धुर्मस सुन्तलीलाई, खै युरोपबासी नेपालीको सहयोग ?


बसन्त रानाभाट,बार्सिलोना

युरोपमा रहेका बिभिन्न राजनीतिक,क्षेत्रीय,जातीय संघ,संस्थाहरुले बिभिन्न कार्यक्रम,बैठक,सम्मेलनको नाममा हजारौ युरो खर्च गर्न अघि सरेको देखिए पनि धुर्मस सुन्तलीको परोपकारी कामका लागि भने एकमुष्ट सहयोग पठाउँन सकेका छैनन्।

अहिले सम्म बेलायत,साईप्रस, नर्बे र स्पेनका गरी ४ जना नेपालीहरुले मात्र सहयोग गरेका भए पनि सिंगो युरोप नै भने मौन देखिएको छ। हजारौ नेपाली संघ सँस्था रहेको युरोपमा अन्य परोपकारी कामको नाममा करौडौ रुपैयाँ संकलन गर्ने भएको पाईए पनि, धुर्मुस सुन्तलीको अहिलेको अभियानमा भने सबै मौन जस्तै देखिएका छन्।

हाँस्यकलाकार सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) ले भूकम्प प्रभावित क्षेत्र सिन्धुपाल्चोकको मेलम्ची ८  गिराचौरमा बस्ती निर्माणको काम तिब्र पारिरहेका छन्। दशै सम्म पिडितलाई घर प्रदान गर्ने लक्ष्य सहित उनिहरु आँफै काममा जुटेका हुन्। फाउन्डेसनले मंगलबार प्रकाशित गरेको सहयोगदाताको नामावली अनुसार ३१ लाख ४६ हजार ७ सय ६० रुपैयाँ संकलन भएको छ।

करिब ४ करोड भन्दा बढी रकम खर्च लाग्ने अनुमान गरिएको परियोजनामा युरोपबाट सहयोग भने शुन्य जस्तै देखिएको छ। हालसम्म युरोपबाट स्पेनका रमेश प्रसाद निरौलाले १ लाख २ हजार १६ रुपैयाँ,बेलायत देखि राधिका मगरले ५० हजार रुपैयाँ,नर्बेबाट शर्मिला मोक्तानले २३ हजार ६ सय ३७ रुपैयाँ र साईप्रसबाट बिष्णु देबी गुरुङले २३ हजार ६ सय ४ रुपैयाँ सहयोग प्राप्त भएको फाउन्डेसनको नामावली सुचीमा देखिएको छ।

संघ सँस्थाको पहल खै ?

पार्टीको अधिबेशनलाई लाखौ रकम उठाउँने राजनीतिक संघ सँस्था,जातीय,क्षेत्रीय संघसस्था लगायत एनआरएन धुर्मुस सुन्तलीको अभियानका लागि हात दिन सकेका छैनन्। युरोपमा कलाकार आउँदा,संस्थाको अधिबेशन हुँदा,वा बैठक हुँदा पनि हजारौ रुपैयाँ खर्च गर्ने संघ संस्थाहरु दशै सम्म घर बनाउँछौ भन्ने कलाकारहरु अभियानका लागि पहल गर्दै सहयोग गर्न चुकेका छन्।

खाडीमा रहेका नेपालीहरुले आफ्नो मासिक तलब कटाएर पाँच हजार,दश हजार रुपैयाँ सहयोग पठाई रहेको बेला युरोपमा मासिक लाखौ रकम कमाउँने नेपालीहरुको धुर्मुस सुन्तलीका लागि मन पग्लेको देखिएन। चार करोड रुपैयाँ भन्दा बढी लागतमा निर्माण हुने अनुमान गरिएको एकीकृत बस्तीका लागि अझै आधा करोड जुट्न सकेको छैन।

युरोपबासी एक नेपालीले भने,” यहाँ पार्टीको कामका लागि लाखौ रुपैयाँ खर्च गरेर यता उता गर्छन्,तर कलाकारकाको राम्रो कामको लागि चासो देखाउँदैनन्, जुट्ने बेला यही हो कम्तीमा युरोपवाट करोड रकम संकलन होस् तब पो संस्था भएको काम लाग्छ,पिडितले दशै सम्म घर पाउँलान्।”

धेरै ठाउँमा नेपालीहरुले सहयोग गर्ने भए पनि राम्रो कामको साथका लागि भने मौन नै बस्ने गरेको उनले टिप्पणी गरे।

निरौलाले १ लाख सहयोग गर्दै भने,”अब  जुटौ “

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको एकीकृत बस्ती निर्माणका लागि स्पेनका रेष्टुरेन्ट ब्यबसायी रमेश प्रसाद निरौलाले १ लाख २ हजार १६ रुपैयाँ सहयोग पठाएका हुन्।  झापा घर भई हाल बार्सिलोनामा ब्यबसाय गर्दै आएका निरौलाले फाउन्डेसनलाई सहयोग गरेका हुन्।

निरौला भन्छन् “कतार,मलेसिया,साउदी लगायत खाडी मुलुकहरुबाट मासिक १०-२० हजार रुपैयाँ कमाउँने नेपालीहरु सहयोग पठाईरहेका बेला, मैले पनि कलाकारको अभियानलाई साथ दिएको हुँ,युरोपमा  सबै नेपाली एकजुट भएर लाग्ने हो भने यहाँ करौडौ जुट्न सक्छ।”

रमेश निरौलाको परिवार
रमेश निरौलाको परिवार

एनआरएनको अभियानमा पनि आँफूले सहयोग गरेको भन्दै अहिले सम्म काम सुरु हुन नसकेकोमा असन्तुष्टि पोख्दै निरौलाले भने,” कतै बस्ती भटाभट बनेका छन्,कतै बैङ्कमा करौडौ रकम थन्किएको छ, एनआरएनले पनि छिटो बस्ती बनाओस् कामाना गर्छु।”

सहयोग गर्न ईच्छुकले फाउन्डेसनको सम्पर्क नम्बर ००९७७ ९८०३४७२४७६ मा फोन गरेर सहयोग गर्न कलाकारहरुले अपिल गरेका छन्।