पर्यटनको समस्या समाधानको लागी ब्यबसायीले नै लबिङ बढाउन जरुरी छ: क्षेत्रीय प्रशासक बराल


कृष्ण रानाभाट/पोखरा ।

क्षेत्रीय प्रशासन कार्यालय पोखराका क्षेत्रीय प्रशासक खगराज बरालले कुनै पनि क्षेत्रमा देखिएको समस्या समाधानको लागि अनवरत रुपमा लागि रहनु पर्ने वताएका छन् । बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अबसरमा पर्यटन यातायात समितिले शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा क्षेत्रिय प्रशासक वरालले सो वताएका हुन्। शिक्षा विभागमा रहदाँको अनुभव सुनाउँदै जबसम्म पर्यटन व्यवसायी आफ्ना क्षेत्रका समस्या लिएर अनवरत रुपमा लबिङ गरिदैनन्, तबसम्म समस्या ज्युँका त्युँ रहने वताए ।

उनले जनताहरु रोड देख्ने बित्तिकै घर बनाउने, बाटो देख्ने बित्तिकै बस चलाउने र नेताहरु संसदमा लाने ऐनहरु एकै पटक लगे हुनेमा किस्तावन्दीमा लैजाने हाम्रो गलत प्रवृतिको सिकार सबै हुनु परेको वताए ।

पर्यटन व्यवसायीहरुलाई उनले भने, ‘तपाईंहरुको कृयाशिलता नै समस्या समाधानको माध्यम हुन सक्छ।’ पुरानो ऐन नियमहरुमा कारण धेरै समस्या देखिएका छन्, त्यसको लागि पनि प्रविधि मैत्री परिमार्जित ऐन आवश्यक रहेको उनको भनाई थियो ।
राष्ट्रिय पर्यटन परिषद्का सदस्य एवं अग्रज पर्यटन ब्यबसायी बासुदेब त्रीपाठीले पर्यटन उद्योग भनेको असिमीत हुन्छ, कुनै सिमाभित्र गरिने उद्योग नभएकोले राज्यले पर्यटन यातायात ऐन र सवारी ऐनमा दोहोरो अर्थ लाग्ने नियम हटाउनु पर्ने, आन्तरिक र बाह्य पर्यटकहरुको परिभाषा सबैले बुझ्ने किसिमको हुनुपर्ने वताए ।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चिरञ्जीवी पोख्रेलले पर्यटन ब्यबसायीहरु र सरकारी निकायका बीच बिगतमा भएका सम्झौताहरुको कार्यान्वयनका हुन नसकेको बारेमा प्रष्ट पार्नुपर्ने बताउँदै पर्यटक बसपार्क निजि क्षेत्रलाई ठेक्कामा दिई कुनै पनि ठोस उपलब्धि नभएकोमा आपत्ति जनाएका थिए ।

समितिका अध्यक्ष बोबरजंग गुरुङले पर्यटन यातायातमा देखिएका समसामयिक समस्याहरुको बारेमा बोल्दै सवारी तथा यातायात ऐनमा भएका हरियो प्लेटको पहिचान नमेट्न, पर्यटन गाडी मुस्ताङ जाँदा लिनु पर्ने जांच पासको औचित्य नभएकोले खारेज गर्नुपर्ने, बिरेठाँटी हुँदै घान्द्रुकजाँदा समस्या आएको, औषधोपचारको लागि प्रीमियम बढाउन सकिने, पर्यटक बसपार्क, पार्किङ, चुङ्गिकर लगायतका समस्या औल्याएका थिए ।

गण्डकी यातायात ब्यबस्था कार्यालयका शाखा अधिकृत डम्बरबहादुर चन्दले मुस्ताङलगाएत यातायातको क्षेत्रमा भएका धेरै समस्याहरु सुधार भइसकेको बताए । समितिका अध्यक्ष बोबरजङ गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव नवराज अधिकारीले, उपाध्यक्ष रमेशबहादुर खत्रीले धन्यवाद ज्ञापन र निबर्तमान अध्यक्ष मन्धरा ढकालले स्वागत गरेकी थिईन ।