बेलायतमा टेष्ट अफ नेपालको बिमोचन


लन्डन । उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले बेलायती प्रधानमन्त्री डेभिट क्यामरुन छिट्टै नेपाल भ्रमणमा जाने सक्ने सम्भावना रहेको बताएका छन् । बुधबार राति लण्डनस्थित नेपाली राजदूतावासमा आयोजित एक कार्यक्रममा मन्त्री थापाले उक्त कुरा बताएका हुन् ।

नेपाल–बेलायत सम्बन्धको दुई सय वर्ष पुगेको अवसरमा प्रधानमन्त्री क्यामरुनले नेपाल भ्रमण गरे ऐतिहासिक महत्वको हुने बेलायती अधिकारीहरुलाई आफूले सुझाएको मन्त्री थापाले जानकारी दिए ।

न्यूयोर्कमा विश्व वातावरणसम्बन्धी कार्यक्रममा सहभागी भएर फर्किने क्रममा लन्डन आइपुगेका मन्त्री थापाले बुधबारै बेलायती मन्त्रीहरु हुगो स्वारे र डेभिटलाई भेटेका थिए । भेटमा मन्त्री थापाले विश्वको कुनै पनि संविधान पूर्ण नहुने र नेपालको संविधानमा पनि सुधारका प्रशस्त ठाउँ रहेको बताएका थिए । उनले बेलायत नेपालले सम्बन्ध स्थापना गरेको मुलुक भएकाले ब्रिटिस प्रधानमन्त्री क्यमरुन नेपाल भ्रमणमा आए नेपालीको मनोबल उच्च हुने बताए ।

मन्त्री थापाले नेपाली दूतावासको सहयोगमा नेपाप्लिज क्याटरिङ एसोसिएन यूकेले प्रकाशन गरेको टेष्ट अफ नेपाल यूकेको विमोचन गरेका थिए । उनले नेपाली खानामार्फत् नेपाललाई बेलायतमा चिनाउन नेपाली रेस्टुरेन्टहरुले निर्वाह गरेको भूमिकाको प्रशंसा पनि गरेका थिए ।

उक्त अवसरमा पुस्तक प्रशासनमा सहयोग गर्ने, विज्ञापनदाता तथा सम्पादक मण्डलका सदस्यहरुलाई टोकन अफ लभ प्रदान गरिएको थियो । कार्यक्रममा बेलायतको विपक्षी लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले नेपाल र नेपालीप्रति ब्रिटिस जनताको अगाध पे्रम रहेको बताए । उनले बेलायतसहित नेपाली समुदायसँग मिलेर काम गर्न आफू तयार रहेको कुरामा जोड दिए ।

कार्यक्रममा प्राध्यापक डा. सूर्य सुवेदी, व्यवसायी, किशोर सापकोटा, कार्यवाहक राजदूत क्षेत्री र विजय थापाले पनि बोलेका थिए । यस अघि उपप्रधानमन्त्री थापाले डिएफआइडी राज्यमन्त्री डेसमण्ड स्वायन र बेलायती विदेश राज्यमन्त्री हुगो स्वायरसंग द्धिपक्षीय हित, नेपालको विकासमा बेलायती सहयोग, भूपू गोर्खाहरुका बांकी मुद्दा, कर्णेल कुमार लामाका बिषयमा छलफल गरेका थिए । मन्त्री थापा बिहीवार नै नेपाल फर्किएका छन् । फोटो – एभ्रेष्ट गौतम