साइप्रस आउँने नेपालीहरुलाई यसरी ठगिन्छ


वसन्त रानाभाट, बार्सिलोना

नेपालमा रहेका  मेनपावर कम्पनीहरुले झुटो अाश्वासन दिदै साईप्रसका लागि नेपाली कामदार पठाउँने क्रममा मोटो रकम असुल्ने गरेका छन्। घरेलु काममा लागि साईप्रस आउँदा करिब ८० हजार रुपैयाँ खर्च हुने बताईए पनि  कामदारबाट ४- ५ लाख रुपैयाँ सम्म असुल गर्दै ठगी गरिएको पिडितहरुले बताएका छन्।

एक जना कामदारबाट असुल गरिने मोटो रकमलाई साईप्रस र नेपालमा रहेका एजेन्टहरुले बाँडेर लिने गरेको पिडितहरुको गुनासो रहेको छ। नेपालमा छदा युरोप काम गर्न जाने भन्दै लोभिएका नेपालीहरु साईप्रस आए पछि तोके अनुसार काम र तलब नपाउँदा भने हैरानी खेपी रहेका छन्। साईप्रसमा घरेलु कामका लागि नेपाली महिला कामदारहरु नै बढी आउँने गरेको निकोसिया स्थित कन्सुलर कार्यलयले जनाएको छ। साईप्रसमा हालसम्म करिब  ५ हजार नेपालीहरु रहेको बताईन्छ। जस मध्ये ९६  प्रतिशत घरेलु कामका लागि आएका महिला कामदारहरु छन् भने बाँकी बिद्यार्थीहरु तथा पुरष कामदार रहेको अनुमान छ।

साईप्रसमा नेपाली महिला कामदारको अबस्था

युरोपमा आएर कमाउँने सपना बोकेका नेपाली चेलीहरु साईप्रस आए पछि समस्यै समस्या झेलिरहेका छन्। साईप्रस स्थित कन्सुलर कार्यलयका अनुसार नै नेपालबाट आएका करिब ७० प्रतिशत कामदारहरुले सम्झौता अनुसारको सुबिधा पाउँने गरेका छैनन्।

रोजगारदाताहरुले कामदारलाई दिने मानसिक तनाब तथा शारीरिक दुर्ब्यबारका घटनाहरु पनि साईप्रसमा पटक पटक सार्बजनिक भएका छन्। घरेलु कामदारको रुपमा साईप्रस आएका सबै महिला कामदारहरु समस्यामा परेका छैनन् । तर रोजगार दाताहरु असल भएको घरमा काम गर्दै गरेका महिलाहरु मात्र सुरक्षित भएको बताईन्छ। तर यस्तो अबसर धेरै कमलाई मात्र मिलेको कामदार महिलाहरु बताउँछन्।

साईप्रसमा घरेलु कामदारको रुपमा आएका आप्रबासी धेरैलाई समस्या परेको पिडित महिलाहरु गुनासो छ। तर उनीहरु आफुँले भोगेको पीडालाई बाहिर सार्बजनिक गर्न चाहदैनन्।  महिलाहरुले भोग्न समस्याहरु मुख्यत: कन्ट्राक पेपरमा तोकिएको भन्दा बढी काम गर्नु पर्ने,बताईएको भन्दा कम तलब दिने,अतिरिक्त काम गरे बापतको रकम नपाउँने ,एउटा मात्र घरमा काम गर्नु पर्ने भनेर सम्झौता गर्ने तर २ – ३ बटा घरमा पनि काम गर्नु पर्ने रहेका छन्।

यस्तै कहिँले काहिँ घरको काम भनेर फिल्डमा समेत लैजाने,कतिपयले कामबाट छुट्टी नै नदिने,घरबाट बाहिर निस्कन र सम्पर्क गर्न समेत नदिई जेलमा राखे जस्तै ब्यबार गर्ने , करिब ३ – ४ महिना सम्म पनि तलब पाउँने हो या नपाउँने अनिश्चित जस्तै बन्ने वा थोरै दिने तलब पनि समयमा नदिने,रकम दिएँ पनि पुरा नदिने,एक बर्ष पुरा भएँ पछि प्राप्त गर्ने बोनसहरु नदिने जस्ता थुप्रै समस्याहरु नेपाली महिला कामदारहरु झेल्दै आएका छन्। पिडित कामदारहरुका अनुसार यी समस्याहरु त साईप्रसमा सबैका साझा समस्या बनिसकेका छन्।

केहि महिलाहरु यो भन्दा फरक र डर लाग्दो पिडाहरु भोगेका छन्। घर मालिक वा रोजगार दाताले शारीरिक दुर्ब्यबार गर्न खोज्नु र मानसिक तनाब दिनु। पटक पटक दुर्ब्यबार गर्नु वा दुर्ब्यबारको प्रयास गर्नु निकै जटिल समस्याको रुपमा हेरिएको छ। यस्तो समस्यामा परेका महिलाहरुलाई रोजगार दाताले जेल जस्तै गरि घरबाट बाहिर निस्कन वा कसै सँग सम्पर्क गर्न नदिने बताईन्छ।

