“मिडिया मार्फत समाज परिवर्तन” विषयक दुई दिने तालिम सुरु


पोखरा । सफलता मिडिया प्रा.लि (रेडियो सफलता १०३.४ मेगाहर्ज) को आयोजना तथा विपि कोईराला भारत नेपाल फाउण्डेशनको सहकार्यमा “मिडिया मार्फत समाज परिवर्तन” विषयक दुई दिने तालिम सोमबारदेखी सुरु भएको छ ।

तालिमको उद्धघाटन गर्दै न्युनतम पारिश्रमीक निर्धारण समितिका अध्यक्ष एंव नेपाल पत्रकार महासंघका सल्लाहकार पोषण केसीले नेपाली पत्रकारीताको भविष्य उज्जवल रहेको बताउँदै हतोत्साहित हुन नहुने बताए ।

पेशागत मर्यादालाई कायम राख्दै सामाजिक विकृतिको निराकरणमा सधै क्रियाशिल हुनु पर्नेमा जोड दिदै केसीले आचारसंहिताको विशेष ख्याल गर्न आग्रह गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरि नारायण गौतम तालीमले पेशा प्रतिको दायित्व अभिवृद्धिका साथै मर्यादित कार्य सम्पादनमा सहयोगी सावित हुने उल्लेख गरे ।

नेपाल पत्रकार महासंघकी केन्द्रिय शुष्मा पौडेलले समाज परिवर्तनमा संचारको भुमिका महत्वपूर्ण रहेको हुँदा जिम्मेबार पत्रकारीतामा जोड दिईन ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष तथा वरिष्ठ पत्रकार कृष्णप्रसाद बाँस्तोलाले जिम्मेवार पत्रकारीतालाई आजको आवश्यकता रहेको हुँदा पत्रकारहरुलाई जिम्मेवारभएर पेशामा लाग्नका लागि आग्रह गरेका थिए ।

राष्ट्रिय समाचार समितिका बोर्ड सदस्य गंगाधर पराजुलीले मिसन तथा खोजमुलक पत्रकारीता अहिलेको आवश्यकता रहेको बताउँदै पत्रकारहरुको कलम यस तर्फ केन्द्रित हुनु जरुरी रहेको बताए ।

बोडकास्टिड एशोसियसन अफ नेपाल (बान) का क्षेत्रीय संयोजक तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले हरेक क्षेत्रहरु अहिले अस्तव्यस्त बनेको बताउँदै यसलाई सही बाटोमा ल्याउन संचारले प्रभावकारी भुमिका निर्वाह गर्नु पर्ने बताए ।

कास्कीका विभिन्न संचारमाध्यममा कार्यरत २५ जना पत्रकारहरुको सहभागीता रहेको उक्त तालिमको सहजीकरण भारतीय पत्रकार निलन्जना वेनर्जीले गरेका छन् ।

सफलता मिडिया प्रा.लि ( रेडियो सफलता १०३.४ मेगाहर्ज ) का प्रबन्ध निर्देशक दुर्गा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन शिवराज बस्ताकोटी शिवदाई र संचालन रेडियो सफलताका कार्यक्रम प्रमुख मधु अधिकारीले गर्नुभएको थियो । तालिम भोली सम्म चल्ने छ ।