पाचौ राष्ट्रिय कर दिवसको अबसरमा उत्कृष्ट करदाता सम्मानित


राजाराम पौडेल, पोखरा –  गण्डकी र धौलागिरीका उत्कृष्ट करदाता पाचौ राष्ट्रिय कर दिवसको अबसरमा सम्मानित भएका छन् । पोखरामा  आयोजित कर सप्ताह समापनको अबसरमा आर्थिक बर्ष २०७१/७२ मा सबैभन्दा कर दाखिला गर्ने करदाता मध्येबाट जिल्लागत रुपमा पुरस्कृत गरिएको हो ।

कास्कीमा विदशी नागरिक मार्कस अलेक्जेन्डर चाल्र्स कटनद्धारा सञ्चालित टाइगर माउण्टेन प्रालि सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ । त्यस्तै तनहुको गण्डकी ट्रेड सप्लायर्स , स्याङजाको कालिका माइक्रोक्रेडिट डेभलपमेण्ट बैंक लिमिटेड , बाग्लुङको जय कालिका भगवती निर्माण सेवा प्रालि , मुस्ताङको अमित बिल्डर्स, लम्जुङको कृषक जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड , गोरखाको मनास्लु बिकास बैंक लिमिटेड, पर्वतको नमूना आवासिय माध्यामिक बिद्यालय र म्याग्दीको कुमारी बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् ।

कर प्रशासन,कर सचेतना तथा सहभागिता तथा सञ्चालनमा सहयोग पुर्याउने संस्था मध्येबाट लेखनाथ उद्योग बाणिज्य संघ र पर्वत उद्योग बाणिज्य संघलाई सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारी तर्फ नासु रविन्द्र बिकलाई सम्मान गरिएको छ । उत्कृष्ट करदाता तथा कर्मचारीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनाली र आन्तरिक राजश्व कार्यालय कास्कीका प्रमुख कर अधिकृत लेखनाथ शर्माले पुरस्कृत गरेका थिए ।

साथै कर सप्ताहको अबसरमा आयोजित कार्यालय स्तरिय डवल ब्याडमिन्टन प्रतियोगितामा विजेता र उपविजेतालाई पुरस्कार प्रदान गरियो । प्रतियोगिताको विजेता प्रमुख कर अधिकृत शर्मा र रवीन्द्र विकको जोडी तथा उपविजेता सुनिलराज देवकोटा र ठाकुर प्रसाद सुवेदीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

मंसिर १ गतेदेखि सुरु भएको कर सप्ताहका अबसरमा प्रभातफेरी , करदाता शिक्षा कार्यक्रम, कर सम्बन्धि अन्तरक्रिया लगायतका विविध कार्यक्रम गरिएको थियो ।

आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत लेखनाथ शर्माका अनुसार गण्डकी र धौलागिरीका १० जिल्लामा एक लाख ९ हजार २ सय ८८ करदाता छन् । ब्यवसायीक प्यानमा दर्ता भएका ६८ हजार ५ सय २७ छन् भने ब्यक्तिगत प्यानमा दर्ता भएका ४० हजार ७ सय ६१ ज्ना छन् । त्यसमध्ये भ्याटमा दर्ता भएका ११ हजार २ सय ८४ छन् ।

कार्यालयले आर्थिक बर्ष २०७२/७३ मा पाँच अर्व २ करोड २६ लाख राजश्व असुलीको लक्ष्य राखेकोमा ५ अर्व ४३ करोड १० लाख राजश्व असुली गरेको छ । लक्ष्यको तुलनामा १०८.१ प्रतिशत राजश्व संकलन भएको कार्यालयका प्रमुख कर अधिकृत शर्माले बताए ।

चालु आर्थिक बर्ष २०७३/७४ मा ५ अर्व ८२ करोड ४६ लाख राजश्व संकलनको लक्ष्य राखिएकोमा कार्तिक मसान्त सम्म दुई अर्व १ करोड २७ लाख संकलन भएको छ ।