अफगानिस्तानमा आत्मघाती बम बिस्फोट, बसमा सवार १४ नेपालीको मृत्यु


अफगानिस्तानको काबुलमा एउटा मिनीबसमाथि भएको आत्मघाती आक्रमणमा १४ जना नेपाली सुरक्षागार्डको ज्यान गएको त्यहांको आन्तरिक मामिला मन्त्रालयले पुष्टि गरेको छ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा घाइते नौ जनामध्ये पांच जना नेपाली रहेको उल्लेख छ।
अन्य घाइते चार जना अफगान नागरिक भएको जनाइएको छ। नेपाली सुरक्षा गार्डहरु बोकेको बस पूर्वी शहर जलालावाद जाने बाटोमा थियो। प्रहरीका अनुसार, आक्रमणकारी पैदल नै रहेको र बसले घरहाता छाडेपछि उ बाटोमा कुरेर बसिरहेको थियो।

तालिवानका एक जना प्रवक्ताले आक्रमणको जिम्मेवारी दाबी गरेका छन्।
पवित्र महिना रमजान सुरु भएयताको यो पहिलो आक्रमण हो। दुई दर्जनभन्दा बढी एम्बुलेन्स घटनास्थलमा रहेको एक जना प्रत्यक्षदर्शीले एएफपी समाचार संस्थालाई बताए।

गत महिनापनि काबुलनजिकै एउटा बसमा आत्माघाती आक्रमण भएको थियो।
गत जुन महिनामा घाज्नीस्थित एउटा अदालतमा पनि आक्रमण भएको थियो।
यी दुवै आक्रमणमा जिम्मेवारी दाबी गरेको तालिवानले छ जना बन्दीहरुलाई मृत्युदण्ड दिइएको प्रतिशोधका रुपमा ती घटनालाई व्याख्या गरेको थियो।

तालिवानले सरकारविरुद्ध सन् २००१ यता सशस्त्र युद्ध गर्दै आएको छ। उत्तर एट्लान्टिक सन्धि संगठन नेटोले आफ्नो सैन्य अभियान सन् २०१४ डिसेम्बरमा अन्त्य गरेको थियो तर आतंकवादविरुद्ध लड्ने र तालिम दिने करिब १३ हजार सैनिक अझै अफगानिस्तानमा छन्। विदेशी सैनिकले देश नछाडेसम्म वार्तामा नबस्ने तालिवानको अडानले गर्दा शान्ति प्रक्रिया अघि बढ्न सकेको छैन।-बीबीसी