कतिलाई त मोबाईल प्रयोग गर्नबाट बन्चित गर्नुले पनि घटना लामो समय सम्म बाहिर आउँन नसक्नुको कारण मानिन्छ। दुर्ब्यबारको प्रतिकार गर्न खोज्दा रोजगारदाताले कामदारलाई कुटपिट गर्ने,घाईते बनाउँने,त्रसाउँने जस्ता ब्यवार गर्ने गरेको बताईन्छ।

तर यस्तो पिडाबाट उम्केर आएका महिलाहरुले, घटनाहरु आँफु आँफु बीच बताउँने गरे पनि सामाजिक कारणले गर्दा बाहिर सार्बजनिक गर्न चाहादैनन्। घटना सार्बजनिक हुँदा घर परिबार,समाज,साथीभाईले हेर्ने दृष्टिकोणमा फरक आउँने उनीहरुमा डर रहँदै आएको छ।

आँफैसँग ठगी गरेको पैसा,आफ्नै हातले बुझाउँदा 

बिगत दुई बर्ष देखि साईप्रसमा घरमा काम गर्दै आएकी एक चेलीले ( नाम नखुलाईएको) आँफूलाई नेपालमा म्यानपावरले ठगी गरेको पैसा आँफैले बोकेर आएको बताईन्। सम्पूर्ण भिसा प्रकिया पुरा भए पछि आँफुसँगबाट ४ लाख ५० हजार रुपैयाँ म्यानपावरले असुलेको उनि बताउँछिन्।

एयरपोर्टमा वा कसैले सोधपुछ गरेमा जम्मा ८० रुपैयाँ खर्च लागेको भन्नु भन्दै बिल बनाईदिएको स्मरण गर्दै उनले भनिन्,”आउँने बेलामा एउटा लिफाफा साईप्रसको एजेन्टलाई दिनु भन्दै थमाएको थियो। त्यो भित्र त पैसा हुने रहेको छ।” म आँफैलाई  ठगेको पैसा मेरै हातले यताको एजेन्टलाई पनि बुझाए आखिर सबै कामदारलाई यस्तै पो गर्ने रहेछन्।”

“एक जना साथिको लिफाफा हराएछ उसलाई त ६ महिना सम्म तलव दिएन। त्यही भएर पो नेपाल मै भन्दा रहेछन् यो हरायो वा तल माथि केहिँ भयो भने, तलबबाट काट्छ है जतनले बुझाउनु होला भन्दै सम्झाएका रहेछन्” उनले रहस्य खोलिन्।

स्रोतका अनुसार कामदारको हवाई टिकट देखि सम्पूर्ण खर्च साईप्रसमा रहेका एजेन्टले रोजगारदाताबाट लिने गर्छन् भने नेपालबाट पनि प्रत्येक कामदारवाट २ हजार युरो सम्म साईप्रसको एजेन्सीले असुल्ने गरेको बताईन्छ। एउटा कामदारले बुझाउँने ४ देखि ५ लाख रुपैयाँ मध्येको बाँकी रकम भने नेपालमा रहेका म्यानपाबर कम्पनीहरुले लिने गरेको पिडितहरु बताउँछन्।

यसरी कामदार ल्याईन्छ साईप्रसमा,

साईप्रसमा नेपाली कामदार ल्याउँनका लागि साईप्रस र नेपाल तर्फ गरी दुवै तर्फ एजेन्सी वा म्यानपावर कम्पनीहरु रहेका छन्। एजेन्टहरुले रोजगार दाताहरुको (ईम्पोयर) खोजि गर्दै कामदार ल्याउँने प्रक्रिया सुरु गर्ने गर्छन्। निकोसिया स्थित नेपाली अबैतानिक बाणिज्य दूत डा. राम जीवन पन्जियारका अनुसार कन्ट्राक एग्रिमेन्ट,ग्यारेन्टी लेटर,डिमाण्ड लेटर र दुवै तर्फ रजिष्टेशन पुरा गरे पछि कन्सुलर कार्यलयमा कामदार मागपत्रमा छाप लगाउँन कागाजी प्रक्रिया सुरु हुन्छ।

