पुम्दीकोट नयाँ पर्यटकिय गन्तव्य बन्दै


पोखरा– पोखरा उपमहानगरपालिका २५ पुम्दीभुम्दी स्थित पुम्दीकोटमा शिब भगवानको विशाल मुर्ती बन्ने भएको छ ।पोखरा उपत्यका सहित हिमाली श्रृङखला प्रष्ट देख्न सकिने उत्कृष्ट भ्यू प्वाइन्टको रुपमा शिव भगवानको १०८ फिट अग्लो मुर्ती बनाउन लागिएको हो ।

पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किलोमिटर दक्षिण पश्चिममा पर्ने पुम्दीकोटलाई बिशेष पर्यटकिय क्षेत्र बनाउने योजना अनुसार मुर्ती स्थापना गर्न लागिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पुम्दीकोट बिशाल महादेव मुर्ति निर्माण, उपभोक्ता एवम् पर्यटन प्रबद्र्धन समितिले पुम्दीकोटको पर्यटक प्रबद्र्धनका लागि आगामी पाँच बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २१ करोडको योजना अघि सारेको छ ।

समितिका संयोजक चन्द्रकान्त बरालले महादेवको मूर्ति सहित शहिद स्मृति पार्क आगामी दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने र त्यसको लागि मात्रै ५ करोड २५ लाख खर्च अनुमान गरिएको बताए ।

पुम्दीकोटको झण्डै १७ रोपनी जमिन मध्ये १२ रोपनीमा भ्यू टावर, शिवको मुर्ती, शहिद स्मृति पार्क, आकर्षक वाटर फाउण्टेन, बहुउद्देश्यिय भवन, बगैचा लगायतका संरचना निर्माण गर्ने योजना छ । जमिन अनुसार यी सम्पूर्ण संरचनाको डिजाइन ड्रिम डेभलपर्स कन्सल्टेन्सीले बनाएको छ ।

मुर्तीसम्म पुग्नको लागि अपाङ्गमैत्री मार्ग समेतको डिजाइन गरिएको छ । सो स्थानमा झण्डै दुई सय मोटरसाइकल अट्न सक्ने पार्किङ समेत रहनेछ ।

यो योजनाको लागि चालु आर्थिक बर्षमा पर्यटन मन्त्रालयबाट २० लाख रुपैया मात्रै विनियोजन भएको छ । अन्य रकम अन्य सरकारी निकाय, स्थानिय स्तरमा रहेका विभिन्न संघसंस्था, स्थानियवासी, विदेशमा रहेका नेपालीहरु लगायतबाट संकलन गरिने समितिले जनाएको छ । ‘यस कार्यको लागि सरकारी तथा निजी क्षेत्र सबै पक्षबाट सहयोग जुट्ने आशा गरेका छौ ’, संयोजक बरालले भने ‘स्थानियवासीबाट मात्रै झण्डै डेढ करोड संकलनको लक्ष्य छ ।’

आर्थिक संकलनको लागि छिट्टै महायज्ञ समेत आयोजना गर्ने समितिको योजना छ । मंसिरको पहिलो साता भित्र शिबको मुर्ती र स्मृति पार्कको शिलान्यास गर्ने बरालले जानकारी दिए । यो योजनामा २५ लाख भन्दा बढी सहयोग गर्ने दाताको इच्छा अनुसार अर्धकदको शालिक समेत राखिने समितिले जनाएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले सहयोग संकलनको लागि आफुले पनि पहल गर्ने प्रतिबद्धता जनाए । पोखरामा रहेका सरकारी निकाय र पर्यटन संग सम्बन्धित संघ संस्थालाई सहयोगको लागि आफुले अपिल गर्ने उनले बताए । बरालले पोखरा आएका पर्यटकको वसाइ लम्ब्याउनको लागि पनि आसपासको क्षेत्रमा पर्यटकिय पूर्वाधार निर्माण हुनुपर्ने बताए ।

समुन्द्र सतहदेखि झण्डै १५ सय मिटरको उचाइमा रहेको पुम्दीकोटमा दृष्यावलोकनको लागि यसअघि टावर निर्माण गरिसकिएको छ । जहाबाट फेवाताल, हिमश्रृङखला , पोखरा उपत्यका प्रष्ट देख्न सकिन्छ ।

विश्वशान्ति स्तुपा पुग्ने पर्यटकलाई पुम्दीकोटसम्म पुर्याउने योजना अनुसार पूर्वाधार विकासको कामलाई तिब्रता दिने समितिको लक्ष्य छ । प्रचारप्रसार र प्रबद्र्धनको अभावमा उत्कृष्ट दृष्यावलोकन स्थल भएरपनि छाँयामा रहेको पुम्दीकोटलाई पोखराको आकर्षक स्थल बनाउने माओबादी केन्द्रका नेता रामजी बरालले बताए ।

हाल पोखरा आउने पर्यटकको लागि दृष्याबलोकन स्थलको रुपमा सराङकोट लगिदै आएको छ । पुम्दीकोटको प्रबद्र्धन गर्न सकेमा अझ उत्कृष्ट दृष्य देख्न सकिने स्थानियको विश्वास छ । प्रबद्र्धनको अभावमा एकाध पर्यटक मात्रै पुग्ने पुम्दीकोटमा एक पटक पुगेका पर्यटक पुन फर्कि फर्कि जाने गरेका छन् । पुम्दीकोट पुग्ने पर्यटकको लागि खाने, बस्ने र आवतजावतको लागि सहज सडक ब्यवस्था भए पर्यटक पुर्याउन सकिने उनीहरुको ठहर छ ।

सराङकोटमा सम्पूर्ण पर्यटकिय पूर्वाधार तयार भएकाले पनि पर्यटकको सहज आवतजावत हुने गरेको तर पुम्दीकोटमा पर्यटकिय पूर्वाधार नहुदा पर्यटन पठाउन नसकिएको पर्यटन ब्यवसायीले बताए ।