एमाले शीर्ष नेताहरुले भने–‘औचित्य पुष्टि गरे संविधान संशोधनमा सहयोग गर्छौं’ (छापाबाट)


औचित्य पुष्टि गरे ,संविधान संशोधन प्रस्तावमा सहयोग गर्न सक्ने संकेत नेकपा एमालेका शीर्ष नेताहरुले गरेका छन् ।

एमाले दुई नम्बर प्रदेश कमिटीले बिहीवार विजया दशमी, ईद, दीपावली र छठ पर्वको अवसरमा यहाँ आयोजन गरेको चियापान समारोहलाई सम्बोधन गर्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा महासचिव ईश्वर पोखरेलको एउटै बोली थियो– ‘कुनै पक्षले संविधान संशोधन किन गर्नुपर्ने हो, यस विषयमा प्रष्ट पारेका छैनन् । तर औचित्य पुष्टि गरे संविधान संशोधनमा एमाले अवरोध गर्ने छैन ।’

एमाले शीर्ष नेताहरुले संविधान सभाद्वारा जारी नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताएका थिए । ९० प्रतिशतभन्दा अधिकको समर्थनमा जारी संविधानलाई अधुरो भन्नु उचित नभएको तर्क एमाले वरिष्ठ नेता माधव नेपालको थियो भने अर्का वरिष्ठ नेता झलनाथ खनालले संविधानको विशेषता गनाउँदै भने, ‘यो लोकतान्त्रिक, देशभक्तिपूर्ण, प्रगतिशील तथा समाजवाद उन्मुख संविधान हो । यसमा खोट निकाल्नु अनुचित हो ।’

मुलुकमा राजनीतिक आन्दोलनको युग समाप्त भईसकेको बताउँदै वरीष्ठ नेता नेपालले राजनीतिक दलहरुलाई मुलुकको आर्थिक उन्नति कसरी होला भन्ने विषयलाई मुख्य लक्ष्य बनाउन आग्रह गरे । मधेस केन्द्रित दलहरुलाई लक्षित गर्दै उनले भने, ‘चित्त नबुझेका विषयमा छलफल गरौं । सहमतिमा पुगौं तर अनावश्यक बखेडा झिकेर समस्या खडा नगरौं ।’

आफ्नो राजनीतिक जीवनको प्रारम्भ धनुषा जिल्लाबाटै गरेका नेपाल तथा महासचिव ईश्वर पोखरेलले मैथिली भाषामा सम्बोधन शुरु गर्दा दर्शकले ताली बजाएर समर्थन गरेका थिए ।

एमाले महासचिव पोखरेलले एमाले मधेस र मधेसीको सच्चा साथी भएको दाबी गर्दै प्रान्तीय व्यवस्थामा क्षेत्रनम्बर दुईका नागरिकले बोल्ने मैथिली, भोजपुरी भाषालाई संवैधानिक मान्यता दिलाउन एमाले प्रतिवद्ध रहने बताए ।

ठुलै प्रचार प्रसार तथा तामझामा साथ आयोजन गरिएको चियापान समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली समेत सहभागी हुने बताइएपनि उनि कार्यक्रममा सहभागी भएनन् । तर  पार्टीका दोश्रो तहका नेताहरु उपमहासचिव घनश्याम भुषाल, सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, योगेश भट्टराईसंगै पोलिटब्युरो सदस्यहरु रामप्रीत पासवान, वंशीधर मिश्र, शत्रुघ्न महतो तथा दुई नम्बर प्रदेशका संयोजकसमेत रहेका सत्यनारायण मण्डलसहितका दर्जनौं केन्द्रिय नेताहरु भने कार्यक्रममा सहभागी थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।