एल क्लासिको:-“यसपटक उपाधि भन्दा,जिदानको भविष्यसँग”


वसन्त रानाभाट /स्पेन
एल क्लासिको रुपमा परिचित रियल म्याड्रिड र बार्सिलोना बिच शनिबार हुने खेलका लागि करौडौ फुटबल प्रेमीहरु प्रतिक्षा गरिरहेका छन्। विश्वकै ध्यान खिच्ने यी दुई महारथीको भिडन्तले संसारकै ध्यान फेरि स्पेन तिर नै तानेको छ। शनिबार बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउँमा, स्पेनको समय अनुसार राती ८.३० बजे खेल सुरु हुँदैछ।

लिगाको ३० खेल पछि बार्सिलोना ७६ अङ्कका साथ शिर्ष स्थानमा छ। १० अङ्कले पछि पर्दै तालिकाको तेस्रो स्थानमा रहेको रियल अङ्क दुरी घटाउँने दाउमा छ भने अब ८ खेल मात्र बाँकी छदा घरेलु मैदानमा खेल जितेर म्याड्रिड माथिको दबाबलाई एकछत्र पार्ने रणनीतिमा बार्सिलोना देखिएको छ।

जिदानको भविष्य

प्राय: क्लासिको खेलहरुबाट नै स्पेनिस लिगाको उपाधिको धार छुट्टिदै आउँने गरेको ईतिहास भए पनि यस पटक त्यस्तो प्रतिस्पर्धा देखिदैन। १० अंकले अगाडि रहेको बार्सिलोना ३९ खेल सम्मको आफ्नो अपराजित यात्रालाई कायम राख्ने रणनीतिमा छ। यता बार्सिलोनालाई हराउँन सके रियलका लागि प्रतिष्ठाको बिषय बन्ने हुँदा यसैको दाउमा देखिन्छ।

तर यो खेल रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई व्यक्तिगत रुपमा सबै भन्दा महत्वपूर्ण छ। हार वा जितले नै उनको प्रशिक्षकको करियर रियलसँग जोडिएको हुँदा ज्यादै महत्वपूर्ण बनेको हो।

_89003562_zidaneघरेलु मैदानमा ४-० शुन्यको गोल अन्तरले हारे पछि,राफेल बेनेटिजलाई प्रशिक्षकबाट बिचैमा बर्खास्त गरेका कारण पनि जिदान पनि दबाबमा छन्। रियलका प्रशिक्षकको भविष्य,क्लासिको खेल सँग पनि जोडिने हुँदा, नजिताले जिदानको भविष्य निर्धारण गर्ने धेरैको अनुमान रहेको छ।

यस अघि क्लासिको हार व्यहोरे पछि नै बेनेटिजलाई पनि खतराको घण्टी बजेको थियो। यसको अलवा प्राबिधिक कमजोरीबाट कोपा डे रे बाट पनि रियल बाहिरिनु पर्यो ,अन्तत: जिनेदिन जिदानले सिजनको बिचैमा बेनेटिजलाई बिस्थापित गरेका थिए।

तर घरेलु मैदानमा एथ्लेटिक म्याड्रिडसँग हार पछि जिदानको पनि घण्टी बजिसकेको धेरैले बिश्लेषण गरेका छन्। आँफुलाई बचाउँने सुनौलौ मौका शनिबार हुने क्लासिको खेलबाट पाउँने छन्। तर लयमा रहेको बार्सिलोनालाई रोक्न उनलाई कडा चुनौती रहेको छ।

उता बार्सिलोनालाई आफ्नो अपराजित यात्रालाई बलियो प्रतिस्पर्धीसँग जोगाउँन सके त्यसलाई उपलब्धिको रुपमा ठान्ने विश्लेषकहरु बताउँछन्। बार्सिलोनालाई उपाधि रक्षाको लागि मात्र हार जितको नतिजाले, खासै असर पार्ने देखिदैन। यदी खेलमा हार व्यहोरे पनि रियल माथि ७ अंकको अग्रता कायमै रहने छ।

कस्तो छ एल क्लासिको रेकर्ड ?

