व्हीलचेयरबाटै नेपाल घुम्दै तीन इजरायली (छापाबाट)


सोसना ब्लिन्डर ५० वर्षदेखि लगातार व्हीलचेयरमा छिन् । पोलियोका कारण दुवै खुट्टा नचलेपछि उनले व्हीलचेयरको भर पर्नुपरेको हो । उनी अत्याधुनिक व्हीलचेयर र सहयोगीका साथमा घुमफिर गर्छिन् । अहिले नेपाल आइपुगेकी सोसना भन्छिन्, ‘मलाई आफू अपांग हुँ भन्ने नै लाग्दैन ।’

व्यवस्थापन तथा अक्कुपन्चरमा स्नातकोत्तर उनी पछिल्लो समय आफूजस्तै अपांगता भएकालाई व्हीलचेयर तथा अन्य उपकरण तथा सामग्री बिक्री तथा सहयोगमा सक्रिय छन् ।  आजको कान्तिपुर दैनिकमा खबर छ ।

व्हीलचेयरमा बसेर नै उनी गाडी चलाउँछिन् भने अन्य दैनिक कार्य पनि गर्छिन् । सोसनालाई १२ वर्षको उमेरमा पोलियोले समातेको थियो । उनका पतिको पनि २० वर्षअघि कार दुर्घटनामा परेर दुवै खुट्टा र हात राम्रोसँग चल्दैन । त्यसैले उनी पनि हिवलचिअरमै हुन्छन् । उनी अनलाइन व्यापार गर्छन् ।

सोसनका सहयोगी नेपाली छन् । आफन्त साथीभाइकोमा समेत नेपाली केअरगिभर छन् । ‘उनीहरूका कुरा सुनेर नेपालप्रति चासो बढेको हो,’ सोसनाले भनिन्, ‘नेपालबारे धेरै सुनेपछि नेपाल बुझ्ने इच्छा भयो ।’ उनी काठमाडौं, पोखरा र चितवन जाने निधो गरेर नेपाल आएकी हुन् । बुधबार इजरायली राजदूत यारोन मायेरको निवासमा उनले कान्तिपुरसँग भनिन्, ‘नेपालबारे धेरै सुनिएको थियो । बल्ल आउन पाइयो, ६ महिना त हामी जस्ता सजिलै पुग्न सक्ने ठाउँ पत्ता लगाउन नै लाग्यो ।’

मृत सागर भएको इजरायलबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल आउन पाउँदा निकै खुसी लागेको सोसनाले बताइन् । ‘नेपालमा विश्वको शिर छ भने हाम्रो मुलुकमा पाउ,’ उनले भनिन्, ‘सगरमाथादेखि मृतसागरसम्मको यो सम्बन्ध सौभाग्यले जुरेको छ ।’

सोसनासँग उनका पति यसुवा मायर र पुरानी मित्र खायम कोसोचिभित्ज पनि छन् । दुई नेपाली र एक फिलिपिनो सहयोगीसहित मुम्बई हुँदै उनीहरू नेपाल आएका हुन् । उनीहरूको घुमफिर निजी भए पनि पर्यटनबोर्डले उनीहरूलाई सहयोग गरिरहेको छ ।