पत्रकार न्यौपानेको निधन


कारोबार दैनिकका पूर्व सम्पादक सञ्जय न्यौपानेको निधन भएको छ । मस्तिष्क स्नायु प्रणालीसम्बन्धी रोगबाट पीडित न्यौपानेको उपचारका क्रममा शनिबार बेलुकी सवा ७ बजे नेपाल क्यान्सर अस्पताल ललितपुरमा ४५ वर्षको उमेरमा निधन भएको हो ।

आर्थिक पत्रकार समाजका पूर्व उपाध्यक्ष न्यौपाने एक दसकभन्दा बढी समय कान्तिपुर दैनिकमा कार्यरत थिए । न्यौपाने एक वर्षयता ‘एनाप्लास्टिक एस्ट्रोसिटोमा’ भनेर चिनिने स्नायु प्रणालीसम्बन्धी रोगबाट पीडित थिए । उनको भारतको हरियाणास्थित मेदान्त अस्पतालमा उपचार भइरहेको थियो । गते विजयादशमीको दिन (असोज २५) मा एकाएक घरमै बेहोस भएपछि न्यौपानेलाई थप उपचारको लागि मेदान्त लगिएको थियो ।

मेदान्तमा स्वास्थ्यमा सुधार देखिएपछि उनलाई नेपाल ल्याइएको थियो । स्वास्थ्यमा पुन: समस्या देखिएपछि उनलाई नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । न्यौपानेको शनिबार राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारिक स्रोतले जनाएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।