बाहुनको छोराले बंगुर पाल्यो भनेर हेपिएका बराल आजका करोडपति


– बसन्त रानाभाट

जीवनमा दुख कठिनाई त आईहाल्छन् तर यसलाई सामाना गरेर अगाडि बढ्न सक्ने हो भने सफलता हासिल गर्न सकिन्छ भन्ने एक सफल उदाहरण हुन् पोखराका एक ब्यबसायी चन्द्रकान्त बराल। सात जना दाजुभाई पोखरा नजिकैको गाउँ पुम्दीभुम्दीमा रहेको दुई सय रोपनी जग्गा कृषि बिकास बैंकमा धितो राखेर बरालले ३६ बर्ष अगाडि एक लाख ५० हजार रुपैयाँ ऋण लिएर ब्यबसाय सुरु गरेका थिए।

सबै दाजुभाईले बाँडीचुडी खाने जग्गा धितो राखेर बंगुर पाल्न थालेका बराललाई कम्ता आपत परेन बाहुनको छोराले बंगुर पालेको भनेर समाजको आलोचना मात्र हैन कामदार पाउँन पनि मुश्किल पर्यो। उता बंगुर पनि भटाभट मरे ब्यबसाय डुब्यो,एक लाख रुपैयाँ त चुर्लुङ्ग डुबाए। बिक्रम संबत् २०३७ साल ताका यति ठुलो रुपैयाँ जोखिममा राखेर ब्यबसाय गरेका बरालले लाख रुपैयाँ डुबाए पछि दाजुभाईले समेत जग्गा फर्केनेमा आशै गुमाएका थिए। तर पनि बरालले हिम्मत गुमाएनन्  समस्या र चुनौतीको डटेर सामाना गरे।

भ्याक्सिन नपाउँदा बंगुर सखाप:-

पशु सेवा कार्यालयमा तालिम लिएर ग्रामिण कार्यकर्ताको अनुभव बटुलेका बरालले एउटा बंगुरका पाठा बेचेर २ सय ५० रुपैयाँ सम्म कमाउँने सपना बोकेका थिए। बर्षमा दुई पटक सम्म बंगुर उत्पादन हुने र एक पटकमा १८ देखि २२ बटा सम्म पाठा जन्मने हुँदा बरालको परिवारमा पनि ठुलो आशा थियो। तर जन्मेका पाठा भकाभक मर्न थाले पछि सबै आशा निराशामा बदलियो।

भ्याक्सिन नहुँदा बंगुरमा लाग्ने स्वाईन फिबर (हाल भनिने स्वाईन फ्लू) रोगले सबै आशालाई निराशामा बदलिएको बराल बताउँछन्। “बंगुरले पाठा त जन्माए तर कमाउँन सकिएन,त्यतिबेला बंगुरमा लगाउँने भ्याक्सिन नहुँदा मेरो सपना मात्र हैन परिबारको भविष्य नै संकटमा पर्यो तर गर्ने आशा भने मरेन” उनले भने।

kukhura-picsबैंकको ऋण एकातिर अर्को तर्फ समाजको नजरमा बंगुर पालेर धर्म गुमाएको भन्दै आलोचना बराल ठुलो चपेटोमामा परे पछि घर जान समेत बिस्तारै कम गरेका थिए। पोखरामा नै खोलिएको सानो फिड ईन्डष्ट्रिजमा र पछि मिलन फिडमा बरालले जागिर खाए।

मेहनत गरे सफलता पाईन्छ नै:-

बैङ्कले कालोसूचीमा राख्ने गरेको तयारी,ब्यबसाय चुर्लुङ् डुबेको बेला, घर परिबारले समेत बिश्वास कम गर्दै गरेको बेला अनि समाजले हेर्ने दृष्टिकोण नै परिबर्तन भएको बेला पनि बरालले हिम्मत हारेनन्। आत्मबिश्वासका साथ घर भाँडामा लिएर कुखुरा पाल्न सुरु गरेको स्मरण गर्छन्।

