बैदाम तामाङ्ग सेवा समाजको साधारण सभा सम्पन्न


बैदाम तामाङ्ग सेवा समाज पोखराको पाँचौ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । समाजका अध्यक्ष ज्याक तामाङ्गको अध्यक्षतामा साधारण सभामा सम्पन्न भएको हो । साधारण सभामा संस्थाका सचिव राजु तामाङ्गले गत वर्ष सम्पन्न गरेका विभिन्न गतिविधि समेटेको प्रतिवेदन तथा सहकोषाध्यक्ष रजनी लामाले आय व्ययको विवरण प्रस्तुत गरेका थिए ।

सो समाजले पोखराको पर्यटकीय स्थल लेकसाइडको खहरेमा निमार्ण गरेको अमिताभ बुद्धको गुम्बा परिसरमा सम्पन्न गरेको कार्यक्रममा नयाँ सदस्यहरुलाई संस्थामा स्वागत पनि गरिएको थियो । कार्यक्रममा प्रमूख अतिथि नेपाल तामाङ्ग घेदुङ्ग प्रदेश नं ४ का प्रमूख दिपक वाइवा तामाङ्गले तामाङ्ग जातिको इतिहासका बारेमा प्रकाश पारेका थिए । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष तामाङ्गले आफ्ना समुदायका युवाहरुलाई जातीय हितमा मात्र केन्द्रित नभइकन राष्ट्र निमार्णप्रति पनि जागरुक हुन आग्रह गरेका थिए । सोही अवसरमा बैदाम तामाङ्ग आमा समूहका अध्यक्ष कान्छी तामाङ्ग, बैदाम तामाङ्ग युवा समाजका अध्यक्ष जेसिका तामाङ्ग, आयोजक संस्थाका उपाध्यक्ष छेवाङ्ग दोर्जे लामा र मिस तामाङ्ग पोखरा २०१६ का विजेता निमा तामाङ्गले मन्तव्य राखेका थिए ।
कार्यक्रममा मिस तामाङ्ग पोखरा २०१६ का सहभागीहरुको तर्फबाट विजेता निमा तामाङ्गले आयोजक संस्थाका अध्यक्ष ज्याक तामाङ्गलाई सम्मान पत्र प्रदान गरेका थिए । विगत पाँच वर्ष अगाडि तामाङ्गहरुको धर्म, रीतिरिवाज र संस्कृति जर्गेना गर्ने उद्देश्यले लेकसाइड वरपर बसोबास गर्ने तामाङ्गहरुलाई समेटेर सो संस्था गठन भएको अध्यक्ष तामाङ्गले बताएका छन् । समाजले लेकसाइड खहरेमा बुद्ध गुम्बाको निमार्ण गर्ने कार्यलाई विगत केही समयदेखि अगाडि बढाउदै आएको थियो । हाल सो ठाँउमा २८ फिट अग्लो अमिताभ बुद्धको मुर्ति निमार्ण सम्पन्न भइसकेको र गुम्बामा अन्य निमार्णका कार्यहरु जारी रहेका छन् । पोखराको पर्यटकीय र धार्मिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएर संस्थाले गुम्बा निमार्ण गरेको जनाएको छ ।

साधारण सभाको अवसरमा संस्थाका उपाध्यक्ष छेवाङ्ग दोर्जे लामाको अध्यक्षतामा गुम्बाका लागि लामा समूह पनि गठन गरिएको छ । त्यसैगरी सो संस्थाले एसएलसी परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान, विभिन्न महोत्सवहरुमा जातीय पहिचान सहित सहभागिता, ल्होसार म्युजिकल फेस्टिभल, मिस तामाङ्ग पोखरा प्रतियोगिता तथा तामाङ्ग युवाहरुलाई प्रशिक्षण लगायतका कार्यहरु सम्पन्न गरेको बताइएको छ । आगामी दिनमा संस्थाको सदस्यता विस्तार गर्ने, गुम्बा प्रचारको लागि धार्मिक तपस्वी रामबहादुर बम्जनलाई ल्याउने, विदेशी संघसंस्थासँग समन्वय गर्ने, विगतका कार्यक्रमहरुलाई निरन्तरता दिने जस्ता लक्ष्य लिइएको साधरण सभामा जानकारी दिइएको थियो । img_9037 img_9086 img_9095 img_9109