चौधरीलाई देखाउँदै पन्तले भने:-“बिलिनियर हुनुहुन्छ,बोक्ने नेपाली पासपोर्ट नै हो”


गैर आबासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तले सिप, बिकास र क्षमता भयो भने नेपालमा नै बसेर पनि धेरै ठुलो प्रगती गर्न सकिने बताएका छन्। नेपालीहरुसँग शनिबार अमेरिकी शहर ड्यालसमा छलफलको क्रममा अरबपति बिनोद चौधरीलाई देखाउँदै उपाध्यक्ष पन्तले यस्तो बताएका हुन्।

पन्तले भने,” विनोद चौधरी दाजु नेपालको बिलिनियर हुनुहुन्छ, तर पनि उहाँले बोक्ने नेपाली पासपोर्ट हो,त्यो पासपोर्ट बोकेर हिड्दा उहाँ यति धनि मानिस हो भनेर निधारमा त लेखेको हुँदैन,तर सिप बिकास र क्षमता भयो भने नेपालमा नै बसेर धेरै गर्न सकिन्छ भन्ने यो ठुलो उदाहरण हो।

” पन्तले थप्दै भने,”म पनि विगत ८ – १० बर्षदेखि व्यापार-व्यवसाय मै छु। व्यापार-व्यवसायमा लागे पनि बिलिनियर बन्ने त्यस्तो कुनै सम्भावना देखिंदैन। उहाँबाट त्यो सफलताको सूत्र सुन्न म लालयित छु।”

१४ बर्ष अगाडि संसारभरमा छरिएर रहेका नेपाली दाजुभाई दिदिबहिनीहरुलाई एकत्रित गरेर नेपाललाई समृद्ध बनाउन गैर-आवासीय नेपाली संघको स्थापना भएको बताउँदै उनले यो अभियानमा अहिलेसम्म ७४ वटा देशहरुमा राष्ट्रिय समन्वय परिषदहरुको सञ्जाललाई विस्तार भईसकेको भन्दै खुशी ब्यक्त गरे।

पन्तले भने,”म आफैं पनि परोपकारी कार्यदलको अध्यक्षता गर्दछु। हामी सबैलाई थाहा छ, सामाजिक सेवाले मात्र देश बन्दैन। परोपकारी योजनाका लागि सधै साथीहरुलाई आर्थिक सहयोगका लागि हात थापेर देश बन्दैन। देश बनाउनका लागि लगानीको आवश्यकता पर्दछ। नेपाल राज्यले हामीलाई धेरै दिएको छ। त्यसैले अब देशका लागि हामीले केहि दिन सक्नु पर्छ।”

गैर-आवासीय नेपालीहरुलाई नागरिकताको अधिकारको लागि आँफूहरु लडेको स्मरण गर्दै उनले नेपालको संविधानमा लिपीबद्ध भएको तर ऐन नबन्दा सम्म दबाब जारी राख्नु पर्नेमा जोड दिए। देशका उर्जाशील युवा जमात दिनहुँ बाहिरि रहेको भन्दै पन्तले नेपालमा रोजगारीका अवसरहरु सृजना गरिनु पर्ने बताए।

यसैबीच कार्यक्रममा बोल्दै व्यबसायी विनोद चौधरीले अमेरिकामा वाइवाइ चाउचाउ उद्योग स्थापना गर्ने आफ्नो सपना रहेको बताए। छलफलको क्रममा सपनाले नै आफूलाई सफल बनाइरहेको भन्दै चौधरीले अमेरिकामा वाइवाइको उद्योग स्थापना गर्ने आफ्नो सपना सार्वजनिक गरे।