स्विटजरल्याण्डमा होटल म्यानेजमन्ट पढ्ने ? ख्याल गर्नोस्, ठगीएला नि !


अर्जुन बस्ताकोटी, डा. विनय श्रेष्ठ, स्विटजरल्याण्ड

स्विटजरल्याण्डका नेपालीहरुको ४५ वर्षे इतिहासमा यहाँको नेपाली समाजको उल्लेख्य अंशका रूपमा नेपाली विद्यार्थीहरु रहेका छन् । स्विटजरल्याण्डमा विज्ञान, प्रविधि, वाणिज्य, प्रशासन, होटल व्यवस्थापन, आतिथ्य-सत्कार व्यवस्थापन र अन्य विषयहरुमा अध्ययन गर्न नेपाली विद्यार्थीहरु आउने गरेका छन् । तिमध्ये अधिकांश विद्यार्थीहरु होटल म्यानेजमन्ट र आतित्थ सत्कार अध्ययन गर्न आउँछन् ।

स्विटजरल्याण्डको प्रत्यक्ष प्रजातान्त्रिक शासन प्रणाली, स्विस चकलेट र घडी विश्वप्रख्यात छन्। स्विस गुणस्तर र पङ्चुवालिटी स्विसहरुले गर्व गर्ने विषयहरु हुन्। स्विटजरल्याण्डका मनोरम सुन्दर दृष्यहरुको प्रसिद्धिले गर्दा धेरैले जीवनमा एक पटक स्विटजरल्याण्ड भ्रमण गर्ने मनोकांक्षा राख्दछन्। स्विटजरल्याण्डले आफ्ना पर्यटकीय स्थलहरुको विश्वव्यापी रुपमा प्रभावकारी मार्केटिङ गरेको पाईन्छ।

यहाँको स्तरिय र महंगो पर्यटन क्षेत्रको माग पुरा गर्न होटल र आतिथ्य-सत्कार व्यवस्थापनमा उच्च तालिम प्राप्त दक्ष जनशक्ति उत्पादन गर्नु स्विटजरल्याण्डको आवश्यकता हो। यस क्षेत्रमा पनि स्विस गुणस्तर एक ब्र्याण्ड कै रुपमा विकसित छ। त्यसैले बर्सेनी संसारभरबाट यी विषयहरुमा तालिम लिन र अध्ययन गर्न हजारौंको संख्यामा विद्यार्थीहरु स्विटजरल्याण्ड आउँछन्।

स्विस अर्थतन्त्र र पर्यटन क्षेत्र

स्विटजरल्याण्डको अर्थतन्त्रमा पर्यटकीय क्षेत्रको महत्त्वपूर्ण योगदान छ। एक तथ्याङ्कका अनुसार सन २०१४ मा स्विस पर्यटनबाट ३८.५ बिलियन स्विस फ्र्याङ्क (फ्र्याङ्क र अमेरिकन डलरको मूल्य उस्तै छ) राजस्व उठ्यो। लगभग ८० लाख जनसंख्या भएको स्विटजरल्याण्डमा २ लाख १० हजार जना पर्यटन क्षेत्रमा कार्यरत छन्।

पर्यटन क्षेत्रलाई टेवा पु‍र्‍याउने होटल र रेष्टुरेन्टहरुको यहाँ विशाल सञ्जाल छ। स्विस पर्यटनको संरचना तथा पूर्वाधार विभागका अनुसार स्विटजरल्याण्डमा २८ ८५५ रेष्टुरेन्टहरु र ५१२९ होटलहरु संचालित छन्। जुन यहाँको पर्यटनको रक्तसंचार हो । स्वीस पर्यटनको राष्ट्रिय महत्त्व र अन्तर्राष्ट्रिय ख्यातिका कारण होटल म्यानेजमन्ट सम्बन्धि विषयमा ज्ञान हासिल गर्न चाहनेहरुका लागि स्विटजरल्याण्ड एक उत्कृष्ट गन्तब्य हो।

स्विटजरल्याण्डमा हासिल गरिने कार्य कुशलता

स्विटजरल्याण्डमा अध्ययन र काम गर्दा सिकिने सबैभन्दा महत्त्वपूर्ण विषय भनेको यहाँको कार्यशैली, कार्यपद्धति र कामकाजी संस्कृति हो। जागिरमा ठिक समयमा पुग्ने र तोकिएको समयमा सक्ने संस्कृति स्विस जीवनको एक चर्चायोग्य पाटो हो।

