कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट मानबहादुर घर्ती मगर पुरस्कृत


पोखरा । तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले आफ्नो बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिदै आएको कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७३ बाट पत्रकार मानबहादुर घर्ती(एमबी आस्था) मगरलाई पुरस्कृत गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीले वितरण गर्दै आएको उक्त पुरस्कार यसवर्ष एबीसी न्युज टेलिभिजनका पश्चिमाञ्चल व्युरो प्रमुख पत्रकार मानबहादुर घर्ती मगरलाई पुरस्कारदाता तमु धिं नेपालकी अध्यक्ष कर्म तमु र फोनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङले १० हजार रुपैया, सम्मानपत्र, भाङग्रा, फेटा, बुकेसहित खादाद्धारा पुरस्कृत गरिएको हो । विगत १७ बर्षदेखि पत्रकारिता मार्फत आदिवासी जनजाति क्षेत्रमा योगदान पुर्याएको भन्दै छनौट समितिको सिफारिसमा फोनिजले पुरस्कृत गर्ने निर्णय गरेको हो ।

विगत १७ वर्षदेखि पत्रकारितामा क्रियाशील घर्तीमगरले जनजाति मञ्च मासिकदेखि पत्रकारिता शुरु गरी, गगन दैनिकको सम्बाददाता, हिमचुली एमएमको समाचारबाचक तथा प्रस्तोता, सगरमाथा टेलिभिजनको सम्बाददाता हुदै हाल एवीसी न्युज टेलिभिजनको पश्चिमाञ्चल व्युरो प्रमुखको रुपमा कार्यरत छन । पुरस्कृत घर्ती मगर अनिज कास्कीका पुर्व सचिव, फोनिज कास्कीका वर्तमान सल्लाहकार, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्षको रुपमा क्रियाशील छन ।

कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७३ बाट पुरस्कृत पश्चात घर्ती मगरले पत्रकारिताका लागि थप प्रोत्साहन मिलेको बताए ।

प्रमुख अतिथि, पुरस्कारदाता कर्म तमुले पुरस्कृत घर्ती मगरलाई बधाई ज्ञपान गर्दै आदिवासी जनजाति पत्रकारहरुलाई प्रोत्साहनका लागि आफुले सानो पहल मात्रै गरेको बताउदै जनजाति पत्रकारहरु क्रियाशील बन्दै अघि बढे थप साथ सहयोग गर्ने चाहना रहेको बताइन ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्टले लगनशील भई कर्म गरे सबै पत्रकार सम्मानित हुने बताउदै पुरस्कृत घर्ती मगर र बैबाहिक ३६ वर्ष गाँठको अवसरमा कर्म तमुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्तीले साँचो अर्थमा पत्रकारहरुले विभेदमा पारिएका महसुस गरेकाहरुको आवाज बुलन्द गर्नुपर्नेमा उक्त भुमिका अहिलेका संचार माध्यमहरुले निर्वाह गर्न चुकेको आरोप लगाए ।

वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले बधाइ र शुभकामना व्यक्त गर्दै कर्म तमुसँग विद्यार्थी कालदेखि नै सहकार्य गर्दै आइरहेको जानकारी गराउँदै तमुको सामाजिक योगदान र पत्रकार घर्ती मगरको पत्रकारिता क्षेत्रको योगदानको प्रसंसा गरेका थिए ।

तत्कालिन अनिज कास्कीका संस्थापक अध्यक्ष तथा फोनिज कास्कीका सल्लाहकार अग्रज पत्रकार रुद्रबहादुर थापामगरले बधाई र शुभकामना व्यक्त गर्दै आदिवासी जनजाति पत्रकारको पहँुच बृद्धि नहुदा संचार माध्यमहरुमा आदिवासी जनजातिका समाचारले स्थान पाउन नसकेको बताए ।

उक्त पुरकारबाट पुरस्कृत हुने पत्रकार मानवहादुर घर्ती मगर पाँचौ हुन् । २०६९ सालमा रीता गुरुङ, २०७० सालमा तिलक पुर्जा पुन, २०७१ मा हर्क आलेमगर र २०७२ मा शान्ति गुरुङ पुरस्कृत भईसकेका छन । फोनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुरस्कारदाता कर्म तमुको जीवनीको बारेमा फोनिज कास्कीका सल्लाहकार सरस्वती तमुले, पुरस्कृत मानवहादुर घर्ती मगर एमबी आस्थाको जीवनी र प्रतिभा छनौटको आधारको बारेमा सल्लाहकार अधिवक्ता जुनाकुमारी गुरुङले बोलेकी थिईन भने स्वागत फोनिज कास्कीका उपाध्यक्ष रुद्रबहादुर श्रीसमगर र संचालन रोशनी गुरुङले गरेका थिए ।

कार्यक्रममा पुरस्कार संस्थापक तमु धिं नेपालकी अध्यक्ष कर्म तमु र कर्णबहादुर तमुको बैवाहिक जीवनको ३६ औं वर्षको अवसरमा उनिहरुलाई फोनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङले खादा, क्रमु, भाङ्ग्रा र बुकेद्धारा बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।