मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने उपेन्द्रको चेतावनी


काठमाण्डौ-  छठसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अवसर भएको भन्दै त्यतिवेलासम्म संविधान संशोधन नभए मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलेचेतावनी दिएका छन् ।

 राजधानीमा आयोजित साक्षात्कारमा यादवले मोर्चाले अहिले नै सरकारलाई कुनै अल्टिमेटम नदिएको दाबी गरे । उनले भने ‘हामीले सरकारलाई अल्मिटेम दिएका छैनौं, प्रधानमन्त्री स्वयंले नै संविधान संशोधनको लागि म्याद तोक्ने काम गर्नुभएको छ, हामीले तोकेका छैनौं, तर छठसम्म पनि उहाँले गर्नुभएन भने हामी गठबन्धनको बैठक बसेर यसबारेमा निर्णय गर्छौं ।’

यादवले प्रधानमन्त्रीले संविधान संशोधन गर्छु भनेर धेरैपटक मिति घोषणा गरेपनि अहिलेसम्म संशोधन प्रक्रिया नै अघि नबढाएकोले यसपटक भने छठ अन्तिम मिति होस् भन्ने कामना समेत गरे । यादवले भने, ‘बकबक बोलेर मात्रै हुँदैन, उहाँले बोले बमोजिम छठ अब अन्तिम मिति होस्, राज्यले यो मौका नगुमाओस्, हामीले मुलुकलाई निकास दिनको लागि नै तीन बुँदे सम्झौता गरेका थियौं ।’

यादवले मधेसी मोर्चासँग कांग्रेस र नेकपा माओवादी केन्द्रले गरेको तीन बुँदे सम्झौता अहिलेसम्म पूरा नभएको गुनासो पोखे । उनले सरकारले अहिलेसम्म मन्त्रिपरिषदको बैठकबाट गर्न सक्ने सामान्य काम समेत नगरेको आरोप लगाए ।