एल क्लासिकोमा ९८ हजार दर्शक माँझ, राष्ट्रिय झण्डा सहित नेपाली युवाहरु पनि


बार्सिलोना/ एल क्लासिको खेल हेर्न पुगेका दुई नेपाली युवाहरुले बार्सिलोना फुटबल क्लबको घरेलु मैदान नाउ क्याम्पमा नेपाली राष्ट्रिय झण्डा फरफराएका छन्। स्पेन बस्दै आएका दुई नेपाली युवाहरुले शनिबार नाउ क्याम्प पुगेर ९८ हजार फुटबलका समर्थकहरु बीच नेपालको राष्ट्रिय झण्डा पनि फराएका हुन्।

बिगत ११ बर्ष देखि बार्सिलोना बस्दै आएका म्याग्दी बेनीका राजकुमार केसीले आफ्नो सपना पुरा भएको बताउँछन्। बार्सिलोना फुटबल क्लबलाई समर्थन गर्दै आएका केसीले, एल क्लासिको हेर्दै स्टेडियममा नेपालको राष्ट्रिय झण्डा फराउने सपना पुरा भएको सुनाए। केसीले भने, “बिगतमा कैयौ पटक क्लासिको खेल हेर्ने प्रयास गर्यौ तर टिकट सार्है महंगो हुनाले लिन सकेका थिएनौ। तर यस पटक भाग्यबश अन्तिम समयमा ३ सय ६५ युरो खर्चेर (करिव ४५ हजार रुपैयाँ) टिकट काट्यौ र हेर्ने आँट पनि गर्यौ।”

उनि भन्छन्, “एक महिना अघि देखि भिआईपी टिकट बितरण हुन्छ, तर एउटा टिकटको ५ सय, १३ सय देखि  २६ युरो सम्म हुने हुँदा हामीले काट्न सक्ने अबस्था नै हुँदैन। खेलको दुई दिन अघि सम्म मेम्मरसिप टिकट बितरण हुन्छ,तर अन्तिम २४ घण्टामा मात्रै खुल्ला टिकट पाईने रहेछ,भाग्यबश यसपटक अनलाईन काट्न सफल भयौ।”15280963_1322585534449886_1519146328_nयस्तै अर्का नेपाली म्याग्दी रत्नेचौर – ४ का सुरेश शर्माको पनि एल क्लासिको हेर्ने सपना पुरा भएको छ। रियल म्याड्रिडका समर्थक रहेका शर्मा भन्छन्,” यो दशककै महान् फुटबल स्टारहरु लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डो आमान्नेसामान्ने भिडेको प्रत्यक्ष हेर्ने कुन फुटबल प्रेमीको सपना हुँदैन होला र ? मेरो बर्षौ देखिको सपना पुरा भएको छ।”

प्राय: स्पेनमा रहेका नेपालीहरु अन्य खेलहरु हेर्न स्टेडियम पुग्ने भएता पनि दुई फुटबल महारथी क्लब रियल म्याड्रिड र बार्सिलोना बिचको खेललाई प्रत्यक्ष हेरेको बिरैलै पाईन्छ। एल क्लासिको खेलको टिकट धेरै महँगो हुने हुँदा पनि प्रत्यक्ष हेर्न जाने नेपालीहरुको संख्या निकै भएको हो।

यस सिजनको पहिलो एल क्लासिको खेल १-१ गोलको बराबरीमा टुंगिएको छ। खेलको ५३ औ मिनेटमा बार्सिलोनाका लुईस स्बारेजले गोल गर्दै १- ० को अग्रता दिलाएका थिए। तर रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले अन्तिम मिनेटमा हेडिङ् गर्दै म्याड्रिलाई बचाए। क्लब फुटबलमा बिश्वको सबैभन्दा चर्चित मानिने एल क्लासिको बराबरीमा टुँगीएपछि म्याड्रिडले ला लिगामा बार्सिलोनासँगको अग्रतालाई ६ अंक कायमै राख्न सफल भएको छ।