अपरमादी जलविद्युत आयोजनाको निर्माण पुरा, पुस देखी सञ्चालनमा अाउने


राजाराम पौडेल,पोखरा-कास्कीको सिल्दुजुरे गाविसमा निमार्ण भएको २५ मेगावाट क्षमताको अपरमादी जलविद्युत आयोजनाको निर्माणकार्य पूरा भएको छ । निर्माणको काम पूरा भएसँगै उपकरण परीक्षणको काम पनि सकिएको अपरमानी जलविद्युत आयोजनाका निर्देशक विजयबाबु मल्लले जानकारी दिए ।

दुई सातासम्म गरिएको परीक्षणमा खराबी नदेखिएको उनले जानकारी दिए । परीक्षण उत्पादन गर्न लागेको आयोजनाले एक महिनाभित्र पूर्ण क्षमतामा व्यावसायिक विद्युत् उत्पादन गर्ने उनको भनाई छ ।

आयोजनाले १० किलोमिटर टाढाको लेखनाथस्थित विद्युत् प्राधिकरणको सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनमार्फत विद्युतगृहमा पु¥याई चार्जिङ गरीरहेको छ । चार हजार दुई सय मिटर लामो सुरुङमा मादी खोलाको पानी ल्याएर १ सय १६ मिटर पेनस्टक पाइपमार्फत बिजुली उत्पादन गर्न लागीएको उनले जानकारी दिए ।

विद्युतगृहमा साढे १२ मेगावाट क्षमताका २ वटा फ्रान्सिस टर्वाइन जडान गरिएको छ । आयोजना गत अप्रिलमा सकिनुपर्ने भए पनि भूकम्प, नाकाबन्दी र मादीमा आएको बाढी तथा पहिरोले काममा ढिलाइ भएको उनले बताए । लागत समेत बढेको उनको भनाई थियो । सुरुमा ५ अर्ब ८० करोड रुपैयाँ लागत लाग्ने भनिएकोमा बढेर झण्डै ७ अर्ब रुपैयाँ पुगेको आयोजनाका निर्देशक मल्लले बताए ।

मादी पावर प्रालिअन्तर्गतको आयोजनामा मल्लको २० प्रतिशत र चीनको चाइना थ्री गर्जेज कर्पोरेसनसँग आबद्ध चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई) को ८० प्रतिशत लगानी छ । आयोजना २०६९ पुस १३ बाट चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले निर्माण सुरु गरेको थियो ।