कन्सुलर कार्यलयलाई  मागपत्र जाहेज लागेपछि मात्र स्वीकृतका लागि साईप्रसलाई हेर्ने नेपाली दुताबास ईजारायलमा फाईल पुग्ने डा.पन्जियार बताउँछन्। नेपाली दुताबास ईजरायलले स्वीकृत गरे पछि मात्र साईप्रसवाट एजेन्सीले नेपालको म्यानपावरलाई कामदार खोजेर भिसा प्रक्रिया गर्न अनुरोध गर्छन्। त्यस पछि भने नेपालमा युरोपको सपना देखाउँदै ठुला ठुला बिज्ञापन छापिने गरेको जानकारहरु बताउँछन्।

मेडिकल रिपोर्ट,पुलिस रिपोर्ट र अन्तरबार्ता, साईप्रस आउँनको लागि मुख्य आधार मानिन्छ। पछिल्लो क्रममा भने अंग्रेजी भाषालाई पनि प्राथमिकता दिईएको छ।

कन्सुलर कार्यालय के भन्छ ?

निकोसिया स्थित कन्सुलर कार्यालयका अबैतानिक बाणिज्य दुत डा. पन्जियार यी सबै समस्याको बिषयमा आँफू जानकार रहेको बताउँछन्। देशमा बेरोजगारीको अबस्था रहेकोले दुई चार पैसा भए पनि कमाउँने बाटो होस् भन्दै आफ्नै पहलमा साईप्रसमा घरेलु कामदार आउँने बाटो खोलेको स्मरण गरे। डा. पन्जियारले भने,”अहिले अबस्था निकै भयाबह बनेको छ,मैले श्रम र परराष्ट्र मन्त्रालयमा समस्या बारे जानकारी गराउँदै पत्र काटेको छु।”

उनले साईप्रसमा कामदार ल्याउँने प्रक्रिया बन्द गर्न सजिलो भएको बताए। “ ल्याउँने प्रकिया बन्द गर्न सजिलो छ तर फेरि खुलाउँन गाह्रो हुन्छ ,त्यसैले कसरी व्यस्थित गर्ने बारे सोच्न जरूरी छ।” नेपाल सरकारले चासो देखाएर ब्यबस्थित गर्न सके निकै कम शुल्क तिरेर कामदार आउँन सक्ने उनको दाबी छ।”

चेलीबेटीका थुप्रै समस्याहरु देखिए पछि आज भोलि निकै बिचार पुर्याएर मात्र माग पत्रलाई दुताबास पठाउँने गरेको उनले बताए। कतिपय अबस्थामा आँफुलाई समेत माग पत्रमा छाप लगाउँन दवाब आउँने गरेको बताउँदै त्यसो भएमा आँफुले प्रक्रिया नै रोकी दिने गरेको पनि दाबी गरे।

नेपाल र साईप्रसमा रहेका दुवै एजेन्सीहरुले चर्को रकम असुल्ने गरेको र यहाँ आए पछि ७० प्रतिशत भन्दा बढी कामदारहरुले सम्झौता अनुसारको काम नपाउँने गरेको समस्या डा. पन्जियारले स्विकार गरे।

नेपालमा के भनिएको हुन्छ साईप्रसको बारेमा ?

नेपालमा साईप्रसको सपना देखाउँने मेनपाबरले भने जस्तो यता आए पछि  पटक्कै नमिल्ने, काम गर्दै आएका महिलाहरु बताउँछन्। उनीहरु भन्छन् नेपाल र साईप्रस दुवै तिर एजेन्टले रकम असुल्छन। जे काम भनी पठाईएको हुन्छ त्यो काम वा बिबरण मिल्दैन।

नेपालमा जुन किसिमको काम,परिबारको बिबरण बताईन्छ यता आउँदा नमिल्ने गरेको पाईने उनीहरुको गुनासो रहेको छ। महिलाहरुको भनाई अनुसार ४ देखि ५ लाख रुपैयाँ सम्म खर्च गरेर आएका हुन्छन्। साईप्रस आईपुगेपछि, काम परिबर्तन गर्न होस् वा काम लगाउँन होस् एजेन्टहरुको महत्वपूर्ण हात रहेको हुन्छ।

पटक पटक कामदार परिबर्तन गर्ने,समयमा तलब नदिने, शारीरिक दुर्ब्यबार गर्ने रोजगारदाताहरुलाई पनि एजेन्टले पैसाको लोभमा पुन: कामदार पठाई दिदा यस्ता घटनाहरु पुन:दोहोरिने गरेको पिडितहरु बताउँछन्।

कतिपय एजेन्टको लापार्बाहीको कारण कामदारहरुको पासपोर्ट लगायत डकुमेन्टहरु हराईदिने गरेको पनि भेटिएको छ। बिना डकुमेन्टका कामदारहरुलाई ईमिग्रेसनले समातेर जेलमा राख्ने गरेको पनि पाईन्छ। यस्तो घटना नेपाली कामदारलाई समेत घटिसकेको छ। जेलबाट बाहिर निकाल्ने प्रकियामा धेरै रकम खर्च हुने पिडितहरु गुनासो रहेको छ।

दूताबासले के खबर गरेको छ सरकारलाई ? किन मौन छ निकाय ?

