कार्कीको म्याद तामेली प्रक्रियामा अवरोध गरेको आरोप लागेका कर्मचारी पोलापोल गर्दै (छापाबाट)


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको म्याद तामेली प्रक्रियामा अवरोध गरेको आरोप लागेका तीन कर्मचारीहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन् । प्रशासनले उठाएको टिप्पणीका आधारमा कारबाहीको प्रस्तावमा परेका सर्वोच्च अदालतका तामेल्दार शम्भुबहादुर खत्री, काठमाडौं महानगरपालिकाकी वडा सचिव सरिता राई र वडाका नासु भेषराज अर्याल आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।

सर्वोच्च अदालतमा उनीहरुले पेश गरेको लिखित जवाफमा एकले अर्कालाई आरोप लगाएका छन् । महानगरपालिकाको १० नम्बर वडा सचिव सरिता राईले तामेलदार खत्रीका कारण असोज १९ गते म्याद तामेल हुन नसकेको जनाएकी छन् भने नासु अर्यालले आफूलाई म्याद तामेलीबारे अख्तियारी नै नदिइएको दावी गरेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

तामेल्दार खत्रीले भने वडा सचिवले तालिम र वृद्धभत्ता वितरणमा आफूलाई व्यस्त देखाएकाले जिम्मेवारी अनुसार काम सम्पन्न हुन नसकेको जवाफ दिएका छन् । तीनजनाले छुट्टाछुट्टै बुझाएको प्रतिवेदन हेर्दा उनीहरुबीच आ–आफ्ना दावी मेल खाँदैनन् । उनीहरुले कारबाहीबाट जोगिन एक अर्कालाई जिम्मेवार ठहर्‍याएका छन् । म्याद तामेलीमा असहयोग गरी न्याय सम्पादन प्रक्रिया अवरुद्ध पार्न खोजेको आरोपमा सर्वोच्च अदालतले तीन जनालाई १ हजार रुपैयाँ जरिबाना र १५ दिन कैद प्रस्ताव गरेको थियो । उनीहरुले आफ्नो प्रतिरक्षाका लागि एक साताको समय पाएका थिए ।

वडा सचिव सरिता राईले असोज १९ गते पतिको नियमित स्वास्थ्य परिक्षणका लागि ग्राण्डी अस्पताल जानु परेको र सोही दिन महानगरले आयोजना गरेको तालिममा पनि सहभागी भएको जिकीर गरेकी छन् ।

‘नासु भेषराज अर्याललाई सम्पर्क गरी म्याद तामेल सम्बन्धी कार्यमा आवश्यक सहयोग गर्नु भनी जानकारी गराएँ’ राईले पठाएको प्रतिउत्तरमा भनिएको छ । राईले आफ्नो कार्यालयको नासु भेषराज अर्याल म्याद तामेलीका लागि घरसम्म पुगेको, त्यसक्रममा स्थानीय अवरोधले तामेल हुन नसकेको जिकीर गरेकी छन् । तर, लोकमानका घरमा समाचार संकलनका क्रममा पुगेका पत्रकार कसैले पनि दशैंअघिको म्याद तामेलीको क्रममा स्थानीय बासिन्दाको अवरोध देखेका थिएनन् । सचिव राईले ‘म्याद तामेल गर्न आएको टोली नै तामेल नगरी भोली गरौंला भनी फर्केपछि वडाका कर्मचारी पनि खासै भूमिका नभएकाले फर्केको,’ उल्लेख गरेकी छन् ।

तर, महानगरका नासु अर्यालले भने आफूले प्रयास गर्दा समेत राईसँग सम्पर्क हुन नसकेको जवाफ लेखेका छन् । जबकि, राईले भेषराजलाई फोन नगरी म्याद तामेलीमा सहयोग गर्न निर्देशन दिएको प्रतिउत्तर लेखेकी थिइन । नासुले उनको भनाईको खण्डन गरेका हुन् ।

