एनआरएनले काबुल घटनाका मृतक परिबारलाई एक – एक लाख रुपैयाँ सहयोग गर्ने


बसन्त रानाभाट,बार्सिलोना

गैर आबासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तानमा ज्यान गुमाएका १२ नेपालीहरुका परिबारलाई एक- एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ। संघको अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत परोपकार तथा मानबिय साहयता समितिबाट उक्त रकम सहयोग गर्न लागेको हो। काबुलमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएका १२ नेपालीहरुको शव आजै काठमाडौं विमानस्थलमा पुग्दा,सिंगै देश भावहि्वल बनेको बेला एनआरएनले सहयोगको घोषणा गरेको छ।

गैर आबासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष कुमार पन्तले वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका १२ नेपाली तालिबानको आक्रमणमा मारिएको घटनाले संघ अत्यन्तै दुखी भएको बताए। उनले भने,” कमाउँन गएका हाम्रा दाजुभाईहरुको शब बाकसमा फर्किएको छ ,यस्तो दुखद घडीमा मृतकका परिवारलाई थोरै भए पनि राहत होस् भन्दै सहयोग घोषणा गरेका हौ।”

घटनाले देशबासी नेपालीहरु मात्र नभई विदेशमा गैरआबासीयहरुको मन पनि रोएको भन्दै उपाध्यक्ष पन्तले काबुल बिष्फोटको निन्दा गर्दै ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामाना गरे।

यसैबिच संघका अध्यक्ष शेष घलेले घटना लगत्तै शोक बक्तब्य जारी गर्दै आतंककारी हमलामा बैदेशिक रोजगारीमा रहेका नेपालीले ज्यान गुमाउँदा संसारभरी रहेका गैरआवासीय नेपालीहरु स्तब्ध र मर्माहत भएको बताएका थिए।

अफगानिस्तानजस्ता उच्च सुरक्षा चुनौती रहेका स्थानमा नेपाली कामदार नपठाउन यसअघि संघले पटकपटक ध्यानाकर्षण गराउँदै आएको स्मरण गर्दै अध्यक्ष घलेले सुरक्षा जोखिम भएका मुलुकमा नेपाली कामदार पठाउने प्रकृया तत्काल बन्द गर्न र अफगानिस्तानमा कार्यरत नेपालीलाई सुरक्षित रुपमा घर फर्काउने वातावरण बनाउन नेपाल सरकारसमक्ष बिज्ञप्ति मार्फत माग गरेका छन् ।