पद्मश्री साहित्य पुरस्कारका लागि पाँच पुस्तक मनोनयनमा


खेमकला-हरिकला लामिछाने प्रतिष्ठानले विगत दश वर्षदेखि प्रदान गर्दै आएको पद्मश्री साहित्य पुरस्कारका लागि पाँच पुस्तक मनोनयनमा परेको छ । पुरस्कार तिनै पाँच मध्येबाट उत्कृष्ट ठहरिएको कृतिलाई प्रदान गरिने छ ।

प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले मंगलबार जारी गरेको बिज्ञप्ति अनुसार मनोनयमा परेका पुरस्तकहरुमा रामलाल जोशीद्वारा लिखित कथा संग्रह  ‘ऐना’, नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘चीरहरण’, कुमार नगरकोटीको उपन्यास ‘मिस्टिका’, गिरीश गिरीको गैरआख्यान ‘वीरगञ्ज’ र भूपिनको कविता संग्रह ‘सुप्लाको हवाईजहाज’ रहेका छन् ।

प्रतिष्ठानले गतवर्ष गरिएको निर्णय अनुसार पुरस्कारको लागि आवेदनसहित पुस्तक दर्ता गर्नु नपर्ने उल्लेख गर्दै पुरस्कृत हुने कृतिको अन्तिम निर्णय गर्नुअगाडि पहिलो चरणमा छनोट भएका पाँच उत्कृष्ट पुस्तकहरूको सूचि सार्वजनिक गरिएको हो ।

‘पहिलो निर्णयअनुसार प्रतिष्ठानले २०७२ सालमा प्रकाशित र प्राप्त भएसम्मका पुस्तकहरू सङ्कलन गरेको थियो । सङ्कलित पुस्तकहरूमध्येबाट विभिन्न विद्वानहरूको रायसल्लाहसमेतको आधारमा प्रतिष्ठानले पाँच उत्कृष्ट पुस्तक मनोनयन गरेको छ’ बिज्ञप्तिमा भनिएको छ ।

प्रारम्भिक छनौटमा परेका यिनै पाँच कृतिमध्येबाट विद्वान मूल्याङ्कनकर्ताहरूले उत्कृष्ट ठहराएको एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरिने पनि प्रतिष्ठनले जनाएको छ । – ईकान्तिपुर