डा. विनय श्रेष्ठ,
डा. विनय श्रेष्ठ,

बाबुआमा बिरामी भएर अस्पताल भर्ना हुँदा बरु छोरा-छोरी समयमै भेटन जान नसक्लान् तर आफ्नो पेशामा स्विस नागरिकहरु ज्यादै कर्तव्यनिष्ठ हुन्छन्। अझ प्रष्ट रूपमा भन्दा, हामीले टेबुल पुछ्दा केवल टेबुल पुछ्छौं, तर स्विसहरु टेबुल टल्काउँछन्। हामी खाना खाने काँटा-चम्चा सफा गर्छौं, स्विसहरु चम्काउँछन्। हरेक पेशामा व्यवसायिकता र ग्राहक-केन्द्रित सेवा यहाँको विशेषता हो।

अध्ययनका अवसरहरु, अध्यापन भाषा र खर्च

स्विटजरल्याण्डमा होटल र आतित्थ सत्कारका विषयमा अध्ययनका लागि प्रशस्त अवसरहरु छन्। अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि निजी क्षेत्रबाट संचालित थुप्रै कलेजहरु छन्। ति कलेजहरुमा अंग्रेजी भाषामा अध्यापन गराईन्छ। मुख्यत: डिप्लोमा, स्नातक र स्नातकोत्तर स्तरका कोर्षहरु संचालनमा छन्।

डिप्लोमा लिने तालिम पुरा गर्न १ वर्ष, स्नातक स्तरको कोर्ष पुरा गर्न ३ वर्ष र स्नातकोत्तरको लागि १ वा २ वर्ष लाग्दछ। अध्ययन अवधिको ५० प्रतिशत समय सैद्धान्तिक शिक्षा हासिल र ५० प्रतिशत समय चाहिँ व्यवहारिक ज्ञानका लागि ईन्टर्नसीप गर्नु पर्दछ। विद्यार्थीको व्यक्तित्व, अंग्रेजी वा स्थानिय भाषाको दखल र पेशागत अनुभवका आधारमा ईन्टर्नसीप प्राप्त गर्न सहज वा कठिन हुन सक्दछ।

imageतिनै गुणहरुका आधारमा कमाई पनि न्यून वा सन्तोषजनक हुन सक्दछ। चलनचल्तिअनुसार ईन्टर्नसीप गर्दा मासिक १ हजारदेखि २ हजार स्विस फ्र्याङ्कसम्म जिविकोपार्जनका लागि कमाई हुन सक्छ। तर ईन्टर्नसीप गर्ने ठाउँ कै समिपमा कोठा भाडामा लिनु पर्दा खर्चिलो हुन सक्छ। अध्ययनको समयमा प्राय: विद्यार्थीहरु कलेज कै होस्टलमा बस्ने र त्यहीँ खानपिन गर्ने हुँदा बसाई, खानपिन र पढाई खर्च एकमुष्ट बुझाउनु पर्ने हुन्छ। कलेज अवस्थित रहेको ठाउँ, कोर्षको स्तर र अन्य विविध पक्षहरुका आधारमा कलेजहरुले अध्ययन शुःल्क तोकेका हुन्छन्।

तीन वर्षे स्नातक स्तरको कोर्षका लागि लगभग ५० हजार देखि ७० हजार स्विस फ्र्याङ्क र एक वर्षे स्नातकोत्तर स्तरको कोर्षका लागि १८ देखि ६४ हजार स्विस फ्र्याङ्कसम्म लाग्दछ। त्यसबाहेक विद्यार्थीहरुले यातायात, लुगाफाटो, मनोरन्जन र पकेट खर्चका लागि पनि जोहो गर्नु पर्दछ। समग्रमा ख्याल राख्नु पर्ने कुरा, स्विटजरल्याण्डमा होटल र आतिथ्य सत्कार व्यवस्थापनको अध्ययन ज्यादै खर्चिलो छ।

