आयातित बस्तुहरु उपयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा मन्त्री शाहीको जोड


राजाराम पौडेल,पोखरा- पर्यटन,संस्कृति तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पर्यटनको नाउँमा स्थानीय उत्पादनहरुको सट्टा आयातित बस्तुहरु उपयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन् । उनले आफ्ना उत्पादनहरुलाई व्यवसायिकरण गर्दै सरसफाईमा ध्यान दिने गरी पर्यटन उद्योगको विकास गर्ने आफ्नो लक्ष्य भएको प्रष्ट पारे । ‘पर्यटनको नाउँमा काउनो, मकै, चिनु र कोदो पाइने ठाउँमा चाउचाउ नपु¥याऊँ’, उनले भने,‘पर्यटन उद्योगबाट स्थानीयले लाभ लिनसक्ने गरी त्यहीँका उत्पादनहरुको व्यवसायिकरणमा जोड दिऊँ ।’ उनले अन्यत्रको सामान ल्याएर यहाँको पर्यटनकबाट लाभ लिन नसक्ने ठोकुवा गरे ।

मन्त्री शाही पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको आयोजना, पोखरा उद्योग वाणिज्य संघका समन्वय एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा बुधबार पोखरामा आयोजित पश्चिमाञ्चल क्षेत्रका पर्यटकीय सम्भावना तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै थिए । उनले गाउँमा पाइने स्थानीय उत्पादन प्रयोग गर्नेलाई पाखे भनेर हियाउने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा समेत जोड दिए । आफू देशको विकट हुम्ला जिल्लामा जन्मिएको र त्यहाँका स्थानीय उत्पादन प्रयोग गर्नेहरुलाई आधुनिक भनाउँदाहरुले होच्याउने गरेको प्रसङ्ग सम्झँदै ठट्यौलो पारामा भने,‘त्यो बेला स्याउ र आलु खाने हामीहरुलाई भात खान नपाउने भनेर होच्याइयो, तर खानु पर्ने त त्यही आलु र स्याउ पो रहेछ ।’ मित्रराष्ट्र इजरायलको उदाहरण दिँदै उनले आफ्नो गाउँमा भएको पानीको उपयोग नगर्ने तर त्यहाँको थोपा सिँचाई प्रणाली सिक्न खोज्नु गलत भएको जिकिर गरे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री शाहीले आफ्नो मन्त्रालयले धेरै विषयहरुमा ध्यान दिनु पर्ने भएकोले सोचेजस्तो काम गर्न नसकेको स्वीकारे । उनलेआफूले गलत निर्णय नगर्ने र सुधार गर्दै जाने पक्षमा रहेको पटक पटक दोहो¥याए। देश राजनीतिज्ञ, कर्मचारीतन्त्र र पत्रकारले गर्दा बिग्रेको बताउँदै उनले आफ्नो पार्टी वा गुटको हित हेर्ने राजनीतिज्ञ, काम गर्न नदिने कर्मचारी र गलत सूचना सम्पेषण गर्ने पत्रकारहरुलाई देशको हितमा काम गर्न आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सरकार र निजी क्षेत्रबीचको विश्वासको खाडल पुर्नको लागि सरकारले उचित निर्णय गर्नुपर्नेमा जोड दिए । देशमा सोचेजस्तो प्रगति नभए पनि निजी क्षेत्र चुप लागेर नबस्ने बताउँदै उनले विश्वको २१ औँ पुरानो मुलूकको नागरिक भएकोमा नेपालीले गर्व गर्नुपर्ने बताए । सो कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पर्यटनको स्पष्ट परिभाषा गर्दै दीर्घकालीन सोचका साथ काम गर्ने बेला आएको बताए । पोखरालाई आन्तरिक पर्यटनको गन्तव्य बनाउन तथा अन्तर्राष्ट्रिय रुपले प्रचार प्रसार गर्न भए गरेका गतिविधीबारे जानकारी दिँदै उनले नेपालको विकास पर्यटनबाट मात्र सम्भव भएकोले सरकार र निजी क्षेत्र दुबैको सहकार्य जरुरी रहेको उनकाे भनाई थियो ।

पश्चिमाञ्चल उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीको संचालन रहेको कार्यक्रमका अध्यक्ष पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष हरिओम शर्माले दीगो पर्यटन विकासको लागि सरकारले पर्यटकीय गन्तव्यहरुका उचित विकास तथा पर्यटन मैत्री वातावरण निर्माण गर्नु पर्नेमा जोड दिए । कार्यक्रमको अवधारणामाथि प्रकाश पार्दै नेपाल पर्यटन वोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले नेपाल पर्यटकहरुको लागि आकर्षक गन्तव्य भए पनि प्रचारप्रसारको कमीले सोचेजस्तो पर्यटक आउन नसकेको स्वीकारे । ठूलो जनसंख्या र अर्थतन्त्र भएको एसियालाई लक्षित गरी पर्यटन प्रवद्र्धनका गतिविधी अगाडि बढाउनु पर्नेमा जोड दिँदै उनले पर्यटन प्रवद्र्धनमा धेरै ठाउँमा चुके पनि नेपालले आशा गर्ने मुख्य क्षेत्र पर्यटन नै भएको जिकिर गरे  । देशको राजनीति, सुरक्षा व्यवस्थादेखि सरसफाई र आतिथ्यतासम्मका सबै क्षेत्रसँग पर्यटनको गहिरो सम्बन्ध हुने भएकोले अस्थिरता पर्यटनको लागि बाधक भएको उनको तर्क थियो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक श्रीकान्त खतिवडाले नेपालको पर्यटन उद्योगलाई माथि उकास्न आफ्ना सम्पदानहरुको प्रवद्र्धन र संरक्षण, व्यापक प्रचार प्रसार तथा यसको ब्राण्डिङ आवश्यक रहेको बताए।

कार्यक्रममा बोल्दै स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज सुवेदीले नेपालको पर्यटन सुधारको लागि विमानस्थलदेखि नै सुधार थाल्नु पर्ने बताए । स्याङ्जाको स्वरेकमा रहेको प्याराग्लाइडिङ सिकाउने विद्यालय एउटा दुर्घटनाको निउँमा बन्द गरिँदा विभिन्न देशबाट प्याराग्लाइडिङ सिक्न आउनेहरु फिर्ता जानु परेको दुखेसो पनि उनले सुनाए । कार्यक्रममा नाट्टा पश्चिमाञ्चलका अध्यक्ष दिल गौतम, प्याराग्लाइडिङ स्कूलका कृष्णजंग केसी, पर्वत उद्योग वाणिज्य संघका उपाध्यक्ष शिव शर्मा लगायतले पनि मन्तव्य राखेका थिए।