बेलायतका प्रधानमन्त्रीद्वारा पद त्याग्ने घोषणा


ब्रिटेनका मतदाताले यूरोपेली संघ छाड्ने पक्षमा बहुमत दिएलगत्तै इयुमै रहनुपर्ने पक्षधरका नेता प्रधानमन्त्री डेभिड क्यामरनले पद त्याग गर्ने घोषणा गरेका छन्।

जनमत संग्रहको अन्तिम नतीजा घोषणापश्चात लन्डनस्थित प्रधानमन्त्री कार्यालय डाउनींग स्ट्रिट अगाडि एक सम्बोधन गर्दै प्रधानमन्त्री क्यामरनले उक्त धारणा राखेका हुन्।

तत्कालका लागि भने उनले नै सरकारको नेतृत्व गरिरहने छन्।उनले जनमत संग्रहमा इयु मै रहने पक्षमा मतदान गर्न नत्र देशले गम्भीर आर्थिक तथा सुरक्षा समस्या बेहोर्नुपर्ने बताउँदै आएका थिए।

इङ्गल्याण्ड र वेल्सले इयु छाड्ने पक्षमा दह्रो समर्थन जनाए भने लन्डन, स्कटल्याण्ड तथा उत्तरी आयरल्याण्डले रहिरहनुपर्ने पक्षमा बहुमत दिएका थिए।

मत परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री क्यामरनले अब आफुहरु ब्रिटिश जनताले गरेका निर्णय कार्यान्वयन गर्न सहयोगी हुने जनाएका छन्।

छ वर्ष सत्तामा रहँदा डेभीड क्यामरनले जे प्रगति हासिल गरेको भएपनि उनलाई ब्रिटेनलाई युरोपेली संघबाट बाहिर लग्ने प्रधानमन्त्रीका रुपमा स्मरण गरिनेछ।-  बीबीसी