खर्चको समस्या र कानूनी जटिलता

अधिकांश नेपाली विद्यार्थीहरु ईन्टर्नशिपको कमाईले अध्ययन शुःल्क तिर्ने र अध्ययनपश्चात् स्विटजरल्याण्ड मै काम गर्ने योजना बनाएर आउने गरेको पाईन्छ। अध्ययन सक्नु अगावै सोचे अनुसारको कमाई नहुनाले केही विद्यार्थीहरु अध्ययन शुःल्क तिर्न नसकी अन्य राष्ट्रहरु (पोर्चुगल, स्पेन आदि) मा गैर-कानूनी रुपमा पलायन भएको पनि देखिएको छ।

त्यसैगरी अध्ययनपश्चात् स्विटजरल्याण्ड मै काम गर्न पनि कानुनी समस्याहरु छन्। अध्ययन सफलतापूर्वक पुरा गरे पनि स्विटजरल्याण्डमा ‘काम गर्ने अनुमति-पत्र’ र ‘बसोबास गर्ने अनुमति-पत्र’ सजिलै पाईंदैन। जसले गर्दा अधिकांश नेपाली विद्यार्थीहरु अध्ययनपश्चात् नेपाल फर्किन वा अन्य तेस्रो राष्ट्र जान बाध्य हुन्छन्। यही कानूनी जटिलता र खर्चको समस्याका कारण स्विटजरल्याण्डमा कयौं विद्यार्थीहरुले दु:ख पाएका छन्।

नक्कली र ठगी गर्ने कलेजदेखि सावधान

अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि संचालित अधिकांश कलेजहरु निजी क्षेत्रबाट संचालित छन्। एसियाली मूल कै केही मुनाफाखोरहरुले २-४ वटा कोठामा कलेज खोली वा ति कलेजहरुको एजेन्ट बनी नेपालबाट पनि विद्यार्थिहरु ल्याउने गरेका छन्। यस्ता कलेजहरुमा आउने विद्यार्थीहरू ठगीका कारण ज्यादै दयनिय अवस्थामा रहेका पाईएको छ।

एकातर्फ महंगो तर निम्न स्तरको र त्यो पनि अनियमित अध्यापन, अर्कोतर्फ कामको खोजीमा आईपर्ने भाषागत एवं कानूनी बाधा-अडचन र त्यसमाथि यहाँको खर्चिलो बसाई। समस्याहरुले धुरुक्कै बनाउँछ। त्यसैले यस्ता नक्कली र ठगी गर्ने कलेज र एजेन्टदेखि सबै सावधान रहनुपर्छ ।

यसबारे थप जानकारीका लागि स्विटजरल्याण्डको शिक्षा पद्धतिका बारे डा. विनय श्रेष्ठद्वारा लिखित “यस्तो छ स्विटजरल्याण्डमा उच्चशिक्षाको नालीबेली” मा पढ्न सकिन्छ ।

निचोड

स्विटजरल्याण्डमा होटल र आतिथ्य सत्कार व्यवस्थापन अध्ययनका लागि प्रशस्त अवसरहरु भए पनि अध्ययन शुःल्क ज्यादै महंगो र बसाई खर्चिलो भएको वास्तविकता बिर्सनु हुँदैन।

वास्तव मै यस क्षेत्रमा करिअर बनाउने र स्थापित हुने आकांक्षा भएका र अध्ययनावधिको खर्च धान्न सक्नेहरुका लागि स्विटजरल्याण्ड अवश्य पनि एक उत्तम गन्तब्य हो। कानूनी समस्याहरुका कारण अध्ययनपश्चात् स्विटजरल्याण्ड मै काम गर्ने अवसर पाउन एकदम मुस्किल छ।

स्विट्जरल्याण्डमा होटल र आतिथ्य सत्कार व्यवस्थापन अध्ययन गरेकाहरु नेपाल र नेपाल बाहिर पेशागत रुपमा स्थापित भएका थुप्रै उदाहरणहरु छन्। पेशागत लगाव, केही हासिल गर्ने उत्कट ईच्छा, अध्ययनमा उत्कृष्ट नतिजा र आवश्यकता अनुसारको भाषामा दखल भएमा अवश्य पनि नेपालमा वा नेपाल बाहिर पेशागत सफलता हात पर्छ नै।

तर युरोप छिर्नैको लागि मात्र स्विटजरल्याण्डमा होटल म्यानेजमन्ट सम्बन्धि कोर्षमा भर्ना हुँदा ठूलो धनराशी खर्च हुने र बसाई सोंचे जस्तो फलदायी नहुने देखिन्छ ।