फुटबलर विमल घर्ती मगरकी बहिनाको हत्या


काठमाडौं । नेपाली फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्ती मगरकी बहिनाको हत्या भएको छ ।विमलकी बहिनी १७ वर्षीया मनिषा नवलपरासीको बर्दघाट ८ भुताहस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् । गएराति उनी घरमा एक्लै थिइन् ।

उनकी आमा वुटबल गएकी थिइन् । विहान आउँदा ढोका खुल्लै रहेको र छोरी मृत अवस्थामा भेटिएपछि उनले गाउँले र प्रहरीलाई खबर गरेकी थिइन् ।

इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीका प्रहरी निरीक्षक श्यामकृष्ण केसीले घटना प्रकृति हेर्दा मनिषाको हत्या भएको हुने सक्ने बताए । यद्यपि पोर्टमाटम रिपार्ट आउन बाँकी छ । मृतकको शव परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको छ ।

प्रहरी निरीक्षक केसीका अनुसार मृतक मनिषाको घाँटीमा निल डाम छ । उनको खुट्टा टिटेबुलतिर र शरिर ओछ्यानतर्फ फर्किएको अवस्थामा शव भेटिएको थियो ।

प्रहरीलाई छिमेकीले जानकारी गराए अनुसार मनिषा घरमा एक्लै भएको अवस्थामा एकजना केटा घरमा आएको र उनीहरूबीच झगडा परेको थियो । झगडा गरेर केटा बाहिरिएपछि उनी मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीका अनुसार हिजाे बुटवल गएकी अामा बिहान ५:३० बजे तिर घर फर्कंदा मनिषालाई मृत अवस्थामा देखेपछि छिमेकीसँग हारगुहार गरेकी थिइन् । त्सपछि प्रहरी घटनास्थल पुगेकाे थियाे ।

प्रहरीले छिमेकीले दिएको विवरणकै आधारमा मनिषासँग झगडा गरेर बाहिरिएका आशिष चाैधरीसहित अर्को एकजनालाई पनि नियन्त्रणमा लिएको छ ।


विमल घर्तीकै साथीसँग प्रेममा थिइन् मनिषा !

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार हिरासतमा लिइएका आशिष विमलका साथी हुन् । र, अशिष र मनिषा प्रेमी प्रेमिका हुन् । अनुसन्धानमा खटिएका एक प्रहरीले  भने, ‘गाउँलेहरुले बताए अनुसार उनीहरु प्रेम सम्वन्धमा थिए । केटाको परिवारले स्वीकार गरेपछि केटीको परिवारले स्वीकार नगरेको भन्ने खुल्न आएको छ ।’

प्रेमीले नै मनिषाको हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेका चौधरीकी आमाले बुधबार राति आफ्ना छोरा आशिषलाई घरमा छाड्न अन्य तीनजना केटाहरुसमेत आएको बताएकी छन् ।

घटना बुधबार राति १० बजेपछि भएको अनुमान गरिएको छ । मनिषाकी आमा घर फर्किन्दा ढोका नलगाइएको र बिजुलीको मेन स्वीच अफ गरिएको थियो । घटना योजनावद्ध थियो वा क्षणिक आवेशको परिणाम थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

स्थानीयले बताए अनुसार आशिष र मनिषाको प्रेम सम्वन्धबारे दाजु विमललाई पनि जानकारी थियो । आशिष विमलकै समकालीन साथी थिए ।  मनिषाका बुबा नेपाल प्रहरीका हवलदार हुन् । उनको सडक दुर्घटनामा मृत्यु भएको थियो ।- Onlinekhabar