निर्मलपोखरीमा दुर्गा मन्दिर उद्घाटन


पोखरा । पोखरा उपमहानगरपालिका–२३ निर्मलपोखरी काहँुलेकोटमा नवनिर्मित दुर्गा मन्दिरको उद्घाटन गरिएको छ । मन्दिर निर्माणमा सबैभन्दा बढी चन्दा सहयोग गर्ने पोखरा ६ लेकसाइड निवासी रामचन्द्र कार्की र माया कार्कीले चैते दशैंको अवसर पारी मन्दिरको उद्घाटन गरेका हुन् ।

यो मन्दिर निर्माण सँगै काहुलेकोट पुग्ने धार्मिक पर्यटकको संख्यामा वृद्धि हुनेमा दुर्गा भगवती निर्माण तथा व्यवस्थापन समितिको विश्वास छ ।

दुर्गा भगवती निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका पूर्व गाविस उपाध्यक्ष मुक्ति पौडेल, टोल विकास संस्थाका अध्यक्ष यज्ञप्रसाद अधिकारी, समितिका सचिव डिल्लिराज पौडेल, कोषाध्यक्ष कर्णबहादुर लामिछाने लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

धार्मिक र पर्यटकीय स्थल काहँुलेकोटबाट अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमश्रृङ्खला, पोखरा उपत्यका, कास्कीका अधिकांश तालको रमणीय दृश्यावलोकन गर्न सकिने सचिव डिल्लिराज पौडेलले बताए ।

नगद ३ लाख ५० हजार र रुपैयाँ र जन श्रमदान २ लाख ५० हजार गरी कुल ६ लाख रुपैयाँको लागतमा यो मन्दिरको निर्माण सम्पन्न भएको हो । कार्यक्रममा डल्ली पौडेल, बेदबहादुर लामिछाने लगायतका चन्दादाता र जग्गादातालाइ सम्मान गरिएको थियो ।