स्याङजामा पहिरोमा पुरिएर चार जनाको मृत्यु


स्याङजा । स्याङजामा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । घरको अगाडिपट्टिको कोठामा सुतेका अन्य पाँचजना भने सकुशल छन्। स्याङजाको क्वरेभन्ज्याङ्ग गाविस ७ को उपल्लो ताप्केमा पहिरो जाँदा चन्द्रकला सारु मगर र उनको घरमा तीज मनाउन गएकाहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा चन्द्रकला सारु मगर, उनको घरमा तीज मनाउन गएका मल्याङ्गकोट ८ दार्सिङकी हुमकुमारी मस्याङदी, उनको ७ वर्षीया छोरी पुनम र ६ वर्षीय छोरा सुजनको मृत्यु भएको हो ।

क्वरेभन्ज्याङ्ग ७ उपल्लो ताप्केमा उनीहरूलाई आइतबार विहान २ बजे पहिरोले पुरेको थियो । घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरेका थिए । घटना र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।