रुपाकोट महोत्सवको मुख्य प्रायोजक रुपाकोट रिसोर्ट


कृष्ण रानाभाट/पोखरा । कास्कीको रुपाकोट गाउँमा यस बर्ष हुने रुपाकोट महोत्सवको मुख्य प्रायोजन रुपाकोट रिसोर्टले गर्ने भएको छ । रुपाकोट महोत्सव २०७३ को आयोजक धु्रबतारा क्लबका अध्यक्ष प्रेमकुमार खड्का र रुपाकोट रिसोर्टका संचालक पुष्पराज अधिकारीले बुधबार उक्त बिषयमा सम्झौता गरेका छन् ।

मुख्य प्रायोजक रुपाकोट रिसोर्टले आयोजक क्लबलाई महोत्सव सफलता पुर्बक सम्पन्न गर्नको लागि एक लाख आर्थिक सहयोग गर्ने छ । रुपाकोट गाउँको पर्यटन प्रबर्द्धन तथा समग्र बिकासको लागि हरेक बर्ष क्लबले विभिन्न प्रतियोगिताहरु, साँस्कृतिक तथा सम्मानका कार्यक्रम गर्दै आएको क्लबका अध्यक्ष प्रेमकुमार खड्काले बताए ।

क्लबले हालसम्म सभाहल, अतिथि गृह, ब्यापारिक भवन, खेलकुद मैदान निर्माण गरिसकेको छ भने आगामी दिनमा खेल मैदानलाई स्तरोन्नति गरि रुपाकोट रंगशाला बनाउने, पर्यटन प्रबर्द्धन गर्न भ्यु टावर निर्माण गर्ने र बन भोज स्थल बनाउने योजना क्लबले गरेको छ । सो स्थानमा कार्यक्रम आयोजना गर्न मञ्च निर्माण गर्दा वर्षेनि हजारौ रुपैया लाग्ने भएकोले ध्रुबतारा युएइ शाखाले करिब दुई लाख ५० हजारको लागतमा महोत्सव अगाडि नै सम्पन्न हुने गरि एक स्थायी मञ्चको निर्माण भईरहेको छ । सो मञ्चको उद्घाटन पनि सोही दिन गरिने शाखाका अध्यक्ष दिगेन्द्र गुरुङले वताए ।

पुस २८ गतेदेखि माघ १ गतेसम्म रुपाकोट गाबिस–१, भिरचोकमा हुने रुपाकोट महोत्सवमा भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, हाजिरिजवाफ लगाएतका प्रतियोगिताहर हुनुका साथै विभिन्न लोक साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिने आयोजकले वताए । महोत्सवबाट ६ लाख आम्दानी हुने र खर्च कटाएर क्लबलाई एक लाख ९० हजार नगद बचत हुने क्लबका कोषाध्यक्ष प्रकाश परियारले बताए ।