पोखरामा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र


राजाराम पौडेल, पोखरा –  पोखरा उद्योग वाणिज्य संघको आयोजनामा  मंसिरको तेस्रो साताबाट पोखरामा सुरु हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारिएको छ । आयोजक पोखरा उद्योग वाणिज्य संघले  पत्रकार सम्मेलन गरी मेलाको तयारी तीव्र पारिएको जानकारी दिएको हो ।

मेलामा पिसिसिआई गायन तारा–२०७३, लोकदोहोरी , फेसन सो, बडि बिल्डिङ, अन्तर्राष्ट्रियस्तरका रेस्लरहरुको रेस्लिङ प्रदर्शन, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, स्थापित हाँस्य कलाकारहरुको मनोरञ्जनात्मक कार्यक्रमहरु समेत समावेश गरिएको महासचिव दामु अधिकारीले जानकारी दिए ।

संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार मंसिर २३ गतेदेखि पुसको ४ गतेसम्म पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने मेलाको ६० प्रतिशत स्टलहरु बुकिङ भइसकेको बताए । मेलाको लागि गठित मुल आयोजक समिति र विभिन्न २८ वटा उपसमितिले तयारी अन्तिम चरणमा पुर्याएका छन् ।

‘लगानीको सम्वद्र्धन : उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ आयोजित मेला पश्चिमाञ्चल क्षेत्रमा ब्यवसाय बिस्तारको संभावनाको खोजी गर्ने उदेश्यमा समर्पित रहने पालिखेले बताए । मेलामा अत्याधूनिक डोममा निर्मित विशेष प्रकारका ७८ वटा स्टल सहित २९५ स्टल रहने आयोजकले जनाएको छ । मेलामा रेष्टुरेन्टका १३, अटोको ५३, मेड इन नेपालमा १० र हस्तकलाका २५ फ्लोरिकल्चरको ४ गरी ११२ साधारण स्टल रहनेछन् ।

मेला अबधिभर झण्डै ३ लाख दर्शकहरुले अवलोकन गर्ने अनुमान छ । मेला सम्पन्न गर्न ९० लाख रुपैया खर्च हुने र झण्डै एक करोड १० लाख रुपैया आम्दानी गरी २५ लाख रुपैया वचतको अपेक्षा गरिएको छ । पश्चिमाञ्चल होटल संघसँगको सहकार्यमा आवासमा छुटको व्यवस्था गरिएको हो । मेला अबलोकनका लागि सर्वसाधारणलाई प्रति टिकट ६० रुपैया र विद्यार्थीको लागि ४० रुपैया तथा साँझ आयोजना हुने साँस्कृतिक कार्यक्रमको लागि डेढ सय रुपैया टिकटदर कायम गरिएको छ ।

यो पटकको मेलामा समावेश गरिएको पिसिसिआई गायन तारामा प्रथम हुनेले १ लाख र द्धितीय हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । नेपाल सरकारले २०७३ लाई घुमफिर वर्ष घोषणा गरेको सन्दर्भमा नेपाल पर्यटन वोर्डसँगको सहयोग तथा पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको आयोजनामा संघले मेला सुरु हुनुभन्दा एक दिन अगावै अर्थात मंसिर २२ गते ‘पश्चिमाञ्चल क्षेत्रको पर्यटन विकासका सम्भावना ’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गर्ने भएको छ ।

मेला आयोजनाबाट बचत भएको रकम पोखरा प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माणमा विशेष प्राथमिकता प्रदान गरी खर्च गरिने आयोजकले जनाएको छ । मेलाको अवसरमा आउने आन्तरिक पाहुनालाई लक्षित गरी पोखरा बसाईमा २५ प्रतिशत छुट तथा विभिन्न पर्यटकीय गतिविधीमा समेत आकर्षक छुटको व्यवस्था गरिएको पालिखेले बताए ।