आज बुद्ध जयन्ती,संसारभर बुद्धको सम्झना गरी मनाईदै


काठमाडौं । वैशाख शुक्ल पूर्णिमाका दिन शनिबार देशभर २५६०औँ बुद्ध जयन्ती बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा निस्किएका थिए ।

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा विश्व प्रसिद्धि भए । ३६ वर्षको उमेरमा सारनाथमा बुद्धले पहिलोपटक पाँच जना शिष्यलाई प्रवचन गरेका थिए।

“सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गर्नुभयो, जसमा संसार दुखैदुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुन सक्छ र दुःखको अन्त्यको उपाय वा मार्ग पनि छन् भन्ने विषय रहेको थियो।

यसका साथै बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिएका छन् । आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्दछन् ।

यसैगरी, पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ ।

हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसै कारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।

आज संसारभर बुद्द प्रति आस्थाबानहरुले बुद्धको सम्झना गरेका छन्। कतिपय ठाउँहरुमा मूर्तिसहित शोभा यात्रा र शान्ति र्याली निकालिएको छ।