँदा बेपत्ता भएका थिए । उनका छोराले कहिले नगरपालिकाको सरसफाइ गाडीमा, कहिले ज्याला मजदुरी गर्दै जीवन यापन गर्दै आएको छन् ।

आम्दानीको कुनै स्रोत नभएकी सुकमायाले अब बृद्ध भत्ता र दलित भत्ता पाउने भएपछि खुशी भएको प्रतिक्रिया दिंदै नागरिकता दिलाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।