लापरबाहीले अंगभंग भए लाइसेन्स खारेज (छापाबाट)


भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालकको लापरबाहीका कारण मानिसको मृत्यु वा अंगभंग भए चालकको लाइसेन्स खारेज गर्ने कानुनी व्यवस्थाको तयारी गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरी चालकलाई आफ्नो पेसाप्रति जिम्मेवार र उत्तरदायी बनाउन यस्तो व्यवस्थाको तयारी गरेको मन्त्रालयले जनाएको छ ।

यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन प्रस्ताव गरी मन्त्रालयमा पठाएको एक उच्च अधिकारीले बताए । ‘संशोधनका लागि मस्यौदा पठाइएको छ,’ ती अधिकारीले भने, ‘विभिन्न निकायसँग छलफल जारी छ, सदनमा चाँडै पठाइन्छ होला ।’ संसदबाट पारित भए उक्त प्रस्ताव ऐनमा परिवर्तन हुनेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

संशोधनको मस्यौदामा व्यावसायिक र गैरव्यावसायिक गरी दुई किसिमका लाइसेन्स व्यवस्था गरिएको छ । व्यक्तिगत प्रयोजनका लागि गैरव्यावसायिक लाइसेन्स लिनुपर्ने छ ।

त्यसैगरी सार्वजनिक सवारी चालकले व्यावसायिक लाइसेन्स प्राप्त गर्नेछन् । यस्तै २० वर्षभन्दा बढी सञ्चालन भइसकेको गाडीको दर्ता हेरफेर तथा नामसारी गरिने छैन । एउटै चालकले लामो दूरीसम्म गाडी चलाउन नपाउने प्रस्तावसमेत गरिएको छ ।

सवारी साधनमा मालसामान राखे, मालवाहक सवारी साधनले यात्रु बोके, निजी सवारी साधनले भाडाका यात्रु बोके दर्ता खारेज गरिनेछ । त्यसका साथै सिट संख्याभन्दा बढी यात्रु बोके चालकमाथि कारबाही गरिनेछ ।

ठूला गाडीको लाइसेन्स लिन २५ वर्ष उमेर हुनुपर्ने छ । यसअघि २१ वर्ष पुगेको व्यक्ति लाइसेन्सका लागि योग्य मानिन्थ्यो । साना तथा मझौला गाडीको लाइसेन्स लिन २१ वर्षको उमेर हुनुपर्ने छ । यस्तै मोटरसाइकल तथा दुईपाङग्रे गाडीको लाइसेन्स लिन १८ वर्ष उमेर तोकिएको छ ।

यसअघि १६ वर्ष पुगेको व्यक्ति लाइसेन्सका लागि योग्य मानिन्थ्यो । एक पटक लाइसेन्स लिइसकेको व्यक्तिले अर्को लाइसेन्स लिन लिखित परीक्षा दिनुपर्ने छैन । लाइसेन्स परीक्षामा असफल भएका व्यक्तिले पुन: परीक्षा लागि ३ महिनासम्म पर्खनु नपर्ने र एक महिनामै पुन: परीक्षा दिन पाइने व्यवस्था पनि संशोधन प्रस्तावमा गरिएको छ ।

लाइसेन्सको म्याद ५ वर्षको सट्टा १० वर्षको हुने र त्यसपछि लाइसेन्स नवीकरण गर्नुपर्ने उल्लेख छ । रुट इजाजत नलिएको बाटोमा सवारी चलाए, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गरे, मादक पदार्थ सेवन गरी दुई वा दुईभन्दा बढी पटक सजाय भए लाइसेन्स निलम्बन गर्न सकिने प्रस्ताव गरिएको छ ।