पोखरामा सडक मापदण्ड भित्रका संरचना हटाउने पहिलो चरणको अभियान सम्पन्न


राजाराम पौडेल, पोखरा – पोखरा उपमहानगरपालिकाले सडक मापदण्ड भित्रका संरचना हटाउने पहिलो चरणको अभियान विहिवार सम्पन्न गरेको छ । गत शुक्रवार विजयपुरबाट सुरु भएको अभियान विहिवार पृथ्बीचोकमा आएर सम्पन्न भएको हो ।

सडकको ७५ फिट दाँया बाँयाका संरचना हटाउने क्रममा विजयपुरदेखि पृथ्बीचोकसम्म झण्डै पाँच सय भन्दा बढी संरचना भत्काइएको नगरपालिकाले जनाएको छ । सडक मापदण्ड भित्र रहेका निजी घर, प्रहरी विट, यात्रु प्रतिक्षालय सबै हटाइएको छ ।

पहिलो चरणमा विजयपुर देखि पृथ्बीचोक सम्मको संरचना हटाएपनि दोस्रो चरणमा अन्य स्थानमा मापदण्ड विपरित बनेका संरचना पनि हटाउने नगरपालिकाका बरिष्ठ अधिकृत बसन्त चालिसेले बताए । यो अभियान निरन्तर जारी रहने उनले जनाएका छन् ।

तर पोखराको फिर्के खोला र बुलौदी खोला माथि बनाइएका संरचना हटाउने बारे नगरपालिका मौन छ । विहिवार मात्रै पृथ्बीचोक स्थित मापदण्ड विपरितका संरचना हटाएको नगरपालिकाले पृथ्बीचोकको आइल्याण्ड हटाउन नसकेको भन्दै स्थानियले विरोध जनाए । पृथ्बीचोकका अधिकांश भाग अनाबश्यक रुपमा ओगटेर राख्दा ट्राफिक ब्यवस्थापनमा निकै समस्या पर्ने गरेको छ ।