सुरुवातमा रोग लागेर कुखुरा पनि मरे तर काममा मेहेनत गर्न छाडिन त्यसैले सफलता मिल्यो बराल बताउँछन्। कुखुराका लागि दाना आबश्यक देखे पछि दाना बेच्न तर्फ ध्यान गयो, त्यस्तै ठुला बनाएर बेच्नु परे पछि मासु पनि बेच्नु पर्छ भन्ने सोच राक्दा बरालको आर्थिक पाटो झनै मजबुत बन्दै गयो।

हाल आएर पशुपक्षीको दानाका लागि पोखरा बिरौटामा “बराल फिड ईन्डष्ट्रिज” निकै चर्चित छ। पोखरा -२५ पुम्दीभुम्दी सिरवानी स्थायी घर भएका बरालले आफ्नै पुर्खौली जग्गामा हिल प्वाईन्ट पोल्ट्री फार्म खोल्दै १६ हजार कुखुरा पाल्दै आएका छन्। चाईनाबाट प्राबिधिक ल्याएर तयार गरिएको सेमिअटोमेटिक सिस्टमबाट बोईलर कुखुरा पालन गरिरहेका छन्। ७ महिनाको अबधिमा ८० हजार भन्दा बढी कुखुरा उत्पादन गरेका बरालले मनग्य नाफा समेत लिईसकेका छन्।

छोरा सुर्य प्रसाद बराल
छोरा सुर्य प्रसाद बराल

अबको ३ महिनाको अबधिमा ३ करोड रुपैयाँ लगानी गर्दै फुल्ली अटोमेटिक सिस्टमबाट थप १६ हजार कुखुरा थप्ने बरालको लक्ष्य रहेको छ। यो सँगै ३० हजार क्षमतामा हिल प्वाईन्ट पोल्ट्री फार्मले कुखुरा पाल्ने तयारी गरिरहेको ब्यबसायी बरालका छोरा सुर्य प्रसाद बराल बताउँछन्। उनले अमेरिका,युरोप लगायत एसियाका केहि मुलुकहरु पुगेर अवलोकन गरेर नेपालमा नै नयाँ प्रयोगका साथ बोईलर कुखुरामा फुल्ली अटोमेटिक सिस्टम भित्राउँन लागेको दाबी गर्छन्। यस्तै ऊँ चावो विरो फिड फिड ईन्डष्ट्रिज (पोशाक दाना उत्पादन उद्योग) मा पनि बरालको लगानी रहेको छ भने फेवा मिट प्रोडक्ट लगायत बिभिन्न क्षेत्रमा सफलता हासिल गरेका छन्।

बाहुनको छोराले बंगुर पाल्यो भनेर हेपिएका बराल आजका करोडपति 

हिजोका दिनहरुमा बाहुनको छोराले बंगुर पाल्यो भनेर हेपिएका बराल आज भने करोड पति बनेका छन्। बिभिन्न क्षेत्रबाट गरी उनले बर्षमा २ करोड रुपैयाँसम्म कमाउँने गरेको बताउँछन्। ३ दशक अघि बैंकमा जग्गा धितो राखेर ब्यबसाय सुरु गरेका उनि आज भने करौडौका मालिक बनेका छन्।

हिल प्वाईन्ट पोल्ट्री फार्म
हिल प्वाईन्ट पोल्ट्री फार्म

बराल बताउँछन्,” जीवनमा मेहनत गर्न छोड्नु हुन्न,काम गर्दै जाँदा सुरुमा आलोचना पनि हुन्छ तर कामलाई निरन्तरता दिईरहनु पर्छ।” बंगुर पालेर ब्यबसाय सुरु गर्दा कतिपय ठाउँमा सुन पानिले चोखाएर मात्र भित्र पस्न दिने गरेको घटना पनि स्मरण गर्छन्। तर बराल भन्छन्,”सबै भन्दा ठुलो कुरा काम हो,कामलाई सम्मान गर्ने हो भने नेपालमा नै करौडौ कमाउँन सकिन्छ।”