शनिबार हुने क्लासिको दुवै टोली बीचको २३१ औं भिडन्त हो । मैत्रीपूर्ण तथा अन्य खेल गरि २६३ पटक एक अर्का बीच भिडे पनि अफिसियल रुपमा भने २ सय ३१ पटक भिड्दै छन्। ला-लिगाको लागि भने शनिबार १ सय ७२ औ पटक आमान्नेसामान्ने हुँदै छन्।

समग्रमा अफिसियल खेलमा म्याड्रिडले ९२ र बार्सिलोनाले ९० खेलमा जित हासिल गरेका छन् । ४८ खेल भने बराबरीमा नै सकिएको छ। तर मैत्रीपूर्ण खेललाई पनि गणना गर्दा २६३ खेलमा बार्सिलोनाले १०९ खेलमा र म्याड्रिडले ९६ खेलमा जित दर्ता गरेको छ। ५८ खेल बराबरीमा सकिएको छ।यस्तै लिगामा मात्र, १७१ खेलमा म्याड्रिड ७१ खेलमा बिजयी छ भने बार्सिलोनाले ६८ खेलमा जित दर्ता गराएको छ। ३२ खेल बराबरीमा सकिएको छ।

अन्तिम क्लासिको सन् २०१५ नोभेम्बर २१ तारिख भएको थियो, रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ४ -० को बिशाल गोल अन्तरले बिजयी बनेको थियो।अहिलेसम्म क्लासिकोमा मेस्सिले सर्बाधिक २१ गोल गरेका छन्। यता रोनाल्डोले १५ गोल गर्न सफल भएका छन्।

रोनाल्डो र मेस्सीको चर्चा

लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको व्यक्तिगत प्रतिस्पर्धालाई यस पटक पनि हेरिएको छ। यस अघिको एल क्लासिकोमा दुवै जनाको खासै चर्चा थिएन। कारण, रोनाल्डोले सिजनको शुरुवातमा खासै लयमा थिएनन् भने मेस्सी घाईते भएर टिममा भर्खर फर्केका थिए। तर अहिले दुवै लयमा फर्किएकाले पुन चर्चा बढेको हो।

रोनाल्डोले क्लबका लागि यस सिजनमा लिगा र च्याम्पियन्समा गरी ३८ खेलमा ४१ गोल गरेका छन्। उनले लिगामा २८ र च्याम्पियन्समा १३ गोल गर्दै दुवै तर्फ टप स्कोरर छन्। यता फिफा बालोन डि’ओर -२०१५ का बिजेता लियोनल मेस्सीले पनि ३८ नै खेल खेल्दै बार्सिलोनाका लागि ३७ गोल गरेका छन्।

अघिल्लो एल क्लासिको बाट नै कमब्याक हुँदै मेस्सी पुन लयमा फर्किएका थिए। लस पाल्मासँगको खेलमा घाईते बनेका मेस्सी,यस सिजनमा करिब २ महिना मैदान बाहिर रहे। यता ब्राजेलीयन स्टार नेयमार र उरुग्वेका स्ट्राइकर लुईस सवारेज बार्सिलोनाका पछिल्ला खेलहरुमा अत्यन्तै राम्रो प्रदशन गरेकोले पनि बार्सिलोनाका समर्थकहरु धेरै ढुक्क देखिएका छन्। म्याड्रिडका घाईते बनेका खेलाडीहरु ग्यारेथ बेल र करिम बेन्जिमा पनि खेलमा फर्किएका हुँदा रियलका समर्थकहरुले पनि त्यसै आशा मारेका छैनन्।

पेरिस/ ब्रसेल्स आक्रमण पछिका क्लासिकोहरु

यस बर्ष युरोपमा आतङ्ककारी त्रासले सताएको छ। फुटबल प्रेमीहरुलाई निर्धक्क फुटबल हेर्ने अबस्था रहेन। नोभेम्बरमा भएको पेरिस हमलाको एक साता पछि यस सिजनको पहिलो क्लासिको सम्पन्न भयो। रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाओमा एल क्लासिको खेल भईरहँदा १ हजार भन्दा बढी प्रहरीहरु परिचालन गरिएको थियो।

सिजनको दोस्रो क्लासिको ब्रसेल्स आक्रमण पछि हुँदै छ। क्लासिको खेल हेर्न संसार भरका फुटबल प्रेमी हजारौ युरो खर्च गरेर बार्सिलोना आउँने हुँदा यहाँको सुरक्षा ब्यबस्था कडा पारिएको छ।

गत नोभेम्बरमा जर्मनी र फ्रान्सबीच मैत्रीपूर्ण फुटबल खेल हुँदा राष्ट्रिय रंगशाला बाहिर पेरिसमा बिस्फोट भएको थियो। उक्त खेल हेर्न फ्रान्सका राष्ट्रपति अाेलन्ड सहित ८० हजार दर्शकको उपस्थित थिए । खेलकोबीचमै बाहिर बिस्फोट भएको अावाज सुनिएको थियो। रंगशाला बाहिर निस्कन नपाएपछि दर्शकहरु मैदानमा प्रवेश गरेका थिए।
त्यसैले पनि फुटबल हुँदा सुरक्षा ब्यबस्था झन् कडा पारिदै लगिएको छ।