ईजारायल स्थित नेपाली दूताबास समेत साईप्रसमा भएका सबै घटनाहरु बारे प्रष्ट रुपमा जानकार छ। पिडितहरुले नेपाली दूताबासलाई कतै पत्र,ईमेल तथा फोन सम्पर्क मार्फत पनि गुनासो सुनाईरहेका छन्। तर सरकारी तवरबाट केहिँ पहल हुन सकेको छैन।

पिडितका अनुसार कन्सुलर र दुताबासबाट धमाधम कामदार लागी स्विकृत दिदा एजेन्सीहरु मोटाएका छन् भने पिडितका लागि भने समस्या को नै चाङ्ग नै बनेको छ। हजारौको संख्यामा साईप्रसमा आएको नेपाली चेलीहरुको समस्याको बारेमा नेपाल सरकार भने मौन रहेको उनीहरुको गुनासो रहेको छ।

यसैबीच दुताबासलाई पिडितले पठाएको एक पत्र नेपालीनेपाली डटकमले समेत प्राप्त गरेको छ।  पिडितले (केटा कामदार) आँफूलाई न्याय दिन अनुरोध गर्दै दुताबासलाई पत्र लेखेका छन्। उनले भनेका छन्,” म नेपालबाट हाउस ब्वाई र हाउस ड्राइभर भनेर ४ सय ५० युरो तलव भनेर यता आए। तर तलव यता ३ सय १५ युरो मात्र रहेछ,त्यति मात्र हैन घर मालिकले घरको काम दिएन,खेतीमा १२ घण्टा सम्म काम लगायो। काममा छुट्टी पाईन,खाना पनि राम्रो सँग दिएन। नेपालमा गौतम मेनपावरलाई ४ लाख ७० हजार रुपैयाँ तिरेर यता आए तर आज बिचल्लीमा परे।”

उनले १० दिन देखि बसपार्कमा सुतेर बिस्कुट खाएर दिन काटेको समेत पत्रमा उल्लेख गरेका छन्। तर हाल भने उनलाई साईप्रसमा रहेका एक बिद्यार्थीले ( नाम नखुलाईएको)  उद्दार गरेका छन्। पत्रको अन्त्यमा दुताबासलाई यो पनि लेखेका छन्,” अब पैसा मगाएर टिकट काटेर घर जाँदै छु न यताको एजेन्सी सुन्छ न नेपालको मेनपावर सुन्छ मेरो साह्रै बेजोग भयो।”

यस्तै सोही म्यानपावरबाट होटलको कामका लागि आएका अर्का पुरष नेपाली कामदार (नाम नखुलाईएको) पनि बिचिल्लीमा परेका छन्। पहिले होटलले १६ दिन सम्म राम्रै काम दिएको तर पछि अर्कै रेष्टुरेन्टमा लगे पछि धेरै गाह्रो र लामो ड्युटी परेको उनको गुनासो छ। आँफुसँगै काम गर्ने अर्का नेपालीले २ महिना देखि तलव नपाएको बताएपछि आँफु कामबाट भागेर नेपाल जाने तयारी गरेको उनले बताए।

एनआरएन साईप्रसका अध्यक्ष के भन्छन् ?

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसका अध्यक्ष सुबास मल्लले नेपाली महिलाहरुले थुप्रै समस्याहरु भोग्दै आएको बताउँछन्। साईप्रसमा महिलाहरु कामदारमाथि दुर्ब्यबारका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको अध्यक्ष मल्ल बताउँछन्।

अध्यक्ष मल्लका अनुसार करिब ६०- ७० बर्ष उमेर समुहका रोजगार दाता ( घरमालिक) ले घरेलु महिला कामदारलाई हात लगाउँने,कामदार सुतेको कोठामा गईदिने, दुर्ब्यबारको प्रयास गर्ने जस्ता घटनाहरु सार्बजनिक भई रहेका छन्।  सम्झौता पत्रमा ८ देखि १० घण्टा काम गर्ने भनिए पनि १८  घण्टा सम्म पनि काम गर्नु पर्ने बाध्यता रहेको भन्दै पिडितहरुले सुनाउँने गरेको मल्ल बताउँछन्।

एनआरएन साईप्रसका अध्यक्ष मल्ल भने,” हामीले धेरै दीदिबहिनीका समस्याहरु सुनिरहेका छौ,अब भने नेपाल सरकार यस बारे गम्भिर हुन जरुरी छ। चर्को शुल्क तिरेर साईप्रस आउँने अबस्थालाई रोख्नु पर्छ, कम शुल्कमा सुरक्षित बैदेशिक रोजगारको अबधारणा छिट्टै सरकारले ल्याओस्।”