राजदूत लुईटेल बार्सिलोना आउँदै,


बार्सिलोना /  फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देबी लुईटेल बार्सिलोना आउँने भएकी छन्।  आगामी जुलाई २ र ३ तारिख  बार्सिलोना स्थित पर्यटकीय डाँडा टिबीदाबुमा हुने नेपाल प्रबद्वन सम्बन्धि बिशेष कार्यक्रममा प्रमुख अतिथिको रुपमा राजदूत लुईटेल सहभागी हुने भएकी हुन्।

बार्सिलोना स्थित नेपाली कन्सुलर,एनआरएनए लगायत स्पेन स्थित संघ संस्थाहरुको बिशेष पहलमा कार्यक्रम हुँदै छ। “भिजिट नेपाल,रिबुल्ड नेपाल ,वुई निड नाउ मोर देन ईभर” भन्दै हुने नेपाल महोत्सवमा बेलायतको नौमती बाजा घन्कने भएको छन्।  नेपालका लागि लामो समय देखि काम गर्दै आएका स्पेनका बिभिन्न संघ संस्थाहरुले मेलामा सहभागिता जनाउँदै छन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष तथा तयारी समितिका संयोजक मुक्त बहादुर गुरुङले कार्यक्रममा राजदूत लुईटेल लगायत गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त पनि सहभागी बन्ने बताएका छन्। नौमती बाजा सहित,बिभिन्न संघ संस्थाहरुको झाँकी,नेपाली कला र संस्कृति झल्कने साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको गुरुङले जानकारी दिए। स्थानीय कलाकारहरुले नेपाली गीत संगीत तथा नृत्यहरु प्रस्तुत गर्ने भएका छन्।

यस्तै नेपाल झल्कने गरी तयार गरिएका टिसर्टहरु बिक्रि बितरणको काम पनि तिब्र भईरहेको छ। एनआरएन स्पेन,बुद्द फेलिज,नेपाल,नेपाल तिएर्रा दे पाथ र सुरेश भण्डारीका पेन्टीङ्हरु कार्यक्रममा स्टल बनाएर राखिने भएका छन्। नेपाली हस्तकलाका सामग्रीहरु,नेपाली पहिचान झल्कने पोशाकहरु,खादा,नेपाली झण्डाहरुले स्टल सजिने भएका छन्। ईन्टरनेशनल दोना भिदा,लाङ्टाङ् डिजास्टर, नेपाल केयर,अमिक्स डेल नेपाल र भिडा उटेल जस्ता संस्थाहरुले पनि स्टल राख्ने भएका छन्। बर्षौ देखि यी संस्थाहरुले नेपालको हितमा काम गर्दै आएका हुन्।

गत बर्ष पनि,नेपाल प्रतिको ऎक्यबद्दता” ( सोलीडारीदाद पर नेपाल) भन्ने मूल उद्घोषकका साथ बार्सिलोनाको रमणीय एबं पर्यटकीय डाडा टिबीदाबुमा एक दिने महोत्सव सम्पन्न भएको थियो।