प्रधानमन्त्री दाहालको अाग्रहमा बालुवाटारमा बसेको बैठकमा चर्काचर्की


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक अारोप प्रत्यारोपमा सकिएको छ । संविधान संशोधनको विषयमा सहमति जुटाउनका लागि बसेको शीर्ष तीन दलको बैठकमा सहमति जुट्न भने सकेन । बैठकबाट बाहिरिँदै एमाले नेता भीम रावलले एमालेले संशोधन प्रस्ताव कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताए । ‘सरकारले प्रस्ताव ल्यायो भने देश विखण्डन हुन्छ । राष्ट्रियताको हिसाबले, अखण्डताको हिसाबले पनि यो संशोधन प्रस्ताव स्वीकार गर्न सकिँदैन,’ उनले भने ।नेता रावलले चुनाव गराउने बेला सरकारले अनावश्यक रुपमा संशोधनको बखेडा झिकेको आरोप लगाए । संविधान संशोधन स्वीकार गर्न नमानेपछि प्रधानमन्त्री दाहालले बैठकमा एमाले नेताहरुले अहंकार प्रस्तुत गरेको बताएका थिए । ‘नेपाली कांग्रेस, मधेसवादी दल सबैले यो कुरा मानिरहँदा एमालेले किन बखेडा झिकिरहेको छ ?,’ प्रधानमन्त्रीले भनेका थिए । नेता रावलले भने, ‘यो अहंकार कसरी हुन्छ ? यो चार बुँदे संशोधन प्रस्तावलाई मधेसवादी दलले पनि मान्दैनौ भनिरहेका छन् । यसअघि पनि संशोधन प्रस्ताव दर्ता भएकै हो । त्यति बेला कांग्रेस र माओवादीले संशोधन प्रस्ताव दर्ता भए समस्या समाधान हुन्छ भनेका थिए ।’ यसअघि संशोधन गर्दा पनि समस्या समाधान नभएको र अहिले पनि समस्या समाधान नहुने उनको तर्क थियो ।

रावलले आफूहरुले पटक–पटक प्रधानमन्त्रीलाई संशोधन प्रस्ताव दर्ता नगराउन भनेर सुझाव दिएको र त्यो आए विरोध गरिने बताए । बैठकमा प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, ने.क.पा. (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, एमालेबाट माधवकुमार नेपाल, बामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, वर्षामान पुन लगायतका नेताहरु सहभागी थिए ।