ऐतिहासिक काष्ठमण्डप र त्यस वरपरका अन्य मन्दिरका जगको बारेमा थप अनुसन्धान गरिने (छापाबाट)


भूकम्पका कारण भत्किएको काठमाडौं वसन्तपुरस्थित ऐतिहासिक काष्ठमण्डप र त्यस वरपरका अन्य मन्दिरका जगको बारेमा थप अनुसन्धान गरिने भएको छ। बेलायतको दुरहम विश्वविद्यालयका प्राध्यापक रोविन कोनिनघमको नेतृत्वमा विभिन्न विषयका विज्ञ सम्मिलित टोलीले थप उत्खनन र अनुसन्धान थाल्ने भएको छ ।  आजको गोरखापत्र दैनिकमा खबर छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार परिसरमा रहेको काष्ठमण्डपको यसअघि गरेको उत्खनन र अुनसन्धानले वसन्तपुर क्षेत्रको लिच्छवि कालभन्दा पनि पूर्वको इतिहास पत्ता लगेको दाबी गरिएको छ ।

उत्खननले ऐतिहासिक मन्दिर र सत्तलको विकास क्रमबद्धता र निर्माण शैलीबारे पनि थप तथ्य पत्ता लागेको प्राध्यापक कोनिनघमको दाबी छ । यसअघि काठमण्डप निर्माण भएको मितिबारे नयाँ तथ्य फेलापरेको थियो । त्यस्तै सो मण्डपको मध्य भागमा रहेका काठका तीनवटा थामका आधारमा राखिएका ठूला ढुङ्गा पहिचान भए पनि उत्तर–पूर्वमा रहेको ढुङ्गा अझै भेटिएको छैन। यसपटकको उत्खननमा उक्त जगमा रहेको आधार ढुङ्गाको खोजी गरिने उनले भने । उक्त तथ्य पत्ता लागेमा अबको पुनर्निर्माणलाई कसरी भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भन्ने आधार पनि तय हुने उनको दाबी छ ।

दुरहाम विश्वविद्यालयका आर्कियोलोजिकल, एथिक्स र प्राक्टिस इन कल्चरल हेरिटेजका अध्यक्षसमेत रहनुभएका कोनिनघमले उत्खनन कार्यमा संस्कृत भाषा विज्ञ, इन्जिनियर, आर्किटेक्चर, माटो विशेषज्ञ लगायतका विज्ञ आइसकेको जानकारी दिए । उनले भूकम्पपछिको पुनर्निर्माण पूर्व भत्किएका ऐतिहासिक सम्पदाको विस्तृत उत्खनन र अनुसन्धान अत्यन्तै जरुरी भए पनि त्यसका लागि आवश्यक बजेट नजुटेको उनको भनाइ थियो ।

थप उत्खननका लागि दुरहाम विश्वविद्यालय, ह्युमानिटिज, रिसर्च काउन्सिल ग्लोबल च्यालेन्ज रिसर्च फन्ड र नेसनल जोग्राफी सोसाइटी कन्जरभेसन ट्रस्टबाट आर्थिक सहयोग जुटाइएको बताए । प्राध्यापक कोनिनघमकै टोलीले माजुदेगः, जैसीदेगः, गोपीनाथ, जगन्नाथ मन्दिरको पनि उत्खनन गर्ने बताएको छ । यसपटक करिब छ सातामा उत्खननको कार्य सक्ने प्राध्यापक कोनिनघमले बताए ।