पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पालिखे बिजयी


-सन्देश श्रेष्ठ
पोखरा । पोखरा उद्योग वाणिज्य संघमा विश्वशंकर पालिखे प्यानलले बर्चस्व जमाएको छ । पालिखे प्यानलले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उद्योगको उपाध्यक्ष, महासचिवसहित ८ सदस्य जितेको हो ।

देव क्षेत्री प्यानलबाट उप महासचिव पद र २ सदस्य तथा वाणिज्य तर्फको उपाध्यक्षमा एकल उमेद्वारी दिएकी विन्दु कोइराला सुवेदी बिजयी भए । आइतबार अबेर राती सम्पन्न संघको ३१ औं महाधिवेशनबाट विश्वशंकर पालिखे अध्यक्षमा निर्वाचित भए ।

अध्यक्षका ५ जना प्रतिष्पर्धीलाई उछिन्दै पालिखे निर्वाचित भएका हुन् । उनी निकटतम् प्रतिद्वन्द्वी देव क्षेत्रीलाई १५५ मतले पछि पार्दै बिजयी भए । निर्वाचित पालिखेले ९ सय ५५ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी क्षेत्रीले ८ सय मत प्राप्त गरे ।

अध्यक्षका अर्का प्रत्यासी नारायण कोइरालाले ४ सय ११ मत प्राप्त गरेर तेश्रो स्थानमा रहे भने महिला उमेद्वार हिरा भट्टराईले १ सय ६३ मत प्राप्त गर्दै चौथो, इश्वर कर्माचार्यले १ सय २३ मत प्राप्त गर्दै पाचौं र धनीराम वरालले ४४ मत प्राप्त गर्दै सबैभन्दा पछि परे ।

बरिष्ठ उपाध्यक्षमा पालिखे प्यानलका रबिन्द्रबहादुर प्रजुले मिनराज काफ्लेलाई ४ सय १४ मतले पछि पार्दै बिजयी भए । बिजयी प्रजुले १ हजार ४ सय ५४ मत प्राप्त गरे भने पराजित काफ्लेले १ हजार ४० मत प्राप्त गरे । उपाध्यक्ष उद्योग तर्फ पालिखे प्यानलका गोकर्ण कार्कीले सिता गुरुङलाई मात्र १ मतले पछि पार्दै बिजयी भए ।

कार्कीले १ हजार २ सय ४१ मात प्राप्त गरे भने गुरुङले १ हजार २ सय ४० मत प्राप्त गरिन् । एक मतको मात्रै फरक परेपछि गुरुङले पुनः मतगणनाको माग गरेपछि उपाध्यक्ष उद्योग तर्फ पुनः मतगणना गरिएको थियो ।

उपाध्यक्ष वाणिज्य तर्फ एकल उमेद्वारी दिएकी विन्दु कोइराला सुवेदीले पालिखे र क्षेत्री प्यानलका दुई प्रतिष्पर्धीलाई उछिन्दै बिजयी भईन् । सुवेदीले ९ सय ६२ मत प्राप्त गरिन् भने निकटतम् प्रतिद्वन्द्वी पालिखे प्यानलका केदारनाथ भट्टराईले ८ सय २८ र क्षेत्री प्यानलका सुरेश अधिकारीले ६ सय ९० मत प्राप्त गरे ।

महासचिवमा पालिखे प्यानलका दामु अधिकारीले प्रतिद्वन्द्वी लक्ष्मी क्षेत्री पाण्डेलाई ३ सय २४ मतले पछि बिजयी भए । बिजयी अधिकारीले १ हजार ४ सय १२ मत प्राप्त गरे भने पराजित पाण्डेले १ हजार ८० मत प्राप्त गरे । पराजित पाण्डे नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष समेत हुन् भने बिजयी अधिकारी एमाले निकट हुन् । यो पदमा कांग्रेस र एमालेले प्रतिष्ठाकै विषय बनाएको थियो ।

कोषाध्यक्षमा पालिखे प्यानलका पवनकुमार प्रजापति भारी मतले बिजयी भए । पदाधिकारी तथा सदस्य मध्ये सबैभन्दा पपुलर मत प्राप्त गरेका प्रजापतिले प्रतिद्वन्द्वी क्षेत्र प्यानलका जनकराज पराजुलीलाई ६ सय १० मतको सर्बाधिक फराकिलो अन्तरले पराजित गरे । विजयी प्रजापतिले १ हजार ५ सय ८५ मत प्राप्त गर्दा पराजित पराजुलीले ९ सय ७५ मत प्राप्त गरे ।