‘राईको अनुपस्थितीमा कार्यालयको काम गर्न र अन्य कुनै विषयमा रोहवरमा बस्न मलाई निर्देशन दिनुभएको थिएन’ उनले लेखेको प्रतिउत्तरपत्रमा भनिएको छ, ‘वडा कार्यालयमा आएका सर्वोच्च अदालतका कर्मचारीहरुबाट म्याद तामेलीको जानकारी पाएपछि राईलाई फोन सम्पर्क हुन सकेन ।’ सर्वोच्चकै कर्मचारीको निर्देशनमा पछिमात्रै राईले फोन गरी निर्देशन दिएको बताएका छन् ।

नासु अर्यालले म्याद तामेलीका क्रममा सर्वोच्चका तामेल्दार खत्रीलाई पनि दोषी देखाएका छन् । अर्यालको प्रतिउत्तरपत्र अनुसार, कार्कीको घरमा गएपछि भीड भएकाले म्याद तामेल गर्ने अवस्था थिएन । ‘तामेल्दार खत्रीले नै आज काम गर्न सकिने अवस्था छैन, तपाई जान सक्नुहुन्छ । तामेली सम्बन्धी काम भोली गरौला भनेकाले फर्केको हुँ’ अर्यालको लिखित जवाफमा भनिएको छ ।

तामेल्दार खत्रीले असोज १९ गते म्याद तामेली नहुनुमा वडा सचिव राईलाई दोषी देखाएका छन् । ‘सचिव पनि तालिममा भएको, दशै आएको र कार्यालय विदा हुने दिन नजिक रहेको र वृद्ध भत्ता वितरण लगायतका काममा व्यस्त छु म पनि बुझ्छु, तपाईले बुझ्नु भन्नेसम्मको कुरा भयो,’ खत्रीको प्रतिउत्तरमा भनिएको छ ।

लोकमानसिंह कार्कीको घर पत्ता लागेपनि उनी टंगालस्थित सरकारी निवासमा बसेको र घटस्थापना विदा भइसकेकाले म्याद तामेल हुन नसकेको खत्रीको जिकिर छ । तामेल्दार खत्रीले आफूले २० वर्षभन्दा बढी काम गरेको, इमान्दारीतापूवर्क भूमिका निभाएको र हालसम्म कुनै गल्ती नगरेको भन्दै १२ बुँदामा आफ्नो प्रतिरक्षा गरेका छन् । पहिलो म्याद तामेलीका क्रममा वडा कार्यालयले ‘म्यादवाला उक्त घरमा नबस्ने भनी’ प्रतिवेदन दिएको र त्यसकै आधारमा आफू फर्केको जिकिर गरेका छन् ।

आ–आफ्नो प्रतिरक्षाका क्रममा तीनजनाले नै आफूमाथि कारबाहीको प्रस्तावमा विमति जनाउँदै आफू दोषी नभएको विवरण पेश गरेका छन् । वडा सचिव राईले आफ्नो कारणले म्याद तामेलीमा अवरोध नभएको जिकिर गरेकी छन् भने नासु अर्यालले अदालतका तामेल्दार खत्रीलाई नै दोषी देखाएका छन् ।

खत्रीले भने वडा सचिव राईका कारण आफूले म्याद तामेल गर्न नसकेको जिकिर गरेका छन् । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तको योग्यतासम्बन्धी मुद्दाको पुनरावलोकनको आदेशसँगै सर्वोच्च अदालतले कार्कीलाई म्याद तामेल गर्नुपर्ने थियो ।

उनको बानेश्वरस्थित घरमा म्याद तामेलका क्रममा वडा सचिव राई सहितका ३ कर्मचारी विवादमा परी कारबाहीको प्रस्तावमा परेका हुन् । उनीहरुको लिखित जवाफका आधारमा सर्वोच्च अदालतले कारबाहीबारे निर्णय गर्नेछ ।