एनआरएनएलाई घर बनाउँन स्वीकृति, गोरखा लाप्राकमा ‘नमुना वस्ती’ बनाउने


काठमाडौं । लामो समय देखि नेपाल सरकारको स्विकृत नपाएर आँफुले घोषणा गरेको एक हजार घर निर्माण गर्ने गैर आबासीय नेपाली संघको योजनाका लागि अन्तत बाटो खुलेको छ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहजीकरण समितिको हालै बसेको वैठकले नमुना वस्ती बनाउने गैरआवासीय नेपाली संघको प्रस्तावलाई स्वीकृति प्रदान गर्ने निर्णय गरे पछि यसको बाटो खुलेको हो।

लाप्राकलाई नमुना स्मार्ट भिलेज बनाउनेबारे गैरआवासीय नेपाली संघ र नेपाल सरकारवीच राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थीतिमा आइतबार लाप्राक गाउँमा सम्झौता हुने भएको संघकि प्रबक्ता रन्जु थापाले जानकारी दिईन्। थापाका अनुसार लाप्रक गाउँ बिकास समिति गुम्सिपाखामा दिउँसो १ बजे सम्झौता हुने कार्यक्रम रहेको छ।

आइतबार हुने पुनःनिर्माण प्राधिकरण, शहरी विकाश मन्त्रालय र गैरआवासीय नेपाली संघवीच त्रिपक्षीय सम्झौताका लागि गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले काठमाण्डौ पुगेका छन् ।

गैरआवासीय नेपाली संघले गोरखाको दुर्गम भूकम्पग्रस्त गाउँ लाप्राकलाई नमुना वस्ती बनाउने भएको छ ।लाप्राकलाई नमुना वस्ती बनाउनेसम्बन्धी प्रस्ताव पेश गरेको गैरआवासीय नेपाली संघले लामो समयदेखि स्वीकृतिका लागि पहल गरिरहेको थियो ।

पुरानो लाप्राकवस्तीभन्दा केही माथि रहेको डाँडाँमा अहिले लाप्राकबासी पाल टाँगेर बसिरहेका छन् । सोही स्थानमा स्मार्ट भिलेज बनाउने गैरआवासीय नेपाली संघको तयारी छ ।गैरआवासीय नेपाली संघले भूकम्पलगत्तै एक हजार घर बनाउने घोषणा गर्दै ३५ करोड रुपैयाँ संकलन गरेको थियो । पुनःनिर्माणका लागि स्वीकृति दिन लामो समयदेखि संघले सरकारसँग पहल गरिरहेको थियो । प्राधिकरणको स्वीकृित र सम्झाैतासँगै अब एनअारएनले पुनःनिर्माण प्रकृयालार्इ अगाडी बढाउन बाटो खुलेको छ ।