उपमहासचिवमा क्षेत्री प्यानलका अर्जुन पोखरेलले पालिखे प्यानलका नविनराज वराललाई १ सय ७ म्ातले पछि पार्दै बिजयी भए । पोखरेलले १ हजार ९८ मत प्राप्त गरे भने अर्यालले ९ सय ९१ मत प्राप्त गरे ।

शनिबार सम्पन्न निर्वाचनमा पदाधिकारीमा २ हजार ५ सय १३ मत खसेको थियो । उद्योग वाणिज्य संघमा २ हजार ७ सय ४९ मतदाता मध्ये साधारण २ हजार ६ सय २७, उद्योग ४५, कर्पोरेट ५४ र वस्तुगत २३ सदस्य छन् ।

यसैबीच, अध्यक्षसहित सबैलाई आइतबार राती नै सफत खुवाइएको छ । निर्वाचन समितिका संयोजक दीपक श्रेष्ठले नवनिर्वाचित अध्यक्ष पालिखेलाई र अध्यक्ष पालिखेले उपाध्यक्षसहित सबै सदस्यलाई सफत खुवाएका थिए ।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले ३ जना सदस्य मनोनयन गरेको छ । ४ जना सदस्य मनोनयन गर्ने अधिकार भएपनि समितिको पहिलो बैठकले एक सदस्य पछि थप्नेगरी ३ सदस्य मनोनयन गरेको हो । नवनिर्वाचित अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा बसेको बैठकले हिरामणि पण्डित, प्रकाशदेव पालिखे र चन्द्रबहादुर सुनारलाई चयन गरेको हो ।

यसैबीच, नवनिर्वाचित अध्यक्ष विश्वशंकर पालिखेले पराजितसहित सबै पक्षलाई मिलाएर लैजाने बताएका छन् । सपथ खाएलगत्तै मतदातालाई धन्यवाद दिने क्रममा पालिखेले निर्वाचनमा जो जता भएर चुनाव लडेपनि चुनाव सकिएसँगै रिस राग र प्रतिष्पर्धा सकिएको घोषणा गरे । उनले १२ वर्षअघि आफू पराजित भएपनि पुनः सदस्य हुँदै संघर्ष गरेर आफ्नो कर्मले अहिले आएर जित्न सकेको बताए ।

img_1520‘१२ वर्षमा खोला र्फकन्छ भन्ने सुनेको थिएँ, आज आएर मलाई यो हो कि जस्तो लागेको छ, मैले यो १२ वर्षमा आफ्नो कर्मले मतदाताको मन जिते, अब म मतदाताले सुम्पिएको जिम्मेवारी पूरा गर्ने धर्म निभाउँछु,’ उनले भने, ‘समस्या परेको खण्डमा मेरो संस्था पोखरा उद्योग वाणिज्य संघ छ है भन्ने बनाउँछु ।’

सामाजिक अभियन्ता समेत रहेका नवनिर्वाचित अध्यक्ष पालिखेले पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माण गरिनुपर्छ भनेर लडेको स्मरण गर्दै अब यसको सुनिश्चितताका लागि लड्ने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि पराजित उमेद्वार सहभागि भएर बिजेतालाई बधाई दिने प्रचलन भएपनि अध्यक्षका पराजित उमेद्वार हिरा भट्टराई बाहेक अन्य उपस्थित भएनन् । कार्यक्रममा अध्यक्षका निकटतम प्रतिद्वन्द्वी देव क्षेत्रीलाई मन्तव्यका लागि निर्वाचन समितिले बोलाएपनि उनी उपस्थित नभएपछि अर्का पराजित उमेद्वार हिरा भट्टराईले मन्तव्य राख्नु परेको थियो ।

सो क्रममा भट्टराईले नेतृत्वका लागि सबल र सक्षम पालिखे नै भएको बताउँदै मतदाताले सहि निर्णय गरेर पालिखेलाई बिजयी गराएको भन्दै बधाई दिए । उनले अर्को कार्यकालका लागि फेरी अध्यक्षमा उमेद्वारी दिने घोषणा पनि गरिन् ।

निवर्तमान अध्यक्ष विन्दुकुमार थापाले नवनिर्वाचित अध्यक्ष पालिखेसहित सबै टिमलाई बधाई दिदै नयाँ टिमलाई आफ्नो पूर्ण सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाए ।