ईनास यूरोपीयन गायन एवम नृत्य प्रतियोगिता कोपेनहेगेनमा हुने


कोपेनहेगेन, अन्तर्राष्ट्रिय कलाकार समाज (इनास) द्धारा आगामी २०१७ अप्रिल १३ र १४ मा कोपेनहेगेनमा इनास युरोपको पाँचौ क्षेत्रीय सम्मेलन सहित यूरोप महादेशस्तरीय गायन तथा नृत्य प्रयोगियोगिता आयोजना हुने भएको छ ।

नेपाली नयाँ वर्षको अवसर पारेर सबैको संयुक्त कार्यक्रमको रुपमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमलाई भव्य र सफल रुपमा सम्पन्न गर्ने तयारीको क्रममा इनासका यूरोपिएन संयोजक अर्जुन काफ्लेको उपस्थितिमा कोपेनहेगेनमा यही नभेम्वर २४ मा एनआरएन लगायत विभिन्न स्थानीय संंघ संस्थाका प्रतिनिधिहरु बिच संयुक्त बैठक सम्पन्न भएको छ ।

inas-denmarkइनास डेनमार्कका उपाध्यक्ष देवश्री कोइरालाको अध्यक्षतामा बसैको उक्त बैठकमा महासचिव कृष्ण सुवेदीले संचालन एवम सचिव दिनेश शर्मा तथा संयोजक रविन्द्र खड्काले व्यवस्थापकीय भूमिका निर्वाह गरेका थिए ।

प्रमुख अतिथि अर्जुन काफ्ले एवम इनास केन्द्रिय सदस्य राजमान तामागले कार्यक्रमको महत्व, प्रारुप एवम कार्यक्रम आयोजना तथा व्यवस्थापनका हालसम्मको अभ्यास तथा अनुभवहरुबारे जानकारी गराउदै यो नेपाली समुदायकै साझाकार्यक्रमको रुपमा ग्रहण गरि सफलताको लागि सहकार्य गर्न आव्हान गर्नु भएको थियो भने बैठकमा उपस्थित डेनमार्कका लागि नेपाल पर्यटन बोर्डको जनसम्पर्क प्रतिनिधि सोम सापकोटाले २०१७ नेपाल डेनमार्क दौत्य सम्बन्ध स्थापित भएको ५० औ बर्षगाँठ भएको सन्दर्भलाई जोड्दै कार्यक्रमलाई थप महत्वपूर्ण बनाउन सकिने सुझाव राखेका थिए। 

यसै गरि एनआरएन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडालले इनास र एनआरएनको सम्वन्ध नङमासु जस्तै अन्योन्याश्रित भएको हुँदा आफ्नो कार्यकालका उक्तकार्यक्रम आयोजना हुन लागेकोमा खुशी व्यक्त गर्दै त्यसलाई सफल पार्न एनआरएन डेनमार्कको हरसंभव सहयोग रहने प्रतिवद्धता जनाए ।

छलफलकै क्रममा जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नवराज आचार्य, एनआरएन डेनमार्कका महासचिव गोविन्द पौडेलले आवश्यक जिम्मेवारी निर्वाह गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे भने ओएनएफ डेनमार्कका अध्यक्ष कृष्ण पौडेलले आर्थिक व्यवस्थापनको गम्भिरता सम्बन्धमा ध्यानाकर्ष्ण गराउँदै आफ्नो संस्थाको तर्फबाट सक्दो योगदानको प्रतिबद्धता जाहेर गरेका थिए ।

यसैगरी नेपाल पर्यटन बोर्डका जनसम्पर्क प्रतिनिधि तथा एनआरएन डेनमार्कका निवर्तमान अध्यक्ष दिपक सापकोटाले हालै सिक्किम्ममा सम्पन्न इनास सिने एवार्ड समारोहमा आफु सहभागी सहभागी भएको अनुभव तथा यथार्थता बारे अवगत गराए ।

डेनमार्क स्थित नेपाली पाठशालाका शिक्षक एवम इनास डेनमार्कका सल्लाहकार दिपक तिवारीले विदेशी समुदायले नेपाली नृत्यकला एव भेषभुषा मन पराउने गरेको र यस कार्यक्रम विदेशमा नेपाली कलासंस्कृतिलाई परिचित तुल्याउन योगदान रहने चर्चा गर्दै यथासम्भव सहयोग रहने बचनवद्धता प्रकट गरे। 

साथै इनास डेनमार्कका अर्का सल्लाहकार तथा सामाजिक अभियन्ता प्रभात किरणले काम र कुरा विच तालमेल हुनुपर्ने र समयको पालना हुनुपर्नेमा राय व्यक्त गरेका थिए । साथै क्रेटिभ नेपाली वेमेन डेनमार्ककी अध्यक्ष गरिमा घलेले कार्यक्रमको खर्चभारलाई न्यूनीकरण गर्दै गैर नाफामुलक संस्थाको कार्यक्रम भएकोले सोही किसिमले संस्थागत सहयोग तथा सहुलियत अधिकतम आकर्षित गर्न प्रयास गर्नुपर्नेमा ध्यानाकर्षण गराईन। 

गत वर्ष चौथो सम्मेलन स्विजरल्याण्डमा सफलताका साथ सम्पन्न गरिसकेको ईनास युरोपले ग्लोबल समितिको अनुमोदन प्राप्त गरि यस पाँचौं बैठक डेनमार्कमा आयोजना गर्ने गरि ईनास डेनमार्कलाई अधिकार हस्तान्तरण गरेको थियो।